Posted by: Nepe March 14, 2009
Good News from Nepal
Login in to Rate this Post:     0       ?        

वरिष्ट नेताका गृहिणीका आक्षरिक उन्मुक्ति


नेताका श्रीमती क ख पढ्दै

कल्पना घिमिरे


http://www.kantipuronline.com/kolnepalinews.php?&nid=184453


काठमाडौं, फागुन ३० - 'सुषमा ?' मिसले बोलाउनासाथ ५२ वर्षीया महिला जुरुक्क उठ्छिन् र सोधेका प्रश्नका खरर्र जवाफ दिन्छिन् । अनुशासित मात्र होइन, पढाइमा पनि तगडा भएकाले स्कुलले उनलाई एक वर्षमै कक्षा फड्काइदिएको छ । अब उनी कक्षा १ '' मा पुगेकी छन् ।

माओवादी वरिष्ठ नेता मोहन वैद्य (किरण) की श्रीमती सुषमा स्कुल जान थालेको एक वर्ष भयो । कक्षा १ '' मा पोहोर भर्ना भएकी उनी '' नपढी '' मा पुगेकी छन् । अन्य विद्यार्थीको तुलनामा पढाइ धेरै राम्रो भएकाले माथि पुर्‍याइएको प्रिन्सिपल कृष्णा श्रेष्ठले बताइन् ।

अर्घाखाँची अँधेरी गाउँमा छोरी पढाउने चलन थिएन । अक्षर चिन्नै नपाएकी उनको २०३१ सालमा नेता वैद्यसँग भेट भयो । नेपालीमा एमए पढेको र राजनीतिमा अगाडि बढेको छ भन्ने भिनाजुले बताएपछि उनी दुई दिन टाढा बिहे गर्न तयार भइन् । 'उहाँ (किरण) जेलमा हुनुहुन्थ्यो,' बिहेको क्षण उनी सम्झन्छिन्, 'तर पनि पढेको मान्छे भनेर मैले बिहे गरें ।'

सुषमालाई पढ्ने रहर धेरै थियो । तर अनेक परिस्थितिले धोका दिए । माओवादी राजनीतिको मूलधारमा आएपछि बल्ल उनलाई मौका पर्‍यो । स्कुल खोजीका क्रममा उनी बालाजुको चेतना महिला विद्यालय पुगिन् र तल्लो कक्षा (१ ग) मा भर्ना भइन् । 'घरमा सधैं भीडभाड भइरहन्थ्यो, पत्रपत्रिका पनि दिनहुँ आउँथे, हेर्न जान्दैनथें, के भइरहेछ थाहा नभएर लाटोजस्तो हुनुपथ्र्यो,' उनले विगत सम्झँदै
भनिन्
, 'अहिले त पत्रपत्रिका हेर्न सक्ने भएकी छु । केही नबुझे श्रीमान्लाई
सोध्छु ।
'

हरेक बिहान खाना आरामले खान नपाई उनलाई चाबहिलबाट बालाजु पढ्न जान हतार हुन्छ । 'पढ्न रमाइलो लाग्छ,' सुषमाले भनिन्, 'मलाई त बिदा नै नभइदिए हुन्थ्यो,' उनले भनिन् ।

स्कुल जान थालेपछि धेरै कुरामा सजिलो परेको अनुभव छ उनीसँग । पहिले गाडीको बाटो र ठाउँहरूमा झुकिन्थें, अहिले साइनबोर्डहरूमा लेखेको पढेर पनि बाटो चिन्न सजिलो भएको छ,' उनले भनिन् ।

श्रीमान्ले घरमै सिक्नु भन्दाभन्दै जिद्दी गरेर पढ्न आएको बताउने उनलाई परिवारबाट यसमा हौसला र सहयोग मिलेको छ । 'भनेको मानिन भनेर व्यंग्य गर्दै यिनले त घरैबाट विद्रोह गर्न लागिछन् भन्दै हुनुहुन्थ्यो,' उनले सुनाइन्, 'अहिले त खुसी हुनुभएको छ ।' उनी नियमित होमवर्क गर्छिन् र समयमा स्कुल पुग्छिन् ।

सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराकी श्रीमती सीता पनि उनीसँगै भर्ना भएकी विद्यार्थी हुन् । समय दिन नसकेकाले उनी भने १ '' मै छिन् । अस्वस्थ
भएर केही दिनदेखि सीता बिदामा बसेको जानकारी दिँदै प्रिन्सिपल श्रेष्ठले उनको पढाइ मध्यम तरिकाले अगाडि बढिरहेको बताइन् ।

उनीहरू मात्र होइन, लमजुङका कांग्रेस नेता तथा पूर्वमन्त्री रामबहादुर गुरुङकी
श्रीमती आइतमाया पनि त्यही स्कुलमा कक्षा १ मा पढछन् । महिलालाई पढाउन बालबालिकालाई भन्दा गाह्रो भए पनि रमाइलो हुने प्रिन्सिपलको अनुभव छ ।
'समय छैन भन्छन्, होमवर्क गर्दैनन् तर पनि स्कुल आइदिँदा खुसी लाग्छ,' उनले भनिन् । ७ सम्मको स्कुलमा १४ देखि ६० वर्षका ३ सय महिला पढ्छन् ।

____________________________________________________________

Last edited: 14-Mar-09 03:00 PM
Read Full Discussion Thread for this article