Posted by: crazy_love February 20, 2009
अभियान।
Login in to Rate this Post:     1       ?         Liked by

 

भाग -१

 

धेरै दिन देखि यो घटना सम्झिरहेथें, आज लेख्दैछु।


त्यो दिन भाइ र म स्कुलबाट आयेर खाजा खान मात्र लाग्याथ्यौं, मुनु हस्याङ फस्याङ गर्दै घरमा आइपुगी। हामी खाजा छोडेर उस्को कुरा सुन्न थाल्यौं। एकदम इमर्जेन्सी कुरा छ, तिमीहरु दुबै सङै हिड्नुपर्यो भनेर भाइ र मलाइ यता बाटोमा ल्याएर उ आउनुको उदेश्य बताइ। उस्की दिदी भागिछ, अब दिदीलाइ फर्काएर ल्याउने रे। किन भन्दा त्यस्तो सुकुल गुन्डो जस्तो उस्को भिनाजु हुन सक्दैन रे। हेर्दा मात्र झिल्के छ रे, काम साम केहि छैन रे। मुनुको घरमा दाजुभाइ थिएनन्, त्यसैले त्यो अलि केटा जस्तै ब्यबहार देखाउथी। मेरो भाइ पनि डराउथ्यो मुनुसङ। कहिलेकाहिं हप्काउथी मजाले तर माया पनि गर्थी। पेटमा मुसा दौडीराको बेला मुनुको दिदीको घर खोज्न जानु पर्ने भयो। भाइले खुसुक्क कानैमा मुनु अघि अघि हिंडेको बेला भन्यो। "उस्को पो दिदी भागी, मेरो दिदी भाग्या हो र? बेकारमा खुट्टालाइ दुख।"


मुनु पछाडी फर्केर सोधी। "के रे?"


मैले कुरालाइ अन्तैतिर मोडें। बाटोमा टिन्कुलाइ पनि भेट्यौं, उ पनि आइ"दिदी फिर्ता अभियानमा।" टिन्कु र मुनु अघि हिंडे, भाइ र म पछि पछि। कहाँ जाने भनेर सोद्धा, सुन्धारातिर भने मुनुले। हामी कुपोन्डोलदेखि पाटनढोका पुग्दा लखतरान भइसकेका थ्यौं। भाइ कालो अनुहार लायेर मलाइ छड्के छड्के आँखा तर्दै थ्यो। मैले पनि त्यस्लाइ आँखा तर्दैथें।


"सक्छस् भने त्यो मुनुलाइ आँखा तर्न, मलाइ के रिस् देखाइरा?"


"तँ भाग्नै पर्यो भने मलाइ भन है?" भाइले भन्यो।


"किन?" मैले सोधें।


"म आफै तंलाइ तेरो बुढाको घरसम्म पुर्याउन आँउछु अनि घर पनि खोज्न गार्हो हुँदैन नि।" मलाइ हाँस उठ्यो त्यसको कुरा सुनेर।


पाटनको गल्ली गल्ली भित्र पस्यौं, मुनुको दिदीको घर भेट्नै सकेनौं। चोक चोकमा पुगेर मुनु चारैतिर घरहरु हेर्छे, अनि फर्किन्छे। हामीहरु भोकै मुनुको दिदीलाइ खोज्न हिंडेका। अत्ति भयेपछि भाइले मुनुलाइ सोध्यो। "मुनु! भिनाजुको घर कहाँ हो?"


मुनु जङ्गी,"कस्को भिनाजु?"


"मेरो दिदी त यहीँ छ।" भाइले मलाइ देखाँउदै बिस्तारै भन्यो।


"त्यो लोफरलाइ भिनाजु नभन् है बाबु!" मुनुले भाइलाइ सम्झाइ। "सुन्धारातिर रे भन्ने सुन्याथें त्यस्को घर।" मुनुले फेरि भनी।


"दिदीको लोग्नेलाइ के भनिन्छ?" भाइले फेरि मलाइ बाटोमा सानो स्वरमा सोध्यो। मैले "नकरा" मुनु रिसाकी छ भनेँ। मुनु र टिन्कु आर्मीको सिपाहि जस्तो हिंड्दैथे, भाइ र म बिस्तारै हिंड्दैथ्यौं। बाटोमा मिठाइ पसल आयो कि भाइ एकोहोरो टोलाएर हेर्थ्यो। पैसा पनि बोकेको थियेनौं हामीले, त्यो तातो तातो जेरीको बास्नाले असह्य हुन्थ्यो। मङलबजारबाट तल जाँदा त अलि अलि साँझ पर्न लागिसकेकोथ्यो। मुनुको दिदी आजै भेटाएर ल्याउनु छ।


बल्ल बल्ल मुनु एउटा गल्ली सकाएर ठुलो चोकभित्र छिरी, हामी पनि उसको पछि पछि लाग्यौं। चारैतिर नियाले पछि एउटा झ्यालमा देखाएर भनी "यही हुनु पर्छ त्यसको घर।"


"कसरि थाहा पाइस तैंले?" टिन्कुले सोधी।


"त्यो लोफरको कमीज सुकाको छ। त्यै कमीज लाएर हाम्रो घरको अगाडी बसेर मेरो दिदीलाइ हेरि रहन्थ्यो।"


"पक्का हो त?" मलाइ पनि शंका थियो।


"पक्का हुनु पर्छ। त्यो नखरमाउली त्यही होली।" मुनुले भनी।


"तर कसरी बोलाउने त तेरो दिदीलाइ?" टिन्कुले सोधी।


"नाम के त्यो केटाको?" भाइले डराँउदै मुनुलाइ सोध्यो।


"थाहा भये त भइहाल्थ्यो नि।" मुनु झर्की।


"भिनाजुको नाम थाहा छैन, घर थाहा छैन, यो हामी किन बेकारमा पदयात्रा गर्दैंछु दिदी?"
भाइले मलाइ सोध्यो। मलाइ नि दिक्क लागिसकेको थ्यो। हावाको भरमा हामी मुनुको दिदी फिर्ता ल्याउने अभियानमा हिंडेकाथ्यौं, भोक भोकै, थकाइले चुर भएर।


"बाबु!" मैले भाइलाइ एउटा जुक्ति सिकाए। भाइले नजिकैको चुप लागेर बसिरहेको भुस्याहा कुकुरलाइ पछाडिबाट जोडले एक लात्ती दियो। त्यो कुकुर "कुइं कुइं" गर्न थाल्यो र ठुलो स्वरले हामीलाइ भुक्न थाल्यो।  एकैछिनमा त्यो चोकभरिको ७-८ कुकुरहर्  "भौँ भौँ" गर्दै हाम्रो पछाडी आँउदैथे, भाइ प्रथम, म दोस्रो, टिन्कु तेस्रो र मुनु चौथो धावकको रुपमा रफ्तार दौडिदैंथ्यौं। त्यो २-३ अध्याँरा गल्ली कुकुरहरुले लखेटेपछि  एक अध्याँरो कुनामा हामी लुक्यौं र कुकुरहरु अगाडी भुक्दै गये। हामीले कुकुरहरुलाइ छकायौं। त्यसपछि "स्याँ, स्याँ" गर्दै मुनुले एकचोटि उसको घरमा फोन गर्ने बिचार गरी। बल्ल बुद्धि आयेछ मुनुको भन्दै हामी फोन गर्ने पसल खोज्न थाल्यौं। गल्ली बाहिर आएर एउटा पसलबाट फोन गरी।


फोन गरिसकेपछि निराश हुँदै भनी। "सरी यार!"


"किन सरी?" टिन्कुले सोधी।


"त्यसको घर त काठ्मान्डुको सुन्धारा पो रहेछ।" मुनु को बोल्ने शक्ति पनि क्षीण भइसकेको थ्यो।


"कसको?" मलाइ झन आश्चर्य लाग्यो।


"भिनाजुको क्या!" मेरो भाइले तुरुन्त जवाफ दियो, मुनुले एक्छिन सम्म भाइलाइ घुरेर हेरी।


त्यो दिन मुनुको "दिदी फर्काउ अभियान" सफल भएन।


क्रमश:


( थोरै समयमा हतार हतार लेखेको हुनाले भुलचुक भएमा माफ पाँउ। )


 


 


 


 


 



 

Last edited: 23-Feb-09 10:35 PM
Read Full Discussion Thread for this article