Posted by: तिका: January 5, 2009
Himal Media Journalists attacked
Login in to Rate this Post:     0       ?        

पत्रकारले थोत्रो बाहुनवादचाहिँ टक्टक्याउने कि! – सरोजदिलु विश्वकर्मा


पत्रकार महोदयहरू! तपाईंहरू पनि लेख्ने, म पनि जानीनजानी झीनो–मसिनो लेख्ने, तपार्इं र मेरा समस्या उस्तै हुन्। तपाईंमाथि भएको आक्रमणले मलाई पनि दुख्छ। यसर्थमा माओवादीसम्बद्ध भनिएका मजदुरहरूले समय–समयमा आमसञ्चार जगत्मा आक्रमण गरेर प्रेस स्वतन्त्रतामाथि धावा बोल्नुभन्दा अगाडि आफ्ना मागहरू सम्बोधन गराउने प्रक्रियामा विधिअनुसार चल्नुपर्ने थियो, तर सरकारकै नेतृत्व गरेको दलका कार्यकर्ताहरूले आफैं विधिको ठाडो उल्लंघन गरिरहेकै हो। यसमा सहमत। माओवादी कार्यकर्तामा जितको दम्भ र व्यवहारमा विचलन आएकै हो। पार्टी अध्यक्ष प्रचण्डले भनेजस्तै कुनैबेलाका पारसको सहयोगी ग्याङ मानिने देशभक्त संघ र मिलन केन्द्रका कार्यकर्ताहरू छिरेर त्यो दलभित्रका इमानदर कार्यकर्ताहरूलाई नै बद्नाम र भयभीत पार्दै आएका छन्। अब तिनीहरूद्वारा माओवादी पत्रकार वा समर्थकहरूकै ज्यान जानु मामुली कुरा भइसक्यो। परिणामतः आज मिडिया हाउसहरू आक्रान्त र असुरक्षित भएका छन्, यसका लागि ऐक्यबद्ध आन्दोलन हुनैपर्दछ। यसमा पनि म सहमत।
तर अर्काको जीउको जुम्रो कोट्याउँदा आफ्नो जीउको भैंसी नदेख्ने हाम्रो पत्रकारिता धर्मसमेतलाई प्रथमतः विश्लेषण गर्ने पो हो कि? जताततै समावेशीकरण र विचारको सममूल्यांकनको बहस चलिरहँदा यो पत्रकार जगत्ले पुरानै जनै–पटासी गुथिरहेका पो छन् कि? अथवा नयाँ नेपाल निर्माण गर्ने यस महानतम घडीमा हाम्रो क्षेत्रमा सर्वसाधारण जजमानहरूका गिदी भुटेर होमादि गर्ने र अन्ततोगत्वा गुलियो टपरा चाट्ने पण्डित–राज पो भएको छ कि?? त्यतातर्फ समेत विचार गरी यो पत्रकारिताले आफूले हिँडेको धरातलको गहिराइ विश्लेषण गर्नुपर्ने हुन्छ।
पत्रकारिता पक्कै राष्ट्रको चौथो अंग हो भने पत्रकारिता नै राजनीतिक र प्रशासनिक क्षेत्रपछिको तेस्रो, बाहुनवादी अंग पनि साबित भएको कुरालाई मनन गर्नैपर्दछ, जहाँ वास्तविक र सिर्जनात्मक काम–कुरा हुनेभन्दा बाहुनधर्मीय कुमाईका घुमाइहरू ज्यादा हुने गरेका छन्। यी ठूला मिडियाहरूमा वरिष्ठ बाहुन पत्रकार–सम्पादकज्यूहरू आ–आफ्ना अखडामा बसी नयाँ ढंगको बाहुनवादी धर्मकर्म गरिरहेका छन्, केन्द्रमा बसेर राज गर्ने यी अड्डाहरू साना तिललाई ठूलाठूला पहाड बनाई त्यसलाई बेचेर सामन्तहरू पोसाउनमा केन्द्रित छन्। दलितको सन्दर्भमा हेर्ने हो भने बाहुनमय यी पत्रकारहरूको कुनै पनि तप्काहरूमा दलितको अस्तित्व स्वीकारेको पाइँदैन। यद्यपि, आर्थिक लाभ हुने स्थिति छ भने ती सम्पादक–पत्रकारहरू आ–आफ्ना नाक चोवल्न हातपाउ टेकेरै आफैंलाई महादलित घोषणा गर्न पछि पर्दैनन्। तर समग्रमा दलितका समाचारहरूलाई एकादुयक, (यदि सोसमेत नकारात्मक सन्देश दिनेछ भने) बाहेकलाई समेटेको बिरलै छ। दलितको त फाइभ स्टारका होटलका कार्यक्रमसमेत यिनीहरूलाई गन्हाउँछ भने सडकको कार्यक्रम त दूरको बात हो। एउटै महत्त्व भएको दलित र गैरदलितको कार्यक्रमको समाचार प्रसारण गर्दा वा पस्किँदा गैरदलित समाचारहरूलाई उचित स्थान र स्पेस दिइन्छ, तर दलितका मन्त्री, अन्य वरिष्ठ व्यक्तित्व वा साहित्यकारहरूको विशिष्ट र सिर्जनात्मक समाचारहरू नै किन नहोस्, त्यसलाई बेवास्ता गरिएको सत्य हो। बरु, कुनै बाह्रमासे फटाहा नेताले कहाँ के कुरा खुस्काउँछ, त्यसलाई खोजीखोजी बढाइचढाई गरेर त्यसको व्यापार हुन्छ, बद्नाम र भ्रष्टहरूले बोलेका कुराहरू राष्ट्रिय महत्त्वको विषय बनाइन्छ, राष्ट्रपति बन्न नपाएको गिरिजाको अलाप राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरको चर्चाको विषय बन्छ, तर दलित सभासद्हरूले उठाएका विषयहरूलाई मन्त्री पदको लालची भएको भन्ने बहानामा लत्याइएको छ। अब भन्नोस् धर्मेन्द्रजी! के कुनै दलितले मन्त्री वा विशिष्ट पदमा दावा गर्दै नगर्नू भन्ने नै पत्रकारिता धर्म हो?
सञ्चार जगत्माथिको हस्तक्षेपहरू यिनै बाहुनवादमाथिको अतिरिक्त प्रतिशोध पनि हो, जसलाई मजदुर आन्दोलनको नाममा थप प्रोत्साहित गरिएको छ। अथवा सञ्चार जगत्द्वारा गरिएको शोषण र उपेक्षा घरिघरि सतहमा छचल्किएको पनि हुनसक्दछ। जबकि, पत्रकारिता धर्मले पहिले नजानिँदो, नदेखिँदो ढंगले पीडा दिने, शेाषण गर्ने अनि बिच्क्याउने र बिच्क्याइसकेपछि त्राहि–त्राहि आफैं हुँदै मानवअधिकारकर्मी तथा अन्तर्राष्ट्रिय समुदायसँग गुहार माग्ने पुरातन धर्मबाट यी अभिजात पत्रकारहरू अझ बाहिर आउन सकेका छैनन्। अतः हामीले अति आदर गर्नुपर्ने बाहुनवादी पत्रकार मित्र हो! सञ्चार जगत् आफैं बोक्सी, आफैं झाँक्रीजस्तो भएको छ। अझ, विचार प्रवाह र लेखरचनाको सन्दर्भमा भन्ने हो भने त यी तथाकथित केन्द्रीय ठूला मिडिया हाउसहरू आ–आफ्ना आसेपासे र खोपी–पोल्टाका बाहुन पाल्ने अखडा मात्रै साबित भएको सत्य नै हो, जबकि यस्ता सञ्चारगृहमा उही पुराना पुरेत–बाहरूकै अवशेषहरूको दबदबा छ, जसले राष्ट्र र समाजका लागि जस्तोसुकै मूल्यवान् हुनेगरी दलितले विचार पोखेको र कलम चलाएकोलाई रुचाउँदैनन्। केहीले साना र क्षणिक स्थान पाए पनि ती सबै तिनै बाहुन धर्मअनुकूलका अथवा उनीहरूलाई सुरक्षित पार्ने किसिमको हुनैपर्दछ। यसर्थमा, राम्रै परिणामका लागि कसैलाई सानोतिनो विरोध गरिहाले पनि १०८ महापण्डित पत्रकारज्यूहरूले त्यसलाई विशालकाय पर्वत बनाएर जतिसुकै कुर्लिए पनि कुकुरको पुच्छर सोझै हो भनेर स्वदेशी–विदेशीहरूको दिमागसमेत भुट्दै आएका छन्। विगत १०–१२ वर्षमा हुनसम्म बद्नाम र भ्रष्टहरूका पुराना गन्थनमन्थनले विशेष महत्त्वका साथ तिनका पत्रपत्रिकामा स्थान पाउँछन्, राज्यको व्यवस्थापकीय निकायमा पुगेर सिन्को भाँच्न नजान्ने र पदबाट बाहिर आउनासाथ 'यो त्यो हुनुपर्दछ' भनी विचार कुर्लने तोरीलाउरे बाहुनहरूका कथाव्यथाहरू हाइलाइट हुन्छन्। तर जतिसुकै सत्य र यो राष्ट्रका लागि केही न केही नयाँ कुरा दिऔं भन्ने दलितका विचारहरू विभिन्न क्राइटेरिया लगाएर रड्डीको टोकरीमा हुत्याइन्छन्। यसमा भने सोह्रै आना असहमत।
मेरा परमपुज्यनीय पत्रकार बन्धुहरू!! यही नै हो बाहुनवाद। अमेरिकी साम्राज्यवाददेखि यसको विरोध गर्ने दलितैलाई समेत यस भाइरसले सताएको छ, जसबाट हाम्रो पत्रकारिता धर्म पनि अछूतो रहन सकेको छैन। फुटाउने, भत्काउने र तहसनहस गर्ने अनि त्यसमै आनन्द लिने संस्कारमा हुर्किएको छ– हाम्रो आमसञ्चार जगत्। मिथ्या कुराहरूलाई समेत जतिसक्दो जबरजस्त सत्य तुल्याएर कुहिरोमा व्यापार गरी फाइदा लिने काम भएको छ। गहिरिएर सोचौं– यतिसम्म कि संघीयताको मोडल र समानुपातिकको संरचनाका बारेमा नेपालीत्व भड्काउने काममा हाम्रो पत्रकारिता जगत् सबैभन्दा अगाडि छ। उनीहरू एउटा बाहुनको विचारले मान्छे उचाल्छन्, अर्को बाहुनको कुराले मान्छे पछार्छन्। अहिले तिनै बाहुनवादी कुराले जातीय राज्यको सन्दर्भमा रक्तपात हुने स्थिति देखापरेको छ। तसर्थ, आफैंभित्र रहेको सामन्तवादी संस्कार र बाहुनवादी ढर्रालाई समेत टक्टक्याउँदै नयाँ सिर्जना र स्वच्छन्दताका लागि तपार्इं पत्रकारहरू लागिपरे हामी दलित समुदायले पनि पत्रकारिता जगत्माथि हुने गरेको नांगो हस्तक्षेप र ज्यादतीविरुद्ध सहमति जनाउन र नैतिक वा भौतिकरूपमै साथ दिन सकिन्थ्यो कि!!


http://weeklynepal.com/index.php?option=com_content&task=view&id=17806

Read Full Discussion Thread for this article