.... उ दिउँसोको खाना खान आउने हो कि होईन होला? अघि सोध्नै बिर्सिएछु। फोन गरें। "हजुर भुजा खान कति बेला आईपुग्ने? म ठिक्क त्यै बेलालाई तयार गर्छु" मैले उस्लाई मन पर्ने लयमा सोधें। उस्ले "भैगो बर्तको दिन तिमी दु:ख नगर, म बाहीरै खान्छु। हाकिमले अघि सँगै खान खान जाम भन्थ्यो मैले हुन्छ भन्दिएँ" उस्ले भन्यो। अनि थप्यो "तिमी फलफुल चैं खाउ है -- " मैले स्वरलाई मसिनो गरेर भनें "मलाई त पानी पनि खान मन छैन"। उस्ले भन्यो "त्यसो गर्नु हुन्न --" अनि सम्झाउन थाल्यो। म पनि बल्ल बल्ल मानें। उस्ले त्यही बुझ्यो। मैले बुझाएकै त्यही थिएँ।
एक दुई दिन अघि उस्ले तीजको बर्तको बारेमा मलाई सोधेको थियो "तिमी बर्त लिन्छेउ?" मैले "लिन्छु" भनें। उ दंग पर्यो। मैले सोचेकी पनि त्यही थिएँ, त्यसैले नै लिन्छु भनेकी थिएँ। "कस्को लागि नी?" उस्ले आँखामा चमक र अनुहारमा रौनक ल्याएर सोधेको थियो। मैले आफ्नो स्वरलाई मादकताको लचकमा झुकाउँदै "मेरो हजुरको लागि" भनेकी थिएँ। उस्ले मलाई अंगालोमा लिएको थ्यो।
उ खाना खान नआउने भए पछी भन्दै म तयार भएर बाहीर निस्कीएँ। सार्है भोक लागेको जस्तो भयो। म:म: खान मन लाग्यो। अलि परको पसलमा गएर म:म: किनें अनि घर ल्याएर खाएँ। एकदम मीठो लाग्यो। खाई सकेपछी आफैलाई भनें "एक छाक त तीजको बर्त लिएँ, अब अर्को एक छाक बाँकी छ"। एक्लै हाँस उठ्यो।
चिया र फलफुल त उसैले पनि खानु भनेकै थियो, त्यो पनि खाएँ दिउँसो।
अनि अब साँझको लागि तयार हुनु थ्यो। उ कुनै पनि बेला आईपुग्न सक्थ्यो। रातो सारी, अनि रातै अरु पहीरन अनि गरगहनामा सजिएँ। उ अब आउनु भन्नु थ्यो, स्वर्गलाई उस्ले बिर्सिनु थ्यो। मलाई भने यही दुनियाँले छोड्ने थिएन।
उ आईपुग्यो, म उसैको स्वागतको लागि नै त थिएँ। मलाई उ एक छिन त हेरेको हेरेई भयो। हुन त जे उस्ले देखेको थियो सबै उसैका थिए तै पनि सबै नौलो हुन कि झै गरी हेर्यो केही छिन। दंग पर्यो।
अनि उही मायाको बयान, कहिले शब्दले, कहिले भाबले अनि कहिले शब्द र भावलाई कार्यान्वयन गराउँदै। उही आलिङ्गन, उही चुम्बन, उही अर्पण, उही समर्पण, उही क्रम अनि उही प्रकिया। मायाको क्रममा तीज ओझेलमा त पर्यो तर त्यै तीजको श्रींगारले भड्काएको आगोको ज्वाला भने अरु दिन भन्दा अलि धेरै नै हौसीएको थियो।
उस्ले अघि बन्द गरेको फोन अन गर्यो। म ओछ्यानमै थिएँ। उस्को फोनको घण्टी बज्यो। उस्ले उठाएन। मायाका कुराहरु गरीरह्यो मलाई अंगालोमा लिएर। मैले सुनीरहें। मैले गर्ने नै त्यही हो। फेरी फोन आयो, उस्ले कुरा गरेन तर उठेर आफ्ना लुगा लगायो। उस्को फोने मैले टीपेर हेरें। भर्खरै फोन जस्ले गरेको होला जस्तो लागेको थ्यो उसैले गरेकी रहीछ। "बिचरी प्रियंका" मैले मनमनै भनें। उस्ले फिस्स हाँसेर म तिर हेर्दै भन्यो "के गर्ने अर्चना, घर पनि त जानै पर्यो --"
परदेशमा छ बिचरा बिकाश नत्र प्रियंका सँग कुरा मिल्थ्यो होला उस्को। शोभित जाँदै गरेको हेर्दै मैले सोचें।
***********