The latest attack on Himal media, in a hindsight, has been good to all democracy, freedom and rule of law loving people in the sense that it has alerted all, hit the home hard and started to bring them together to fight for the cause.
जहाँसम्म आक्रमणकारीहरु (जसलाई “माओवादी मण्डले” को संज्ञा दिंदा नेपाली घरेलु राजनैतिक शब्दकोषको ठीक उपयोग गरेको ठहरिन्छ जस्तो लाग्छ, नत्र त ‘माओवादी तालिबान’ भने पनि हुन्छ) को कुरा छ, ती र तीनका धर्मगुरुहरुले के बुझ्नु पर्दछ भने प्रेस स्वतन्त्रता भनेको नेपाली जनताको अहरणिय स्वतन्त्रता र अदम्य प्रतिबद्धता हो, जसलाई माओवादी क्रान्तिकारी मुल्लाहरुको कुनै पनि धर्म-घोषणा वा छल-कपटले कुन्ठीत गर्न सक्दैन ।
माओवादी मण्डलेहरुको गुनासो के रे भने हिमाल मिडियाले मजदुरको विरुद्ध लेख्यो रे । किन र ? मजदुरको विरुद्ध लेख्न हुन्न ? जतिभने पनि लेख्न हुन्छ । सम्विधान र प्रचलित कानूनको दायराभित्र रहेर जेसुकै लेख्ने स्वतन्त्रता जोसुकैलाई हुन्छ, छ र रहिरहनेछ छ । यो नेपालको अन्तरिम सम्विधान समेतको र लोकतन्त्रको त आधारभूत कुरा नै हो- माओवादी मण्डले र तीनका धर्मगुरुले बुझुन् । नबुझे घाटा उनीहरुलाई नै छ । घाटा कसरी भन्ने कुरा सिधा छ – 'लोकतन्त्रको क ख ग पनि नजानेका स्वाँठहरु लोकतान्त्रिक नेपालको शासक रे !' भनेर जगहसाई हुदैन ?
माओवादीलाई लोकतन्त्रको मूलप्रवाहमा आउन र सक्छन् भने नेपालीलाई सुशासन दिनको लागि समेत भनेर नेपाली मतदाताहरुले माओवादीलाई शासनको एक ईमान्दार अवसर दिएकै हुन् ।
[ साझाका केही मित्रहरु माओवादीलाई सत्तामा पुर्याएको नेपेले हो भनेर उनीहरुलाई नेपालको चुनावको बारे कौनेकुरा अत्तोपत्तो नभएको जस्तो अज्ञानता देखाईरहेका छन्, तर त्यो कुनै विषय भएन । तर पनि निर्वाचनको बेलामा सुतेर बसेका बुझिने यी कुम्भकर्णहरुलाई यति त बताईदिनपरिहाल्यो – माओवादीलाई सत्तामा पुर्याएको नेपेले होईन, गएको अप्रिल महिनामा भएको सम्विधानसभाको निर्वाचनमा ३१ लाख मतदाता अर्थात् नेपाली कांग्रेसका भन्दा ७ लाख बढी अनि एमालेका भन्दा ८ लाख बढी मतदाताहरुले मत हालेर (समानुपातिक निर्वाचनको मात्र डेटा हो यो) माओवादीलाई सत्तामा पुर्याएका हुन् । ]
माओवादीलाई जसरी सत्तामा पुर्याए, आवश्यक परे त्यसरी नै गलहत्याउने अधिकार र सामर्थ्य राख्तछन् नेपाली मतदाताहरु । र अर्को निर्वाचन तीन वर्ष भन्दा टाढा छैन । त्यसैले अलिक दूर नै भए पनि द्वारहरु छन् ।
तर कति भने, मतदाताहरुको लागि माओवादीभन्दा गतिलो वैकल्पिक दल पनि उपस्थित हुनुपर्यो । त्यसो भएन र नेपाली मतदाताहरुले पहिले झै निर्गतिला दलहरुमध्ये एक छान्नुपर्यो भने चाही खत्तम भो ।
यसको सारांश के हो भने, नेपालको राजनैतिक, रणनैतिक र शुद्ध नैतिक भकुण्डो अब माओवादी-ईतर दलको परिसरमा छ । माओवादीईतर दलहरु मध्ये कम्तीमा एउटाले आफुलाई बौद्धिक, नैतिक र सांगठनिक रुपमा सशक्त बनाएर नेपाली मतदाताको लागि छान्नयोग्य विकल्पको रुपमा प्रस्तुत हुनुपर्यो ।
केकस्तो स्थिति छ त अहिले ? निराशाजनक । माओवादीको झुर हनिमुनको वावजुद नेपाली कांग्रेस वा एमाले अहिले माओवादीको विकल्प हुने ल्याकत (बौद्धिक, नैतिक र सांगठनिक सबै तहमा) राख्तैनन् ।
त्यही भएर मैले माओबादीलाई तत्कालै सत्ताच्युत गरेर नेपाली कांग्रेसलाई सत्तामा पुर्याउने खालको खेल (“प्रजातान्त्रिक मोर्चा” को बहस चलिरहेको छ नि, हो त्यो) मा भर पर्न सकिन्न भनेको हुँ ।
तर माओवादीको अब स्पष्ट गोचर भईरहेको अपशासन (bad governance) लाई चुपचाप सहने, शंकाको सुविधा दिईरहने वा माओवादीको बौद्धिक छलाङको आसामा बसिरहने समय सकिईसक्यो र यदि हामी (नेपाली जनता) चुपचाप बसिरहे माओवादीले यसको गलत सन्देश पढेर झनझन लापरवाह, सनकी र दम्भी कुशासक हुँदैजाने स्पष्ट सम्भावना एकातिर, र अर्कातिर माओवादीले अहिले जनताबाट एउटा गतिलो थप्पड पाएको खण्डमा कम्तीमा माओवादी मण्डलेवाद अलिक कम गर्न बाध्य हुन्थे कि भन्ने आसा भएकोले माओवादी अपशासन विरुद्ध र माओवादीले नियन्त्रण गर्न नसकेको अराजकताको विरोधमा एउटा देशव्यापी प्रदर्शन हुन जरुरी देखेको हुँ मैले ।
यस्तो देशव्यापी प्रदर्शन एउटा दुईटा घटना विशेषको निम्ती मात्र होईन कि माओवादीको समग्र incompetence को विरुद्ध हुनुपर्छ । अन्यथा यो व्यापक र प्रभावकारी हुनेछैन ।
सारांशमा मेरो मुख्य बहस र छटपटी हो: माओवादीको अपशासनको विरोधमा एउटा विशाल जनप्रदर्शन आवश्यक भइसकेको छ । माओवादीलाई सत्ताच्युत नै त गर्न होईन, तर एउटा बलियो नसिहत दिन भने हो । यसपछि पनि माओवादीको शासनमा गुणात्मक सुधार देखिएन भने तिनीहरुविरुद्ध जसले जसरी लडेपनि त्यो उचित र समर्थनयोग्य हुनेछ ।
Nepe