Posted by: PallaGhareAntare December 11, 2008
Dhankuta
Login in to Rate this Post:     0       ?        

धनकुटाको धागै शुरु भैसकेसि नलेखि बस्न सकिएन। हुर्केकै धनकुटामा हो भन्नु पर्‍यो। ३ कक्षा देखि ८ कक्षा सम्म त्यहिं पढियो भनम। त्यसैले फट्याइं गर्ने उमेरै त्यहिं बिताकोले सम्झना थुप्रै छन्, उस्तै ताजा, २३ बर्स भ'च धनकुटा छोडेको र पनि उस्तै।

नरिवल बिस्कुट जस्तै पेपर चुरोट पनि बिर्सिन्न म त। बाउन्न ढोकाबाट अलि माथि गएर टुंडिखेल झर्ने बाटोमा देब्रेतिर एउटा पाटि थियो क्यारे, त्याँ पेपर चुरोट बेच्न राख्थे। शायद पेपर कागज र सुर्ति छुट्टै छुट्टै किनेर आफैंले बेर्न पर्ने हो क्यारे। बेर्‍यो, तान्यो, कसैले देख्ला र घाराँ बाले था पाउलान् भन्नि कत्रो पीर। त्यो नि इस्कूलाट भागेको बेलाँ।

बाल संसार इस्कूलाँ त मेरी बैनी नि पढ्थि, केजी वा एक कक्षामा। छोरीलाई काखा छोरालाई पाखा गर्‍या हुन बा आमाले उतिबेला, बैनीलाई बाल संसाराँ मलाई तल्लो गोकुन्डेसोराँ पढा'र। त्यसो हैन, उतिबेला बाल संसार भक्खर खुल्या थ्यो, एक वा दुइ कक्षा सम्म मात्रै थियो क्यारे। मैले ८ पास गरेसि बिराट्नगर तिर झरियो अब एसएलसी आउन लाओ, अंग्रेजी इस्कूलाँ पढ्न पर्च नत्र अंग्रेजीमा गुल्टिन्च भनेर नत्र आफूलाई त तेतै रमाइलो थ्यो। बाउन्न ढोकाँ भिडियो हेर्नि, इस्कूलाट भागेर सल्लघारी, बेलडांडा, कचिंडे तिर घुम्न जानि। संधै तेत्तिकै बस्न पाए रमैलो जस्तो के। राम बादुर हेड सरले जान दिन मान्या थेनन्, राम्रो डिभिजनाँ पास गर्ला भनेर आश गरेको बिध्यार्थी छोडेर जान लाओ भनेर। उतिबेला एक दुइ जनाले एसएलसी पास गर्‍यो भने नि ठुलो कुरो हुन्थो के।

फिलिम हल थेन, बाउन्न ढोकामा कोचाकोच गरेर गुन्द्रिमा बसालेर हिन्दी फिलिम देखाउंथे। बाउन्न ढोकाको ठ्याक्कै मुन्तिर घर थ्यो। इस्कूलाँ एक दुइ कक्षा बस्यो अनि भागेर दिनभरि एक पछी अर्को गर्दै इस्कूल छुट्ने बेला सम्मका फिलिम हेर्‍यो अनि गुटुटु कुद्दै घर फर्क्यो, क्या रमाइलो थ्यो भने जिन्दगी। कैले काइं टुंडिखेलमा सर्कस ल्याउंथे तराईतिराट। अनि रात परुन्जेल त्यतै खेल्यो, घर फर्किने बेलाँ भूतको डर लागेर सातो जाने। घरेलु काटेर बिचबजार निक्लिने बाटो र बाउन्न ढोकादेखि तल घर सम्मको बाटो निस्पट्ट अन्धकार हुने। अनि फेरि मुर्कुट्टा, किच्कन्नि, राँके भूतको कथा खूब सुनिन्थ्यो तेतातिरा। बाउन्न ढोकाबाट करायो बेस्सरी आमाsssssssss भनेर अनि आमाले नडरा बाबू म यैं छु भनेसि कुद्यो बेस्सरी। त्यो बाउन्न ढोका आगाडिको बर पिपलका अजंगका रुखबाटै निस्किन्छन् कि भूत जस्तो लाग्ने।

उतिबेला धरान धनकुटा बाटो बनाउंदै थे। डोका चडेर पुगिन्थ्यो पैले पैले। पछि टडक सम्म भेटिन थाल्यो। टडक, टिपरका पछाडि चडेर बेलडाँडा मुन्तिरको खोलाँ दिनभरी पौडि खेल्यो अनि साँझ फर्किनि बेलाँ एउटा नि टरक नआसि लौ खाने भो चितुवाले आज, बांचियो भने फेरि आउन्न भन्यो फेरि जस्ताको तस्तै, एक दुइ दिनाँ फेरी उहि ताल। बाटो नबन्दा दुख पाइयो एक पल्ट। कान साह्रै दुख्यो, कम्पाउडर दाइले शहर लैजान पर्च अप्रेशन गर्न भने। बाटो बन्दै थ्यो, डोकाँ चडेर पुग्नि कैले हो कैले। पछि के के गरेर टरकाँ पुर्‍याए कि क्या हो बिराटनगर। म रात रात भर सुत्न नसक्दा आमाले तिन चार रात संगै काखमा टाउको राखेर सुम्सुम्याको अझै याद छ। त्यो कानले अझै नि दुख दिन्छ कैलेकाइं अनि फेरि सम्झिन्छु धनकुटा।  

टुंडिखेलको मन्चमा खोपी नि खूब खेलियो। त्रिभुवनको पालाको तामाको पाँच पैसा किन्न पाइन्थ्यो २ रुप्पेमा। हो त्यहि ढक्का बनायो खेल्यो दिनभरी। पढनु गुन्नु कौने काम हलो जोति खाउ माम भन्या त्यै हो। पैसा जितियो भने नाङ्लामा बेच्न राखेका चाखशाला, मुरैका लड्डु खान पाइन्थ्यो।

सबैभन्दा ब्यग्रताका साथ पर्खिने दिन हुन्थ्यो बिहिबार। हाट जान पाइन्छ भनेर। इस्कूल बिहान ९ वा १० बजे सक्किन्थ्यो त्यो दिन। बा आमा ठ्याक्क आइपुग्थे छुट्टि हुने बेलाँ अनि लाग्यो तल्लो कोप्चे हुंदै हाटतिर। कति रमाइलो लाग्थ्यो भने ओहो.... दिनभरी त्यतै बसे नि फर्किन मन नलाग्ने। बैनिको हात समातेर बा आमाको पछि पछि लाग्यो के के किन्छन भनेर। अट्टे चामल, मस्याम र गहतको दाल, लोकल कुखुरा, डिम्मा, ठेकिको दही, घ्यू, रायोको साग, रामभेंडा, जुनार, सुन्तला किन्नु पर्ने थुप्रो हुन्थ्यो। उखू चुस्दै फर्किंदा कुलबादुर साहूजीको पसलाँ किनिन्थ्यो शहरतिरका सामान। अनि कैले घर पुगिन्च र भात खान पाइन्च जस्तो हुन्थ्यो। आगोको चुलो अगाडि बस्यो पिर्कामा अनि ढुकेर।

हाट सम्झिंदा बाको झापड नि सम्झिन्छ। एक चोटि एक हप्ता भागेर बिहिबार मात्रै इस्कूल गा थें। बा बाटोमा पर्खिन छोडेर हेड सरको अफिसाँ पुगेचन् किन हो। सर भन्चन ऐले त ठिकै छ जस्तो छ अन्तरेलाइ। बा सोध्छन् के भा थ्यो र? सर भन्चन् हिजो सम्म बिरामी थें भनेर आज बल्ल आयो इस्कूल कत्ति दिन पछि। के को हाट, भेटियो बाटैमा मजाले।

सबै लेख्न थाल्यो भने लामो कथै बन्ला।

Read Full Discussion Thread for this article