Posted by: CT. December 5, 2008
जीवन चक्र
Login in to Rate this Post:     0       ?        

कथाको विषयबस्तु र प्रस्तुति उत्कृष्ट लाग्यो, सदा झै । त्यसमा के कमेण्ट गर्नु र ? खट्केको विषय चै हलुवाइको परिस्थीति राम्ररी नबुझेको अवस्थामा यो कथा(वा विवरण भनुँ कि)ले उनलाइ न्याय गर्न सकेको देखिएन । जीवनचक्र घुम्दै जाँदा खराव पात्रको पतन हुँदै जाने अवस्था चित्रण हुन जानु पर्ने हो, तर कथा छोटो भएर हो वा के हो, यहाँ हलुवाइको सन्दर्भमा नखाएको विष पनि लागेको जस्तो देखिन पो गयो भन्ने महशुस भएको छ । यो कथा पढीसकेपछि मनमा एउटा सानो सानो खालको आन्दोलन चै चलीरह्यो ।

आफु सानो छँदा भोजभतेरमा पुरानो लुगा (फाटेकै त होइन, तर नयाँ पनि होइन, जतन गरेर भोज, नखत्या जस्ता विशेष अवसरहरुमा मात्रै लगाउनलाइ साँचेर राखेको लुगा पनि पुरानिएर खुइलिएकै हुन्थे) लगाउनु रहर होइन बाध्यता थियो । त्यो बेला अरुको नजरमा झुल्किने घृणा भनौ या अनदारभाव वा ' तँ त तुच्छ पो होस ' भन्ने भावनालाइ सधै मन गह्रुँगो बनाएर पढेकै हो, अपमानबोध सहने बानी लागेकोले होला राहुलभाइलाइ जस्तो आँखामा आँसु नै त आएन तर पीडाले पछिसम्म पनि पोलेकै थियो । "हामीसित संगत गर्ने भए राम्रो लुगा लगाएर आइज" भनेर अपमान गर्न खोज्नेलाइ समातेर नालीमा पछार्दै आक्रोश मत्थर पनि पारीयो कहिलेकाहि । तर चुरो कुरो विपन्नताकै कारण समाजमा स्थापितहरुको नजरमा 'नराम्रा मान्छे' भन्ने परिचय बोक्न चाहि परेको थियो । यो भयो आफ्नो कुरा ।

अब एक पुस्ता पछाडि, आफ्ना बालबच्चाहरुलाइ "खाते"हरुको संगत नगर भन्नुपर्ने अवस्थामा आफुलाइ पुर्याएको महशुस जब हुँदै थियो, यो कथाले पुराना कुराहरु मनमा उप्काइदियो । यहाँका "खाते"हरु टालेको लुगा लगाएर म्युजियम घुम्नजाने हरु नभइ आइपड भिरेर बातैपिच्छे F शब्दहरु फलाक्दाहुन भन्ने अनुमान छ । तर त्यस्तो मात्र नभइ कतिपय त खान राम्ररी नपाएका सौतेली बाउ आमाको हेलचक्राइँबीच हुर्कँदै गरेकाहरु पनि हुँदा रहेछन । भित्री कुरो केहि थाहा हुन्न, थाहा हुने त सिर्फ छालाको रङ न हो, त्यसैको आधारमा यसो नगर उसो नगर भनेर सिकाउने तथा नमाने गाली गरेरै भएपनि अभिभावकिय धर्म पालना गर्नै पर्ने हुन्छ । त्यसैले के ठिक के बेठिक भनेर आन्दोलन नै चल्यो ।

 

Read Full Discussion Thread for this article