Posted by: Rahuldai December 3, 2008
जीवन चक्र
Login in to Rate this Post:     1       ?         Liked by

जीवन चक्र


भाग २

काष्ठमण्डप को छेउमा कबिन्द्रपुर मन्दिर नास:द्यो को कुनामा २ ओटा र चिकंमुगल जाने बाटोमा ३ ओटा र अट्को नारयणस्थान् अगाडि एउटा गरी कूल ६ ओटा जति हलुवाइ पसल थियो २०३० साल् तिर। ती ६ ओटा मिठाइ पसल मध्ये कै एक राजेश हलुवाई परिवारको पसल पनि थियो। ब्यान ब्यानै हलुवास्वारी-स्वारी जेरी को खूब अपार ब्यापार् हुन्थ्यो। (हाल पनि साबिक कै स्थान मा २ ओटा हलुवाई पसल छन्)।


राजेश हलुवाई संभवत एकै साल जन्मेका दौतरी थिए। टोल छिमेककामा आफ्नो उमेरका थोरै नै साथीहरु हुन्थ्यो त्यति खेर। जनसंख्या निकै पातलो थियो। सडकमा एक्कादुक्का गाडि गुड्थ्यो। केही लरी ( ट्रकलाई त्यति बेला लरि भनिन्थ्यो), केही ट्याक्सी कार र थोरै मोटर साइकल ( होण्डा भनिन्थ्यो त्यतिबेला) मात्र भेटिन्थ्यो।


सहर भरि  २ ओटा स्कूल  बस  थिए  होला। एउटा सेण्ट जेभियर्स को अर्को आदर्श बिद्यामन्दिर् हो कि कस्को हो। पहेंलो खालको ( अम्रिकामा जस्तै), बस स्टार्ट गर्न अगाडि इन्जिनको एक भागमा घुमाउरो डण्डि घुसाइ बलपुर्बक घुमाउनु पर्थ्यो। टोल नै थर्कने गरी आवाज दिन्थ्यो।

तिनै बस मध्ये एकमा बसेर राजेश हलुवाइ स्कूल जान्थ्यो। अर्थात टोल छिमेकमा उनकै परिवार मात्र धनी परिवार थियो जसले आफ्नो छोरोलाई "बस" मा स्कूल पठाउन सक्थ्यो। हामी त्यो बस स्टार्ट गरेको द्रिश्य हेरर रमाउथ्यौं वा त्यो भन्दा बढि हाम्रो भाग्यमा थिएन नै।
 
जान त हामी पनि स्कूल जान्थ्यौं। म भने बसन्तपुर सेतो दरबार अगाडिको स्कूलमा पढ्थें। (संस्क्रित नै नेवारीमा पढाउने उक्त स्कूलको चर्चा मैले धेरै ठाउँमा गरि सकें नै।)
 
जहाँ पढे नि हामी टोल छिमेकमा आसपास, तेलकासा, ह्वागरा खेल्ने साथी थियौं।
राजेश हलुवाईको परिवारले कसरी कमाए, कसैलाई थाहा थिएन। रातारात धनी भएका थिए रे। अरु हलुवाई पसले ( तिनकै आफन्त) हरुको आर्थिक हैसियत ज्यूंकात्यूं नै थिए। केही समय पछि त्यो पसल को ब्यबसाय नि बन्द गरे।

तीन जना दाजुभाइ मध्येका कान्छो छोरा थिए राजेश। जतिसुकै बालसुलभ ब्यबहार भए पनि बेला बेला मा "धन" बोल्थ्यो। तर आफ्नो बालमस्तिष्कमा धन बोलेको हो कि मन बोलेको त्यो घुस्दैनथ्यो। खेलमा झेल गर्‍यो भने झगडा गरिन्थ्यो। अब देखि नबोल्ने भनी कान्छि औला देखाएर "राम" भन्थ्यौं। अर्थात सम्बन्ध बिच्छेद।

राजेशका ठुलदाई रमेश राजेश भन्दा १०-१२ बर्षले जेठोहुंदो हो, माइला दाई सुरेश ५ बर्ष जेठो। बिचमा दुइ दिदीहरुको उपस्थितिले हलुवाई परिवारले डाँडाकाँडा ढाकेकै थिए।

हामी ३ हो कि चार पढ्दा रमेश दाई अम्रिका जानु भयो रे। किन कसरी सरोकारको बिषय थिएन। न त अम्रिका भनेको कहाँ छ भन्ने नै चासो। हवाइजहाजमा बसेर गएको रे। बाफ रे बाफ, हवाइ जहाज भन्ने आश्चर्यबाचक शब्द बाहेक आफ्नो प्रतिक्रिया थिएन।

त्यतिबेला नै हलुवाई परिवारले ताहचल मा नयाँ घर (बंगला ) बनाए र उतै बसाई सरे। यसमानेमा हाम्रो संसर्ग ब्रेक भयो। तर पनि सालै भर हुने जात्रा पर्बहरुमा पुरानै घरमा आउथे। ताहचल गाउँमा (गाउँ पन्चायत नै थियो त्यतिबेला) स्याल कराउने बाहेक केही चहल पहल हुन्न रे। हुन पनि महेन्द्र रत्न क्याम्पस( ताहचल क्याम्पस) देखि छाउनी ब्यारेक सम्म खेत अनि खेतको बीच बीचमा बुँख्याचा बाहेक केही हुंदैनथ्यो।

इन्द्रजात्रा, गाइजात्रा, दशैं, तिहार, पहाँ चह्रे, गथाँमुग चह्रे, शिला चह्रे( शिवरात्री), स्वायाँपुन्ही( बुद्ध जयन्ति),  योमरी पुन्ही आदि पर्ब तथा जात्राहरुमा हामी भरपुर खेल्थ्यौं।  मरु सत्तलको माथी बुर्जाहरुमा चढि जात्रा हेर्थ्यौं।

संभवत त ४ पढ्दा होला, हामी ३ जना एउटै उमेरका साथीहरु बसी छावनी स्थित म्युजियम हेर्न जाने प्लान बनायौं। टोलछिमेक भन्दा टाढा जाने कुरा त्यति बेला परदेश यात्रा जस्तै हुन्थ्यो।  मर्स्याले बोरामा हालेर लैजान्छ है भन्ने त्रास् ले बास् गरेको हुन्थ्यो हामीमा। २० हो कि २५ पैसा लाग्छ रे म्युजियम हेर्न। जसरी भए नि त्यति पैसा को जोहो गर्ने गरी जाने दिन तय गर्‍यौं।

२५ पैसा माग्ने हिम्मत भएन म मा। घरको अवस्था भन्दा पनि कहिलेइ न मागेको चिज माग्ने आँट आएन।

राम्रो इच्छा गरे, भगवानले पुर्‍याइ दिन्छ रे भनेको सुनेको थिएं। म्युजियम हेर्ने काम पक्कै नराम्रो इच्छामा पर्दैनथ्यो।
भगवान ले मेरो पुकार सुनेछ क्या रे, नील बीर साहुको जन्म दिन आएछ। टोलकै सबै भन्दा धनी मानिने नील बीर् साहुको जन्म दिनमा धौबजी दिंदा २५ पैसा दिने गर्थ्यो। धौबजी अर्थात जन्म दिनको उपलक्षमा दही च्युरा, तितौरा, फलफुल र दछिणा सहित टोलभरिका केटाकेटीहरुलाई बाड्ने चलन - जो यद्यपि छंदै छ।

धौबजी लिन बिहानै कान ठाडो पारेर बसियो, कुन बेला "हे मस्त धौबजी का वा" ( केटाकेटी हो धौ बजी लिन आउ) भन्ला र जाउंला भनेर।
धौबजी भन्दा पनि त्यो २५ पैसे पित्तलको ढ्याक संग आफ्नो सरोकार थियो। पैसाको जोहो भयो, मन फुरुङ्ग भयो।

म्युजियम हेर्न जाने दिन आयो, छिमेक कै मित्र प्रबिन बोलाउन आए।

क्रमश:

Read Full Discussion Thread for this article