Posted by: bidyarthi November 23, 2008
US Embassy Denied Visa to Our Minister
Login in to Rate this Post:     0       ?        
मन्त्रीलाई नै भिसा दिएन अमेरिकाले
अन्य समाचार
पुरानो अंक

पर्शुराम काफ्ले/नयाँ पत्रिका
काठमाडौं, ७ मंसिर

2008-11-23,Sunday


अमेरिका भ्रमणका लागि आवेदन दिएकी सामान्य प्रशासनमन्त्री पम्फा भुसाललाई दूतावासले भिसा दिएन
सामान्य प्रशासनमन्त्री तथा माओवादी नेतृ पम्फा भुसाललाई अमेरिका जान दूतावासले भिसा दिएन ।
ब्राजिलको भ्रमणका लागि शनिबार नेपाल छोडेकी मन्त्री भुसालले अमेरिका पुग्ने भिसा नपाएपछि तीन दिन लामो अमेरिका भ्रमण रद्द गर्नुपरेको छ । माओवादीसँग अमेरिकाको सम्बन्ध विस्तार भइरहेको भनिएका बेला नेपालस्थित अमेरिकी दूतावासले माओवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई भिसा उपलब्ध गराएन ।

अमेरिका प्रवेश गर्न भिसाका लागि गत सोमबार दूतावासमा आवेदन र्फम पठाएकी मन्त्री भुसाललाई अन्तर्वार्ताका लागि उपस्थित हुन भनिएको थियो । 'मलाई अन्तर्वार्ता लिन मेरा निजी सहायकमार्फत बोलाइएको थियो, मैले परराष्ट्र मन्त्रालयमार्फत कुरा पनि गरेँ, तर अन्तमा भिसा पाइएन,' ब्राजिल जानुअघि मन्त्री भुसालले नयाँ पत्रिकासँग भनिन् । कुनै पनि देशमा रहेका विदेशी दूतावासले कूटनीतिक राहदानी भएका व्यक्तिलाई सहज भिसा उपलब्ध गराउने चलन छ ।

मन्त्री भुसालले अन्तर्वार्ताका लागि दूतावासले खबर पठाउना साथ मुख्यसचिव डा.भोजराज घिमिरेलाई फोन गरी भिसाका लागि पहल गर्न अनुरोध गरेकी थिइन् । 'मैले मुख्यसचिवलाई भक्तपुरमा पार्टीको बैठक भइरहेको स्थानबाट फोन गरेर परराष्ट्र मन्त्रालयमार्फत बुझ्न अनुरोध गरेकी थिएँ,' भुसालले भनिन्, 'परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले यसबारेमा अमेरिकी राजदूतसँगै कुराकानी गर्नुभएछ । तर भिसा पाइएन ।' उनले ब्राजिलका लागि भन्दाअघि नै अमेरिकी दूतावासमा भिसाका लागि निवेदन दिएको बताइन् ।

महिला तथा बालबालिकामाथि भइरहेको हिंसाविरुद्ध ब्राजिलमा हुने कार्यक्रममा भाग लिन गएकी भुसालले अमेरिकाका लागि टिकटसमेत बुकिङ गरिसकेकी थिइन् । 'मैले तीन दिन वासिंटनस्थित नेपाली दूतावासमा बस्ने भनेर बकाइदा निवेदन दिएकी हुँ,' मन्त्री भुसालले भनिन्, 'यति हुँदासम्म मन्त्रीलाई अन्तर्वार्ताका लागि बोलाउन ढिपी गरिरहे, यो त अति नै भो नि ।' भिसाको पहलका बारेमा परराष्ट्र सचिव आचार्यले भने केही पनि नभन्ने बताए । 'यस्तो संवेदनशील विषयमा मलाई केही पनि बोल्न नलगाउनुस्,' उनले भने, 'मैले यसबारेमा तपाईंलाई केही पनि भन्न मिल्दैन ।' उनले राजदूत न्यान्सी जे पावेलसँग भिसाका लागि भएको पहलका बारेमा पनि केही बताउन चाहेनन् ।

मन्त्री भुसाललाई अमेरिकाको भिसा मिलाउन महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयकी सचिव वृन्दा हाडाले पनि अमेरिकी दूतावासमा पहल गरेकी थिइन् । 'मलाई वृन्दा हाडाले नै एसएमएस गरेर भिसा पाइएन भन्ने खबर गर्नुभएको हो,' मन्त्री भुसालले भनिन् । तर, सचिव हाडाले भने समय अभावका कारण भिसा नपाएको प्रतिक्रिया दिइन् । 'हतार-हतार निवेदन दिइयो, समय नै भएन,' उनले भनिन्, 'एक-दुई दिन थप भएको भए भिसा मिल्थ्यो ।' अन्तर्वार्ताका लागि मन्त्रीलाई बोलाइनु स्वाभाविक भएको सचिव हाडाको तर्क थियो । 'तपाईंलाई पनि थाहै छ नि, उहाँ (मन्त्री भुसाल) हरूलाई अमेरिकाले अझै टेरोरिस्ट ट्याग हटाएको छैन,' हाडाले अमेरिकी दूतावासको बचाउ शैलीमा भनिन् ।

यसअघिको सरकारमा रहेका स्थानीय विकासमन्त्री (हालका कानुन, न्याय तथा संविधानसभा व्यवस्थामन्त्री) देव गुरुङलाई पनि अमेरिकी दूतावासले अन्तर्वार्ताका लागि दूतावासमा बोलाएको थियो । 'देशको मन्त्रीजस्तो व्यक्तिलाई कुनै पनि दूतावासले अन्तर्वार्ताका लागि बोलाएको शोभा दिँदैन,' नाम उल्लेख नगर्नुहोस् भन्दै अनुभवी एक परराष्ट्रविद्ले नयाँ पत्रिकासँग भने, 'यसको तन्तु राजनीतिसँग पनि जोडिन्छ ।'
दुई महिनाअघि माओवादी सभासद् रूपा चौधरी (कैलाली) र पार्वती थापा (गोरखा) लाई पनि अन्तर्वार्ता दिन दूतावास नगएकै कारण भिसा उपलब्ध गराइएको थिएन । 'असोज २ गते उड्नुपथ्र्यो, तर अन्तर्वार्ताका लागि दूतावासमै हामी गएनौँ,' गोरखाकी सभासद् पार्वती थापाले भनिन् । तर, उनले पुरानो प्रसंग भन्दै थप केही भन्न चाहिनन् ।

Read Full Discussion Thread for this article