भाग-३
"प्लिज ! बिबेक तँ मेरो साथी होस् भने मेरो ठाँउमा आफैलाइ राखेर हेर। गाइनेलाइ बिचमा ल्याउनै पर्दैन। यो मामलामा त्यसको कुनै भुमिका छैन।" भन्दै उसले बिबेकको हातको फोन खोसेर नजिकैको टेबलमा राखिदियो।
"हेर! तँ मेरो साथी होस्, यदि अरु कोही नचिनेको मान्छे हुँदो हो त म उहिले "नमस्ते" गरेर हिंड्थे। तर आज साक्षी गएको २ महिना हुँदा पनि तँ किन यस्ता नचाहिने कुरा गर्छस्? उ तँलाइ माया गर्दिन, उ गाइनेलाइ माया गर्छे। शायद २ महिनामा उसले तँलाइ २ चोटि पनि सम्झिन होला, जबकी तँ उसलाइ हरेक दिन सम्झिन्छस्, हरेक पल। जिन्दगी एकजनाको मायाले बित्दैन, यो मुटु धेरै ठुलो छ। तँ अझै माया गर्न सक्छस् अरु कोहिलाइ, साक्षी तेरो जिबनको अन्त्य होइन।" बिबेक अहिले केही साम्य हुन थाल्यो।
"त्यो अरु कोहिले पनि मलाइ मझधारमा छोडेर साक्षी जस्तै गइ भने?" उसले अब कसैलाइ पनि सजिलै बिस्वास गर्न सक्दैन।
"हरेक मान्छे फरक हुन्छ। हरेक केटि साक्षी जस्तो हुँदैन, हरेक सम्बन्धमा धोखा हुन्छ भन्ने छैन। तर घटना घट्दैमा जिन्दगी रोकिदैंन। एउटा स्वास्नीले छोडी त के भो? तँ अर्को बिहे गर्न सक्छस् अनि जिन्दगीलाइ गति दिन सक्छस्। यदि बिहे गरि हाल्न जरुरी छैन भने, कोहि साथी त बनाउन सक्छस्, जसले साक्षीको भुतलाइ तेरो दिमागबाट बिस्तारै हटाउन मद्दत हुन्छ।" बिबेकले उसलाइ सम्झाउन थाल्यो।
"मैले त्यो पनि कोशिस नगरेको हैन। शायद अहिले ठिक समय होइन" उसले बिबेकलाइ सबै भन्न आबश्यक ठानेन।
"ठिकै छ नि। अहिले नभए भोली, भोली नभए पर्सी। आखिर यति लामो जिन्दगी एक्लै त बित्दै बित्दैन, तैंले कसैसङ जिन्दगी बिताउनै पर्छ।" बिबेकले त्यसपछि कुरालाइ मोड्न थाल्यो।
उनिहरु केहि बेर राजनितिको कुरा गरे, त्यसपछि शेयर मार्केटको, अनि बिबेकले शुरु गर्न लागेको नयाँ प्रोजेक्टको। उ बिस्तारै बिबेकले निकालेको सन्दर्भमा सहभागी हुन थाल्यो। ठुल्दिले खाना खान बोलाउनु भयो र त्यसपछि बिबेक उ सङ बिदा भएर गयो।
रातको ११ बज्दा पनि उसलाइ निद्रा लागेन, भोली बिहानै एउटा बिजनेस पार्ट्नर सङ भेट्नु थियो। एकछिन टि वि हेर्दै निदाउने प्रयासमा उसले फेरि रिमोट कन्ट्रोल बटार्न थाल्यो। समाचार हेर्यो, स्पोर्ट्स् हेर्यो, च्यानल चेन्ज गर्दैं जाँदा एउटा गीतमा उसको आँखा अड्क्यो, रचना साक्षीको थ्यो। उसले गीतको बोललाइ ध्यान दिएन, गायकलाइ नियालेर हेर्यो र नाम पढ्यो बिशेस "आकाश"। उ झसङ भयो, त्यो गाइनेको नाम पनि त्यस्तै बि बाट आँउछ भनेर उसले कसैबाट सुनेको थ्यो। उसले त्यसको नाममा त्यस्तो बिधि चाख देखाएको थिएन। नाम जे भये पनि त्यो गाइने उसको लागि धुलो बराबर थ्यो। गाइनेको अनुहार भन्दा पनि शरीर चाहिं कसरत गरेको जस्तो सुगठित लाग्यो उस्लाइ। पाखुराहरु बलियो, चौडा जिम् गरेको जस्तो फुकेको छाती, हाइट पनि गीतको मोडेल केटी भन्दा धेरै अग्लो थ्यो। जिउ मात्र हेर्दा चाहिं ५ जनालाइ आरामले बजाउन सक्ने जस्तो। त्यसको बिपरित अनुहार चाहि चकलेटी थ्यो। उसको अगाडी त बच्चा जस्तो। बच्चा भनेर के गर्नु? साक्षीले गाइनेलाइ नैं चुनी त आफ्नो जिबनसाथी उसलाइ दोबाटोमा छोडेर।
के साक्षीलाइ उसको रुप मन पर्दैन थ्यो? उ जुरुक्क उठेर बाथरुमको ठुलो ऐना अघि उभिएर आफैलाइ नियाल्न थाल्यो। उ पनि अग्लो छ, गाइने जति नभये पनि होचो भन्न मिल्दैन। अनुहार पनि नराम्रो होइन, स्कुल र कलेजका दिनहरुमा केटिहरु पछि नलागेका होइनन्। ९ कक्षामैं "लब लेटर" पठाएकि थी एउटीले। बरु जिम नगरेको चाहि थुप्रै भयो उसले, आफ्नो पुटुक्क निस्केको भुँडीलाइ हेर्दै मनमनै सोच्यो उसले। आजकाल फुर्सदै हुँदैन जिम जाने। राती अबेरसम्म कम्प्युटरमा बस्यो, बिहानै झिसमिसेमा उठ्यो, उसको आफ्नै छापाखानामा हेर्न गयो, त्यसपछि फाइन्यान्स कम्पनीमा गएर सबै कुरा हेर्नै पर्यो, एक बर्स अघि शुरु गरेको "रिसोर्ट" पनि घाटामा गइरहेको थ्यो, त्यहाँ पनि दिनको एकपल्ट भ्याउनै पर्यो। अरु सानातिना पार्टनरशिपमा चलाएका उध्योगहरु पनि बेला बेलामा हेर्नै पर्यो। यस्तो चालाले भयेन, आफ्नो शरीर पनि त फिट राख्नु पर्यो नि। जे गरेर भये पनि दिनको हप्ताको ३ घन्टा जिम जानै पर्ने ठान्यो उसले।
कोठामा आएर तुरुन्टै फोन गर्यो उसले।
"यतिखेर किन फेरि?" बिबेकले निद्राको सुरमा उठायो।
"तँ जाने जिम सेन्टरको नाम के रे?"
"हार्दिक फिटनेस सेन्टर। किन चाहियो?" बिबेकले सोध्यो।
"म पनि जानु पर्यो भनेर। भोली जान्छस्?"
"भोली होइन, पर्सी जान्छु। बिहान ६ बजे तंलाइ लिन आँउला।"
त्यसपछि उ ढुक्क भएर सुत्यो।
भोलीपल्ट बिहानै उठेर सधैं जस्तो पुतलीसडकको छापाखाना गयो, एकछिन स्टाफहरुलाइ कामको बारेमा ब्रिफिङ् गरेर त्यहाँबाट निस्क्यो। बागबजार आइपुग्दा पद्मकन्या क्याम्पसका धोती लगाएका केटीहरु देख्यो र सम्झ्यो साक्षीलाइ। साक्षी पनि बिहानको सेसनमा संगीत पढ्छे। शायद साक्षीको पनि छुट्ने बेला भयो होला अहिले। त्यही आशामा उसले बाइकलाइ एउटा कुनामा पार्क गर्यो र नजिकैको होटेलमा गएर चिया मगायो। उसको आँखा पद्मकन्या क्याम्पसको ढोकाबाट निस्किने प्रत्येक अनुहारमा साक्षी खोजी रहन्थ्यो। उसले ३ कप चिया सकायो, मोबाइल बजिराकोथ्यो, उसले उठाउदैं उठाएन, त्रिपुरेस्वरमा उसको बिजनेस पार्टनर कुरिरहेको थ्यो भन्ने कुरा उसलाइ महत्वपुर्ण लागेन। उ साक्षी भेट्न चाहन्थ्यो, नभन्दै साक्षी बाहिर केहि साथीहरुसङ हांस्दै निस्की। उसको अनुहारमा खुशीको लहर आयो।
क्रमश: