भाग-१
( यो कथा पुरै कल्पनामा आधारित भएकोले कसैको जीवन सङ मिल्न गएमा संयोग मात्र हुनेछ। )
असनबाट सुरज आर्केड निस्किने गल्ली हुँदै उसले बाइकलाइ बल्लबल्ल त्यो भिंडबाट घिसार्दै मुख्य सडक भन्दा अलि वर आइपुग्यो। आकाशमा कालो बादल भए पनि पानी पर्ने संकेत थिएन, गर्मीले उ लखतरान भैसकेको थ्यो। धुवाँ, धुलो र दिनभरीको ब्यस्तताले उ एकैछिन भये पनि चिसो पिउन भनेर मुख्य सडकलाइ जोड्ने बाँयातिरको एउटा होटेल भित्र छिर्यो। मिठाइ सङै अन्य परिकार भएको त्यो पसल उसले पहिला त्यो बाटो हिडे पनि कहिले याद गरेको थिएन। भित्र पस्नासाथै उसले शीतल महसुस गर्यो। हेर्दाखेरि होटेल सफा देखिन्थ्यो, खुला र उज्यालो पनि थ्यो। उ सरासर कुनापट्टिको मेचमा गएर बस्यो। उ एकछिनको लागि भएपनि एकान्त चाहन्थ्यो, ब्यापार, नाफा, घाटा, मिटिङ र शेयर बजार झेल्दा झेल्दै उस्को जीबन एउटा तनाबको गोला भैसकेको थ्यो। बस्नासाथै उसले चिसो कोक अर्डर गर्यो र सङैको टेबुलमा कसैले छोडेको "कान्तिपुर" हेर्न थाल्यो, समाचार भन्दा पनि "हेडलाइन" हरु पढ्न थाल्यो।
उसलाइ कसो कसो त्यहाको बाताबरण एकदम आरामदायी लाग्न थाल्यो, एउटा मिठो सुवास जुन उस्ले पहिले पनि महसुस गरेको छ, त्यही बासना फैलिए जस्तो लाग्यो वरिपरि। मानौं उ त्यहाँको प्रत्यक सुक्ष्मतासङ राम्ररी परिचित छ। कतैबाट मसिनो गुनगुनको आवाजले उसले टाउको उठाएर हेर्यो, उसको ठ्याक्कै २ टेबुलभन्दा पर दुइ युबती उ पट्टि ढाड फर्काएर बसेका थे। बेला बेलामा मसिनो हाँसो सुनिन्थ्यो। उनिहरु शायद कुनै पत्रिका हेर्दै कुरा गरि रहेका थे। पछाडीबाट हेर्दा उसले उनिहरुको उमेर अड्कल गर्न सकेन तर उ दाँया पट्टी बसेकी केटिको सेतो कुर्ता हेरिरह्यो। त्यो सेरो कुर्ता उस्ले कतै देखेको जस्तो लाग्यो, कुर्ता मात्र होइन उस्को गलाभन्दा केहि तल झरेका केशराशी पनि आत्मिय लाग्यो। होइन होइन, कुर्ता बाहिर को उसको शारिरक बनोट यस्तो लाग्यो, उस्ले त्यो शरीरलाइ चिनेको छ। गोरो ढाडमुनिको पातलो कम्मर र त्यसमुनिको घुमाउरो फुकेको गोलाइ उसले देखेको मात्र होइन अनुभुत गरेको छ। उसले "कान्तिपुर"मा ध्यान दिन सकेन, उसलाइ सेतो कुर्ता बाहिर देखिने आकर्षक शरिरले तानिरह्यो, उसलाइ त्यो शरीर प्यारो लाग्न थाल्यो, माया गरि रहुँ जस्तो। त्यस्तो अदभुत कुरा के छ र त्यो सेतो कुर्ता लाउने सङ? उसले आफैलाइ प्रश्न गर्यो र सेतो कुर्तासङै बसेकि हरियो कुर्तालाइ हेर्यो। पछाडी बाट त हरियो कुर्ता पनि उस्तै सुन्दर देखिन्थी, अझै राम्रो शरीर, लामो ढाड, चिटिक्क छिनिएको कम्मर र मन लोभ्याउने "सिल्की" लामो कपाल। तर हरियो कुर्ताले उसलाइ आकर्षण गरे पनि मनमा आफ्नै जस्तो भाव जन्माउन सकेन।
अब उसले एक्दम चनाखो भएर उनिहरुको स्वर सुन्ने प्रयाश गर्यो। दुबै स्वरहरु उस्तै उस्तै सुनिन्थे पछाडिबाट। हरियो र सेतो कुन चाहिको स्वर मधुर भन्नै गार्हो पर्यो। अगाडी गएर प्रतक्ष्य हेर्न पनि अलि अप्ठ्यारो हुने। पछाडीबाट झन धेरै कौतुहुलता जाग्ने। उस्लाइ सेतो कुर्ता लाउने को अनुहार हेर्न मन लाग्यो। शायद उसले देखेको हुनु पर्छ त्यो अनुहारलाइ। उसलाइ लाग्यो, सेतो कुर्ता लाउनेको शरीरको प्रत्येक अङसङ उ नजिकिएको हुनु पर्छ, प्रेम गरेको हुनु पर्छ। त्यो स्पर्श कल्पिएर उ एक्छिन आनन्दित भयो। एकैचोटि पछाडी फर्के पनि हुने नि सेतो कुर्ता, उसको मनमा उठिरहेको आँधी त केहि शान्त हुन्थ्यो कि। बेला न कुबेला मोबाइल बज्न थाल्यो उसको, उसले मोबाइल अफ गर्यो। उपाय सोच्यो कसरी सेतो कुर्ताको अनुहार हेर्ने भनेर। त्यतिकैमा ठुलो खित्का छुट्यो त्यो सेतो कुर्ताको टेबुलबाट, उ मात्रै होइन होटेलमा भएका सबैले उनिहरुतिर हेरे। उनिहरु फेरि खासखुस मात्र गर्न थाले। उसले राम्रो बहाना पायो, कोकको सिसी लिन आउने केटोलाइ सेतो कुर्ताहरुलाइ गएर त्यसरी हाँस्दा अरुहरुलाइ "डिस्टर्ब" हुन्छ भन्ने कुरा पठायो। त्यो केटो गएर उनिहरुलाइ केहि भन्यो। उसले सतर्क भएर प्रतिक्रिया कुरि रह्यो। उनिहरुले पनि केटोलाइ सोधे क्यारे, केटोले उ बसेको कुनामा त्यहीबाट चोर औँलाले देखायो।
"सरी" सेतो कुर्ता लाउने केटीले पछाडी फर्केर उसलाइ भनी। दुबैको नजर जुध्यो, समय केहि बेरलाइ रोकियो र फेरि पछि भाग्न थाल्यो। उसले केहि भन्नु वा सेतो कुर्ताले अरु केहि बोल्नु अगाडी उकुसमुकुस, भय र पग्लिएर नबगेको बिगतले उसको सबै उमङहरुमा प्रहार गर्यो। नसोचेको कुरा घट्यो त्यहाँ। हेर्दाहेर्दै सेतो कुर्ताको अनुहारमा संकोच र ग्लानिका रेखाहरु एक पछि अर्को गर्दै आउन थाले, सेतो कुर्ताले उसको आँखामा हेर्न सकिन। उ त्यहाँबाट हरियो कुर्तालाइ लिएर तुरुन्त निस्की हाली। उ जड भयो। आजै किन उस्लाइ यहाँ आउनु पर्यो? के काठमान्डु यति सानो छ जहाँ उसले आफुले कहिले हेर्न नचाहेको अनुहारलाइ देखि रहनु पर्छ? के जिन्दगीले फेरि उ सङ अर्को कुनै खेल खेल्न लागेको हो? यत्रो सहरमा उ नै किन भेटिनु पर्ने?
उसले आफ्नो मिल्ने साथी बिबेकलाइ त्यहीँ बाट फोन गर्यो।
"बिबेक, तँ मलाइ अहिले भेट्न सक्छस्?"
"अहिले त मि बिजि छु, किन?" बिबेकले सोध्यो।
"आज सारै नराम्रो दिन रैछ यार।" उसको स्वर सानो भयो।
"भुमिका नबाँधी भन त। मेरो यहाँ फुर्सद छैन। के भयो?"
"मैले साक्षीलाइ देखेँ।" सेतो कुर्ता बसेको रित्तो ठाँउलाइ हेर्दै भन्यो उसले।
"को? को रे?" बिबेकले फेरि सोध्यो।
"उहि, क्या त! साक्षी.... मेरो...... ।कस्तो कुरा नबुझ्या?" उसले कुरा बुझाउने प्रयाश गर्यो।
"ए ! साक्षी! बल्ल बुझे। अर्का सङ पोइला गएकी स्वास्नीको नि के कुरा गरीराको होला यसले?" बिबेकले उसले कसैलाइ नदेखाएको पुरानो घाउमा नुन छर्कियो। तीब्र पीडाले उ छटपटियो र भित्तामा अडेश लाएर बस्यो।
क्रमश:...