Posted by: chanaa_tarkaari November 4, 2008
नेपाल सम्बत हाइ हाइ .......
Login in to Rate this Post:     1       ?         Liked by

Geology Tiger जु,

सम्बतको विवादमा जाति र भाषालाइ जोडेर गोलमटोल गर्ने, विवादलाइ तथ्यपरक भन्दा भावनापरक बनाउने, गलत तथ्यलाइ जवरजस्ति प्रचार गर्ने र समाधान भन्दा पनि समस्या चर्काउने प्रवृत्ति हाम्रो समाजमा भएको कारण यस्ता विवादहरु कताबाट कता पुग्छ भेउ पाउन कहिलेकाहि गाह्रो हुन्छ । जस्तो माथि मैले कान्तिपुरको समाचार चिरफार गरेर यसको उदाहरण दिएको छु जुन समाचार गलत उद्देश्यबाट प्रेरित छ भन्ने मेरो ठहर छ । तर यस्तो गलत प्रवृत्तिद्वारा निर्देशित समाचारको विरुद्ध कतै पत्रिका जलाउने, सशक्त विरोध गर्ने, नारा जुलुस गर्ने, समस्या चर्काउने घटना भयो ? भएन । सभ्य तरीकाले बिरोध गर्न सकिन्छ, समयक्रममा यस्तो गलत प्रयासको खण्डन हुने नै छ र कान्तिपुरको साख गिर्ने नै छ । तपाइलाइ थाहा छ ? अहिले नै कान्तिपुरको साख तीब्र गतिमा गिर्दो छ, ( यसको वेब हिट अचम्मै गतिमा घटेको छ , नेपालन्यूज - ९८०००, साझा ५६०००, कान्तिपुर ३२०००, न्युजअफनेपाल २७०००, जब कि केहि समय अगाडिसम्म नेपालन्यूज र कान्तिपुरको झण्डै झण्डै बराबर जस्तो थियो, जनआन्दोलन ताका कान्तिपुरले सबैलाइ उछिनेको थियो । )

नेपालसम्बतको पक्षमा तर्क गर्दा म त्यसलाइ सर्वगुण सम्पन्न भन्ने पक्षमा छैन । कम्प्यूटरको यूगमा बसेका हामीले हज्जारौ वर्ष अगाडी चराको प्वाँख वा निगालोको ठुटोलाइ कलम बनाएर लेखापढी गर्नुपर्ने जमानामा बनाएको सम्बतका पछाडि के कस्ता अध्ययनहरु भए, कसकसले बौद्धिक योगदान गरे, आदि केहि थाहा पाउन सकेका छैनौ । हामीले अचेल भन्ने गरेका सोलार, ल्युनिसोलार वा ल्युनार भन्ने अवधारणालाइ हेर्ने दृष्टिकोण नै पनि फरक थियो होला त्यो बेला, किन भने त्यो बेलाको खगोलशास्त्रले पृथ्वीलाइ ब्रम्हाण्डको केन्द्रमा राखेर विश्लेषण गर्थ्यो । शुरुआतमा समयचक्रलाइ मापन गर्ने एउटा इम्पिरिकल मेथड पत्ता लगाइ त्यसलाइ क्यालेण्डर सिस्टम बनाइ लागू गरेको एउटा पक्ष भयो, जसमा समाजका महत्वपूर्ण घटनाक्रम तथा चाडपर्वहरु कहिले कहिले पर्नआउँछ भन्नलाइ सजिलो बनाइदियो । यस्तो क्यालेण्डर सिस्टम अथवा समयको गणना गर्ने सिस्टम सभ्यताको विकास देखि नै शुरु भएको हुनु पर्छ, जुन आजको ११२९ बर्षभन्दा धेरै पुरानो इतिहास बोकेर बसेको छ ।

११२९ बर्ष अगाडि नेपाल सम्बत शुरु हुँदा यसले एउटा कारणलाइ अगाडि सार्यो । यो कारण भनेको सम्पूर्ण नेपालबासी जनताहरुको आर्थिक स्वतन्त्रता तथा ऋणमुक्तिसित सम्बन्धित छ । तात्कालीन समयका प्रतापि राजा मानदेवको नामबाट प्रचलित सम्बतलाइ प्रतिस्थापन गर्दै शुरु भएको यो सम्बतले एउटा ठूलो क्रान्ति सम्पन्न भएको संकेत दिन्छ । साथसाथै त्यसअगाडि समाजमा विद्यमान कतिपय कुराहरु पनि समेटेको हुनु पर्छ भन्ने मेरो अनुमान छ । नत्र नयाँ सम्वतलाइ कतैबाट टपक्क टिपेर थपक्क लागु गर्न सकिदै सकिन्न । अन्य सम्बतको हकमा पनि यो कुरा लागू हुन्छ ।

अनुसन्धानको क्रममा के कुरा थाहा लागेको छ भने माथि no_quiero जु ले उल्लेख गर्नु भएको नेपाल सम्बतका महिनाहरुको नाम जुन छ, त्यसको अस्तित्व नेपालमा आजभन्दा करीव २५०० वर्ष अगाडि नै रहेछ । यससम्बन्धमा त्रिविमा एउटा शोधपत्र पनि प्रकाशित छ । नेपाल सम्बतमा प्रयोग भएको क्यालेण्डर सिस्टमको अस्तित्त्व नेपालमा २५०० वर्ष अगाडि नै रहेको देखा पर्नुले यो सम्वत शुरु हुनु धेरै अगाडि देखि नै हाम्रो देशमा मौलिक क्यालेण्डर सिस्टम थियो भन्ने जनाउँछ । यी जानकारीको निचोड के हो भने नेपाल सम्बतको विकासक्रम, महिनाहरुको नामाकरण र यसमा प्रयोग भएको विशिष्ट शब्दावलिले यसको उत्पति पनि नेपालमै भएको हुनु पर्छ भन्ने आधार दह्रो भएको छ ।

नेपाल सम्बतलाइ ब्यवहारमा ल्याउन समस्या भनेर तपाइले देखाउनु भएको २ बुँदा जो छ, त्यसमा मेरो सहमति छैन । बिक्रम सम्बत ३६५ दिनमा परिवर्तन हुन्छ, इश्वि सम्बत पनि, तर सौर्यचक्र ३६५ दिनमा घुम्ने होइन के रे । चार चार बर्षमा ३६६ दिनलाइ एक वर्ष मानेर इश्वी सम्बतले ऋतुचक्र सित समायोजन गर्न अहिलेसम्म सकेकै देखिन्छ । नेपाल सम्बतले तीन तीन बर्षमा अधिकमास थपेर सोर्यचक्र तथा ऋतुचक्र दुबैलाइ अहिलेसम्म समायोजन गर्न सकेकै देखिन्छ । नेपाल सम्बतमा देखिने प्रमुख समस्या भनेको टुट हुन जाने तिथिहरु हुन । नेपाल सम्बतको तिथिगणनामा शकसम्बतका पण्डितहरुको प्रभाव अधिक हुन गइ यो समस्या बल्झेको हो भन्ने मेरो मत छ । शक सम्बतमा तिथिहरु प्राय टुट हुँदैन, बरु छोटो या लामो हुन्छ, जसले गर्दा एकैदिनमा बिहान एउटा तिथि, दिउँसो अर्को तिथि हुन पनि सक्छ ।  एकै दिन दुइवटा तिथि पर्न आउँदा कहिलेकाहि बिहान गाइतिहार दिउँसो गोरुतिहार मान्नु पर्ने अवस्था पनि आउन सक्छ । यस्तो भएको अवस्थामा नेपाल सम्बतले कम महत्वपूर्ण एउटा तिथिलाइ टूट मान्ने, वा अगाडि पछाडि सार्ने तर महत्वपूर्ण तिथिलाइ पूर्ण दिन नै मान्ने चलन थियो । यस्तो समस्याहरु अध्ययन गरी समाधानका उपाय पेश गर्ने काम सरकारद्वारा गठीत आयोगले गर्ला भन्ने आशा छ । अथवा तपाइको सुझाव पनि काम लाग्न सक्छ ।

घोषणा गर्नु अगाडि बिशेष अनुसन्धान भएर निर्क्यौल भएको भए राम्रो हुनेथियो भन्ने भावनामा मेरो विमति छैन, तर नेपालमा धेरैजसो कुराहरु उल्टो हुने रहेछ । चुनावको दिन घोषणा भएपछि मात्रै कस्तो नियम बनाउने, कस्तो कार्यक्रम तय गर्ने भन्ने तैयारी शुरु हुन्छ नेपालमा । पहिला घोषणा गर्ने अनि बल्ल अध्ययन गर्ने अनौठो परम्परा नेपालमा नजीर बनेको छ । यस्तो नभएको भए राम्रो । तर यस्तै तरीकाले नै भएको भए पनि राम्रो घोषणा भयो भने त्यसको स्वागत गर्न किन कञ्जुस्याँइ गर्ने ? हैन त ?


तिका: जु

तपाइका कतिपय कुराहरु जायज छन, कतिपय तर्कहरुमा मेरो सहमति छ । भाषाको विवाद, जातिको विवादहरुमा अल्झिदा नेपाल सम्बतको विभिन्न पक्षमा हुन सक्ने जानकारीमुलक बहसहरु ओझेलमा पर्छ कि भन्ने लागेको छ । तपाइ यी सवालहरुमा राम्रै जानकारी राख्नु हुँदो रहेछ भन्ने त तपाइको तर्कहरुले छ्याङ्गै बताएको छ । नेपाल सम्बतको बिषयमा केन्द्रीत भइ तपाइको कलम चले यो धागोमा राम्रो सुहाउने थियो कि भन्ने मेरो धारणा ।

Read Full Discussion Thread for this article