ह्यान्डसमेन्द्रजी महाराज: यसरी बिर्खेन्द्र र पुन्टेन्द्र बिच नानाथरी शब्दास्त्रले धेरै जुग पर्यन्त भिडन्त भै रहयो।
साझेन्द्रपुर बासी: कालान्तरमा के भयो त्यसमा कुनै रहस्य नभए आज्ञा हवस।
ह्यान्डसमेन्द्रजी महाराज: कालान्तरमा डटपेनभानिया भन्ने राज्य --
खहरे: डटपेनभानिया हैन होला महाराज पेन्सीलभानिया होला --
ह्यान्डसमेन्द्रजी महाराज: झ्याकने खहरे, पण्डीत तँ कि म? जेसुकै भानिया होस आखिर कलमै त हो -- पेन्सील होस कि डटपेन किन जान्ने हुनु पर्ने?
साझेन्द्रपुर बासी: हो हो प्रभो कलमै त हो -- त्यस पछि के भो सो को आज्ञा होस --
ह्यान्डसमेन्द्रजी महाराज: म:मेस्वरको मध्यस्तामा कसरी अति उत्तम मांसपिण्ड, मादक सर्बत एबम् आयातित धुम्रमा मग्न भै सन्धी भयो बिर्खेन्द्र र पून्टेन्द्र बिच सो कहुँला भन्ने थ्यो -- अब भन्नाको मन भएन --
साझेन्द्रपुर बासी: के भन्नाको मन छ त प्रभो? -- त्यो बिर्खेन्द्रले दुईटा सूर्य देखेको प्रसंग आज्ञा हवस् फेरी सुन्नाको मन छ हामीलाई --
ह्यान्डसमेन्द्रजी महाराज: पूर्बकालमा पून्टेन्द्र र बिर्खेन्द्र बिच घनिस्टता हुँदाको कुरा हो--बिर्खेन्द्रले कुखुराका साँप्रा-यज्ञमा पून्टेन्द्रलाई टेउसास आमन्त्रण गरेका थिए। त्यस्ता साँप्रा यज्ञ, द्युत, औ मादक सर्बत पान जस्ता कर्ममा पून्टेन्द्र बाल्यकाल देखिनै तेज थिए। टेउसासमा गरीएको उक्त यज्ञमा अन्य महारथीहरु पनि उपस्थित थिए। त्यहाँ साँप्रा-यज्ञमा पून्टेन्द्र स्वयम् हवन कर्ता भएका थिए अग्निलाई साप्रा चढाईसके उप्रान्त मादक सर्बत चढाउँदै प्रसाद साँप्रा लडाउँदै गर्दा थिए।
यज्ञ चलिरहेको तर साँप्रा प्रसादको नाममा गन्ध मात्रै पाएका अन्य महारथीहरुले गन्धेप्रसाद मात्रैले नहुने रोष ब्यक्त गर्दा के रहेछ स्थिती भनी बुझ्न बाहिर निस्केका बिर्खेन्द्रले "लोल! दुईटा सूर्य देखें मैले त -- एउटा आकासाँ एउटा बालदरीमा" भनी ब्यंग गरेको सुनी लाल लाल नेत्र गरी पून्टेन्द्रले बिर्खेन्द्रलाई हेर्दा भए --"
खहरे: कसरी दुईटा सूर्य त? आकासको त बुझें --बालदरीको नी?
बंगुरेस्वर: ह्या खहरे -- बिच बिचाँ बोलेर ह्यान्डसमेन्द्रजी महाराजलाई र्याग नगर न -- अब आकासको घाम पून्टेन्द्रको तालुमा टल्केर बिर्खेन्द्रले दुईटा सूर्य देखें भन्या रे के -- ल ल महाराज अगाडी आज्ञा होस --