Posted by: somewhereondearth October 19, 2008
मेरो आकाश....
Login in to Rate this Post:     1       ?         Liked by

क्लोरीन पनि धेरै हाल्न हुदो रहेनछ । पानी सफा गर्ने अर्को झोल किनेर ल्यायो साथीले । उसलाई लगाव छ, ति माछामा । तिनको अस्तित्व मा । तिनको जीवनमा । उ आफ्नो जीवनका पलहरु खर्चिन्छ माछामा । उसलाई सन्तुष्टी मिल्दछ । एक प्रकार ले ब्यक्त गर्न नसकिने  आभाष ।  यो मुल्यवान हुन्छ । मलाई त्यो लगाव छैन । म त्यो भावना पाउँदिन । यो उसको जीवन हो । म भिन्न छु ।

 पानी मात्र कति पिउनु । निन्द्रा लागेन त्यो रात। खालि मन भट्की रह्यो । बिचार भट्की रहे । उनले साथी चिनाए पछि, मेरो मन शान्त रहेन सकेन । किन ल्याएकी थिईन् न मैले कहिले सोधे, न उनले भनिन् । बाटोमा त्यसै भेटिएर आएको पनि हुन सक्थ्यो । नहुन पनि सक्थ्यो । तर मनले सधै सजिलो कहाँ सोच्छ र ! बहकिनु, उत्ताउलिनु, अल्मल्याउनु थियो । मैले अनेकन कुरा सोचे । त्यो भेट मेरो हात मा थिएन, तर यि बिचार  मेरो मनका उपज थिए। म प्रसारित भई दिए ।

 तर उसको त्यो उपस्थिति नै मेरो माया को मियो हल्लाउने पहिलो कडि भईदियो । मैले परिवर्तन देखे उनमा । जुन थिए पनि होलान वा मेरो अति सुक्ष्म अवलोक भईदियो । मेरो दृष्टी दोष हुन पनि सक्छ । उ त उ नै थिईन् ।

 सगै काम गर्ने रे । जागिर लाउन पनि सहयोग गरेको । सहयोग बिना जीवन कहां सम्भव छ र हाम्रो । तर सम्बन्धहरु नै प्रभाव परे?? म  बैङ्क मा नै थिए । मेरो जागिर थियो । म धाउंथे । प्रोजेक्ट रमाईलो नै हुन्छ प्राय: । मैले त्यहि सोचे । नाम अनुराग रे । हाम्रो हरेक भेटमा जब उसको नाम आउँथ्यो, मलाई उसको साक्षात उपस्थिति आभाष हुन्थ्यो । उसका यो गर्यो र उ गर्यो । प्रोजेक्टमा हाम्रो टिम राम्रो आदि । के के के के । मेरो मन उनको उपलब्धी भन्दा अनुराग को प्रभावशाली र अदृष्य उपस्थिति ले कुडिई रहन्थ्यो ।  म उनको खुशीमा अन्तरमनबाट हास्न सकिन ।

 मन किन हुन्छ यस्तो!  अनुराग को नाम मात्र हुन्थ्यो, म त तन र मन का साथ हुन्थे उनी संग। उनी मसंग भिजेकि थिईन् । म उनी संग गासिंएको थिए । तर पनि उनी रेशा रेशा गरेर मबाट चुडिनु मेरो कत्रो दरिद्रता!!

 उ फोटो देखाउथिन् । मोफसल घुमाईका । म हेर्दथे । पोखरा उनि सगै जाने भन्ने मेरो सपना त्यहि  तुईयो । कस्तो छोप्छ है बिचार ले बेला बेला । हामी हावाको बेग आँक्नमा ब्यस्त हुन्छौ, हातको फूल सबै उडाई सक्छ । पछि न हावा हुन्छ न फूल नै । नियति पनि के भन्नु यसलाई!!!

 अनामनगर आफैमा छरिएको थियो । उहि परिचित ब्यस्तता । उ उस्तै भएर आएकी थिई । कपाल सदा झै बाधेकी । कान को टप अर्कै थियो । मेरो आँखा पुग्यो । खै उनमा के थियो । मलाई तान्दथ्यो ।  उसलाई भेट्ने पलमा म आफुलाइ पनि बिर्सन्थे, अनुरागहरु त धेरै पर । शुक्रबारको दिन थियो क्यार । सोह्र श्राद्ध को  नवमी हुँदो हो । मेरो हजुरआमाको श्राद्ध । होसै भएन । मासु खाएछु ।


उनले तर्क राख्दै गईन् । कता कता अनुराग को प्रसंग आई रहन्थ्यो । मेरो हांसो बिस्तारै सुक्दथ्यो । मेरा खुशीहरु हराउँथे ।  उनि अगाडि हुदां हुदै मेरो मन मा बिचार को द्वन्द शुरु हुनु थियो, भयो । जरुरी थियो वा थिएन म भन्न पनि सक्दिन । मैले रोक्न सकिन मनलाई  । हो मलाई उनको  माया लाग्दथ्यो । लाग्दथ्यो भन्न उपयुक्त हुन्न । लाग्दछ । माया कहां मर्छ र!!   उ मेरो एउटा अंश ओगटेर बसेकि छन् ।

म रुखो नै भए ।  अनुराग भन्ने ब्यक्तित्व ले उपस्तथित नभईकन मलाई उ प्रति ईष्या जगायो । उनलाइ उनको तर्क प्यारो भयो । म तपि रहे । खरो भए । मलाई बिचार र तर्कमा जित्नु थिएन । उ आफ्ना बिचार लाई जिताई रहि । उनलाई अनुराग पाउनु थिएन । म उनलाई आफ्नो मन बाट गुमाई रहे, मेरै अगाडि । मैले केहि गर्न सकिन ।

यदि तिम्रो उपस्थितिको रत्ति भर महत्व हुदैन भने तिम्रो अनुपस्थिति स्वागत योग्य हुन्छ  । यहि भावना आयो । मैले कुनै तर्कलाई प्रतिवाद गरिन । प्रतिवाद त्यहां गरिन्छ जहां जित्नु पर्ने हुन्छ । म त मैले जिति सकेकि उनलाई हार्दै थिए । उनि आफ्ना तर्क राख्दै गईन् । मलाई के भएको , शायद उनले बुझिनन् या बुझ्न चाहिनन् । उनका तर्क संगै हाम्रो सम्बन्दको डोरो छिन्दै गयो । टुट्दै गयो ।

म जलेको थिए । मेरा शब्द मा मीठास भेटिनन् उनले । माया दुवै गर्थ्यो हामी एक अर्कालाई । तर हाम्रो बिछोड, मीलन भन्दा उपयुक्त ठान्यौ दुबैले । दुबै दु:खी थियौ । मेरो मात्र पनि थिएन उनको मात्र पनि थिएन, दुबै मीलेर निर्णय गरेका थियौ । 

अनाम नगरमा कुकुर भुकिरह्यो एकोहोरो । मैले न आफुलाई हार्न सके, न उनलाई जित्न ।

सांझ पर्यो । हामी छुट्टिनु थियो । मैले मोटरसाईकल एकनास ले कुराई रहे । उनलाई कुपनडोल पुर्याउने  शायद मेरो अन्तिम यात्रा थियो । त्यो बाग्मतीको पुलमा मैले जति नै जतन गरे नि ब्रेकरले हामीलाई उफार्यो । उनी पाँचै  पटक झस्किन र मेरो पाखुरा समातिन । ति अति नै मीठा पल थिए, हाम्रो धरातल त्यो बेला जे भए पनि ।

बाटो भरि उनि पनि बोलिनन् म पनि । उनको घर अगाडी उनलाई मैले छोडे । मैले मेरो एउटा अंश त्यहि छोडे । आँखा उनका पनि टिलपिल थिए, मेरा पनि । दुबै का खसेनन् । अहिले सोच्दछु । किन खसेनन् त्यो बेला । खसेका भए शायद म म नै हुन्नै उनि उनि नै । तर अहिले यि तर्क को केहि अस्तित्व छैन । जे भयो, त्यो बिगत हो । यो बर्तमान हो । मसंग उनि छैनन्  उनी संग म छैन । उनि कुपनडोल मा नै छिन । म मिलन चौक मा ।

 म आधा मन लिएर  फर्किए । मोटरसाईकल गह्रौ कुदि रह्यो । कुकुर हरु भुकि रहे । मलाई केहि भन्नु थिएन, उनिहरु को भुकाई लाई ।

 साथी दंग छ । माछा को चर्तिकला हेरेर । उ हेरि बस्छ घण्टौं । बयान गर्छ । नाम राख्छ । मैले उनलाई बोलाउने नाम कहिले राखीन । म पनि बेला बेला एकोहोरिए ति माछा मा । त्यो सिसा को बाकस मा जीवन छ । जुन बास्तविक संसार बाट बेग्लिएर पनि पुर्ण छ । संचालित छ । त्यहां जीवनका रंग छन ।

म खोक्रिएको हुं त? खोई यो पूर्ण बैचारिक हो । सापेक्षिक पनि होला शायद । न मलाई गल्ति बोधले पिरोलेको हो न अस्तित्व रक्षाको बिजय बोध । अहिले न म मा यि कुरा को बहाव छ । न जलन को लेप नै । अहिले त उनी छिन  मेरो मन मा, सबै तपसिलका कुरा फुकाएर । शुद्ध र एक्ली उ । उ अब मेरो जीवन मा आउँदिन । यो बास्तविकता हो । बिहे भई सक्यो रे । अनुराग संग होईन । उसले बोलाएकि थिई । म गईन । जानु नजानु को खासै महत्व थिएन ।  तर उ मेरो मन बाट हट्दिन । यो मेरो प्राप्ती हो । उसका लागि मेरो माया न अब घट्ने वाला नै छ । अहिले पनि उ मेरो एउटा अंश नै हो । शायद उसलाई पनि यो भाव हुंदो हो । उसको प्राप्ति त्यहि हो ।

अहिले मेरो मन स्वतन्त्र छ । म मन लागेको बेला हांस्दछु । मन  बगेको बेला रुने पनि गर्छु । यो मेरो जीवन हो । म यसलाई बाच्दै छु । म मेरो आफ्नो धरातलमा छु मेरो आफ्नो आकाश मुनि , जहां मेरा बिगतहरु, मेरा भोगाईहरु मेरा भावहरु सजिएका छन् । अनि यीनै  ले म मेरो आकाश अझ बुन्दै छु । जीवन बु्न्दै छु …………………….

 यति नै ।।।

 

meaninglessthinkings@somewhereondearth

Last edited: 19-Oct-08 03:37 PM
Read Full Discussion Thread for this article