...
"हेडमास्टरलाई सप्लाई गर्ने त उही हो --त्यै नेपालीको मास्टर --कस्ले के भन्ने? बरु अस्ति केटाहरुले समेत मागिरा -- सर हाम्लाई नी सम्झिनु न कैले काईँ --सर चै सधै शिबरात्री, फाउ मनाईदिने हामी चै ठण्डाराम --भन्दै।" ओस्ताजले सुनायो।
"दियो त मास्टरले?"
"दियो नी घुरान चैं" ओस्ताजले भन्यो।
"है अनि त्यो नेपाली लास्ट पिरेडाँ छ -- हाफ ट्याममा खा चना, केराउ, तितौरा, बरफ त्यस्ता उस्ता त कता हो कता-- भोक लागिरा बेलाँ आएर ल किताब पल्टाओ भन्छ--अनि हामी चैं भोक लागिरा छ सर पढ्नै मन छैन -- किताब हामी घराँ गएर पढम्ला बरु एउटा कथा सुनाउनुस न भन्नी के" ओस्ताजले भन्यो।
"सुनाउँछ त कथा?" झ्यालिन्चा ले सोध्यो।
"कैले सुनाउँछ कैले सुनाउँदैन -- अस्ति चै तर बोर गर्यो।" ओस्ताजले भन्यो।
"के गर्यो?" मैले सोधें।
"है --सबैले कथा सुनाउनुस न सर भन्या त कथा मैले धेरै सुनाएँ--आज तिमीहरु मलाई गित सुनाओ रे -- गीत सुनाउदै घर जाँदै गर्नी भन्यो। एक दुई जनाले त गीत गाएर बाटो पनि तताई सक्या थे-- मैले "सर मलाई गीत आउँदैन" भन्या त उसो भए किताब पल्टार घोक्न थाल रे -- अब काँ किताब पल्टाईरने? कुरै छैन नी -- मास्टरले त मलाई नै बोलाई रा झन गित सुनाउन --अब के गाउने के? --मुसु मुसु हाँसी देउ न लै लै भनेर गाला र कान रन्काउँदै गाउँदै थिए -- सुमित्राले "अहिले म तिर हेरेर मुसु मुसु हाँसी देउ भन्दा त मुखाँ हान्छु चप्पलले अनि" भनेर कराई रा भन्या --"
"को सुमित्रा?" हामी सबैको कान ठाडो भो।
"छे एउटी केटी -- धुनधानै राम्री छे--सबैले हेर्दा हेर्दा भैं मा न भाँडा भाकी छे?" ओस्ताजले सुनायो।
"त्यस्ती राम्री छे भने उस्को ठाउँ त अंगालाँ होन्त, कताको भैं र भाँडा तिर राख्न खोज्या त नी? खै बुझ्या तैले?" बाङ्गेले चुरोट सल्काउँदै सुनायो।
"त्यो त हो, तर कस्को अंगालाँ? कुरो त्याँ छन्त"
ओस्ताजले थप्यो।
"यो रात पर्दै गर्या बेला तरुनीहरुको कुरा नगर त -- झन अंगालो र संगालो रे अझ--उसै त अचेल निन्द्रा लाग्दैन" छ्याकले पिच्च थुक्दै भन्यो।
"सुमित्रालाई मैले बे गर्न पाए त सुमी भनेर बोलाउथेँ" झ्यालिन्चाले अलि पर तिर हेर्दे चुरोट झिलिक्क हुने गरी तान्यो।
"तँलाई कस्ले सोध्या थ्यो र के भनेर बोलाउँछस भनेर? दाईहरुले कुरा गरी रा बेलाँ त्यसरी बिचाँ प्वाक्क नबोल भनेर भन्या हो हैन तँलाई?" छ्याकले जिस्कायो।
"त्यै त भाउजु भन्नु पर्ने बेलाँ सुमी भन्छु रे? आँट कत्रो नी यस्को?" ट्वाकले नी पेल्यो।
"मान्छे सम्म देख्या छैन, कस्ले के नामले बोलाउनी? त्यस्तो कुरा उठ्या छ -- थुक्क जिन्दगी" सुपारीले साँच्चिकै थुकेर भन्यो।
"हैन ए बाङ्गे, तेरो घराँ त्यो बालुबा चाल्ने पनि हरिप छे नी यार -- अस्ति देख्या, हिंजो चै देखिन फेरी -- भोली आउँछे?" छ्याकले सोध्यो।
"त्यो बालुबा चाल्नेको पि ए हो म?" बाङ्गे जंगियो।
"हैन किन भड्क्या, यत्तिकै?" झ्यालिन्चाले सोध्यो।
"भडकेकी त उ छे नी -- अस्ति एक दिन चिया खान्छेस भनेर सोध्या, जम्मैले सुन्ने गरी सरापेर उत्पात गरी --" बाङ्गेले दिक्क भएर भन्यो।
हेर ओस्ताज अरु कुरा भन्या तेस्तै उस्तै हो --तैले सुमित्रा र मेरो कुरा मिलाईदिने हो भने पान्सेपचपन्न चुरोट र ट्वाँटको पिर नगरे हुन्छ। अनि बेला बेला एभरेस्ट मोमो त छदैछ। ल बिचार गर।" बाङ्गेले चौर बाट उठदै भन्यो।
गाँठको मामलामा बाङ्गे बलियो थ्यो। उस्को अफरलाई टपेर जाने हाम्रो आँट थिएन। तै पनि मनको तितो त पोख्नै पर्यो।
"त्यै त गीत गाउँदा त अब उ तिर हेर्यो रे भनेर चप्पल हान्छु भन्नेलाई यस्ले तँलाइ मिलाईदिन्छ नी अब --" मैले भनें।
"आफु सँग कुस्त गाँठ नभएर पो त -- नत्र त पट्टाई सक्थें -- बाङ्गे जस्तो पोटवाल सँग त तु पट्टिन्छे" ओस्ताजले सुनायो।
"ल अहिले घर जाँदा एक बट्टा पानसेपचपन्न लिएर जा" बाङ्गेले फुर्ती सँग सुनायो। हामी सबै झोक्राउँदै घर तिर फर्किम।
एक दुई दिन पछि सत्तेनारन थान अगाडी बाङ्गे, म र ट्वाक गफ गर्दै बसीराथिम, जगते त्याँ ढुङ्गे धाराँ नुहाएर आयो।
यो जगते पनि ओस्ताजकै इस्कुलाँ त हो नी, हैन त? ट्वाकले सोध्यो।
"ए जगते यहाँ आईज त" बाङ्गेले बोलायो।
"के?" जगतेले नजिकै आएर सोध्यो।
"तँ र ओस्ताज एउटै इस्कुलाँ हैन?" बाङ्गेले सोध्यो।
"हो, किन?" जगतेले चुरोटको लागि हात तेर्साउँदै सोध्यो।
"ओस्ताजको क्लासाँ भा सुमित्रा भन्ने लाई चिन्या छस?" बाङ्गेले चुरोट दिदै सोध्यो।
जगतेले लामो सर्को तानेर भन्यो, "ओस्ताज्या सेक्सनाँ केटी त छैनन अब --"
********