Posted by: chipledhunga August 22, 2008
Login in to Rate this Post:
1
?
Liked by
पछील्ला केही दिनहरु अत्यन्त ब्यस्तताका साथ बितेका थिए। टिकट, पैसा आदिको काम, किनमेल र नातागोता अनि साथीभाईसँगको बिदाइ भेटघाट आदिले प्रशस्त समय खाएको थियो। २०५० भाद्र ६ अर्थात् १९९३ को अगस्ट २२ मेरो नेपाल बसाइको अन्तिम दिन थियो। आईतवार परेकोले बुवा आमा दुबै जनाको अफिस छुट्टी थियो। बिहानीको खाना खाए पछि बुवालाई सपरिवार फोटो खिचाउन मन लागेछ। सपरिवार भनेको बुवा, आमा र म। किनमेल पनि सिद्ध्याउँ अनि प्रोफेसनललाई नै फोटो खिचाउँ भनेर नयाँ सडकतिर लागियो। चार पाङ्ग्रे थिएन हाम्रो। सपरिवार कतै जानु पर्यो भने म चाँही मेरो साईकलमा (जसलाई मैले ग्लोबल एक्स्प्रेस भनी नामाकरण गरेको थिएँ, स्कुल पढ्दा रानीपोखरी र पानीपोखरी बीचको अन्तर्महासागरीय बाटो तय गर्नु पर्ने भएकोले अनि अरु बेला त्यसैमा जहाँ पनि जाने भएकोले), बुवा र आमा चाँही मोटरसाईकलमा जानु पर्थ्यो। बुवा एकदम सचेत चालक तर म चाँही आँखै नहेरी कुदाउने भएकोले समयको त्यति धेरै अन्तर हुँदैन थियो एकै समयमा निस्किए पनि। जे होस्, फोटो कन्सर्नमा तीनै जनाको सामूहिक फोटो खिचाएर बाँकी किनमेल अलिअलि गरेर घर फर्कियौं। फेरि सानोतिनो फोटो सेसन चल्यो। कुनै बुवासँग, कुनै आमासँग, अनि ग्लोबल एक्स्प्रेस सहितको एउटा अनि कुकुरसँग एउटा। साँझमा सुटकेस पोको पार्ने काम भयो। बुवा आमासँग केही गम्भिर केही ठट्यौला अनि केही सामान्य कुराकानी भए।
सामान्यतया मेरो निंद्रा कुम्भकर्ण मार्काकै भए ता पनि त्यो रात भने अनिंदो रह्यो। मनमा अनेक कुराहरु खेलिरहेका थिए। उत्साहित थिएँ नयाँ ठाउँमा नयाँ जीवन शुरु हुन लागेको भनेर। डर पनि लागिरहेको थियो, परिवारबाट टाढा अनि नितान्त भिन्न ठाउँमा एक्लै सर्दाको ट्रान्जिसन् कस्तो हुने हो, त्यहाँ पढाईमा सफल हुन सक्ने हो कि होइन, त्यहाँको बाताबरणमा घुलमिल हुन सक्ने हो कि होइन आदि आदि कुराहरुको। बल्ल बल्ल अलिअलि सुतियो। भोलिपल्ट बिहान पनि यताउती केही गरुँ कि भन्यो, फोन अनि घरमा मान्छेहरु आउने क्रम पनि बाक्लै थियो। घरैबाट एअरपोर्ट जानेको पनि ठुलै जत्था बन्यो।
हाम्रो घर मूल बाटो भन्दा केही भित्र भएकोले एउटा ट्याक्सी बाहिरबाट खोजेर ल्याउनु पर्यो। त्यसैमा हामी ३ जना र अर्को एक जना चढ्यौं। अरु कोही आफ्नै सुरमा एअरपोर्टतिर लागे भने कोही आफ्नो बाटो लागे। सिमसिम पानी परीरहेको थियो। कुपन्डोलतिरको बाटोमा खाल्डा खुल्डी धेरै भएकोले हिलाम्य थियो। कुपन्डोलबाट ट्याक्सी उत्तरतिर मोडियो, बागमतीको पुल तरेर थापाथली हुँदै माइतिघरसम्म। सोच्दै थिएँ, दैनिक जसो हिंड्ने गरेका यी बाटाहरुमा अब फेरि कहिले आइने हो भनेर। केही बेरमै नयाँ बानेश्वर, तीनकुने, सिनामंगल हुँदै बिमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलको अगाडि रोकियो। पानी पर्न पनि रोकिएको रहिछ।
सामान बोकिदिन खोज्नेहरुलाई पर्दैन पर्दैन भन्दै भित्र पसियो। बुवालाई पनि भित्र जान दियो, "पहिलो चोटि बिदेश जान लागेको छोरा, अलमल्लिएला कि भनेर" भन्दै प्रहरीसँग अनुरोध गरेपछी। आँफै नसक्ने त होइन, तैपनि। लस एन्जलससम्म सुट्केस चेक गर्न मिल्यो, त्यहाँको भन्सार क्लेअर गरेर फेरि आन्तरिक उडानलाई चेक गर्नु पर्ने रहेछ। बैंककसम्मको लागि झ्यालकै सिट मागें। बोर्डिङ पास चाँही बैंककबाट फेरि लिन पर्ने रहेछ।
यात्रुहरु त्यहाँबाट भित्रैबाट माथि जान पाँउथे। दोस्रो तलामा अध्यागमन तर्फ छिर्ने ढोका र त्यो भन्दा माथिल्लो तल्लामा एउटा रेस्टुराँ अनि कौसी थियो। गैर यात्रुहरुले चाँही टिकेट काटेर बाहिरैबाट माथि जान पाउँथे। १९९९को ईण्डियन एअरलाइन्सको बिमान अपहरण पश्चात् ती सुबिधा बन्द गरिए। कौसिमा झन्डै एक दर्जन जतिकै भीड जमिसकेको रहिछ। अब त्यही त हो नि, राम्रोसँग बस्, पढ्, केटी चाँही नेपालकै बिहे गर आदि भन्ने प्रश्स्तै थिए। हामीलाई पनि त्यतै तान भन्नेहरु पनि थिए। फेरि फोटो सेसन शुरु भयो। त्यसै बीच थाइ एयरवेजको बिमान अवतरण गर्यो।
क्रमश: