Posted by: Sarkozy August 6, 2008
डा उपेन्द्को छोरी अपहरण: डेढ करोड फिरौती
Login in to Rate this Post:     0       ?        
वरिष्ठ स्नायु चिकित्सक डा. उपेन्द्र देवकोटाले एक करोड ३० लाख फिरौती तिरेर छोरी मेघालाई अपहरणमुक्त गराएका छन् ।
शनिबार अपहरित छोरीलाई छुटाउन डा. देवकोटाले प्रहरीको सहयोग मागेका थिए, तर अपहरणकारीले प्रहरी अपरेसनबारे जानकारी पाएपछि डा. देवकोटाले पैसा तिरेर मात्र छोरी फिर्ता पाएका छन् ।

रातोबंगला स्कुलमा १० कक्षामा पढ्ने जेठी छोरी मेघालाई छुटाउन डा. देवकोटाले मंगलबार अपराह्न १ बजे एक करोड ३० लाख बुझाएका हुन् । अपहरणकारीलाई पक्रन प्रहरी टोली मंगलबार पनि परिचालन भएको थियो । तर, प्रहरीलाई चक्मा दिएर अपहरणकारी फरार भएका छन् ।
डा. देवकोटा तीन छोरी मेघा, बसुधा र मञ्जरीका पिता हुन् । शनिबार मेघालाई अपहरण गर्नासाथ डा. देवकोटालाई फोन गरेर अपहरणकारीहरूले नौ करोड फिरौती मागेका थिए । देवकोटा र अपहरणकारीबीच एक करोड ३० लाखमा कुरा मिलेपछि मेघा रिहा भएकी हुन् ।
उनलाई अपहरणकारीले बुढानीलकण्ठ, हेपाली हाइटस्थित घरबाटै अपहरण गरेका थिए । प्रहरीको प्रारम्भिक अनुमानअनुसार अपहरणकारीले मेघालाई भक्तपुरमा राखेका थिए ।

छोरी अपहरणमा परेलगत्तै डा. देवकोटाले प्रहरीलाई सम्पर्क गरेका थिए । प्रहरीले गोप्य रूपमै अपहरणकारी बसेको पहिचान गरी घेराउसमेत गरेको थियो । प्रहरीले घेरेको सूचना पाएका अपहरणकारीले तत्काल प्रहरीको घेरा नहटे डा. देवकोटाकी छोरीको हत्या गर्ने धम्की दिएपछि प्रहरीले आफ्नो घेरा हटाएको विश्वस्त स्रोतले बतायो । प्रहरी र पीडितका परिवारबीच अति गोप्य रहेको प्रहरी अपरेसनको सूचना अपहरणकारीसम्म कसरी पुग्यो ? शंका उब्जिएको छ ।

प्रहरी घेरा हटेपछि अपहरणकारी समूह फिरौती रकम घटाउन उदार बनेको थियो । कुरा मिलेपछि डा. देवकोटाले अपहरणकारीलाई रकम बुझाएका थिए । अपहरणकारीहरूले रकम पाएको ४५ मिनेटमा रिहा गर्ने वचन दिएका थिए । तर, डा. देवकोटाले मंगलबार अपराह्न १ बजे रकम बुझाए पनि मेघा चार बजे रिहा भएकी थिइन् । रकम लिन आएका अपहरणकारीले कालो मुकुण्डो लगाएको देवकोटाले प्रहरीलाई बताएका छन् ।

अपहरणबारे कतै जानकारी दिए परिवारका सदस्यमाथि पुनः आक्रमण गर्ने धम्की दिइएको निकट पारिवारिक स्रोतले बतायो । अपहरण काण्डपछि डा. देवकोटा तनावमा छन् । छोरी अपहरणको सूचना पाएपछि उनी अस्पतालसमेत गएका थिएनन् । उनी तीन दिनपछि बुधबारबाट मात्र अस्पताल गएका थिए । अस्पतालकी एक कर्मचारीले बुधबार भनिन्, 'ए, उहाँ त बिरामी हुनुहुन्थ्यो, आज (बुधबार) मात्र अस्पताल आउनुभएको छ ।'

प्रहरीले एआइजीको नेतृत्वमा विशेष टोली गठन गरी अपहरणकारीको खोजी सुरु गरेको छ । स्रोतका अनुसार सो टोलीले बुढानीलकण्ठ हेपाली हाइटमा डा. देवकोटाको घरमा गएर पीडितको बयान लिइसकेको छ ।
तर, महानगरीय प्रहरी अपराध महाशाखाका जिम्मेवार अधिकारीले डा. देवकोटाकी छोरीको अपहरणबारे कुनै जानकारी नभएको बताए । विश्वस्त स्रोतका अनुसार महाशाखाले सम्बन्धित प्रहरी निकायमा अपहरणको बारेमा सञ्चारकर्मीहरूसित केही नबोल्ने आदेश जारी गरेको छ । एक प्रहरी अधिकारीले भने, 'कसैले यस विषयमा सोध्यो भने थाहा छैन भन्नु भन्ने आदेश छ, बोल्यो भने त जागिरै जान्छ ।'

अपहरण भएको क्षेत्र हेर्ने जिम्मेवारी पाएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका इन्चार्ज डिएसपी विकास खनालको बोली पनि उस्तै छ । उनले न घटनाको बारेमा अनभिज्ञता देखाए न जानकारी नै दिए । उनले भने, 'यसबारेमा डिएसपीलाई केही जानकारी नै रहेनछ भनेर त नलेख्नु होला, तर मलाई धेरै कुरा जानकारी छैन, यो विषयलाई माथिबाटै डिल गरिएको छ ।'
बुढानीलकण्ठ प्रभागका प्रहरी निरीक्षक गोविन्द अधिकारीले नयाँ पत्रिकासित भने, 'पीडितहरू मेरै एरियामा बस्ने हुन्, डक्टरसाव सम्पर्कमा आएका छैनन्, न पीडितले केही भनेको छ न माथिबाटै कुनै जानकारी आएको छ, मलाई त पत्रकारले फोन गरेर सोधेपछि मात्र जानकारी भएको हो ।'
Read Full Discussion Thread for this article