त्यो थापाथलीको किच्कन्याको मैले सुनेको कथा चाँही यस्तो थियो।
त्यस्तै ४५-४६ सालतिरको कुरा हो। जाउलाखेलका हरि बहादुर दाइ आफ्नो रातिको डयुटी सिद्याएर घर फर्किदै रेछन। त्यो सिंह दरबार अगाडिको शहिद गेट पट्टिको त्यो बिना खोलाको पुल (नेसनल ट्रेडिङ माथिको) बाट आफ्नो साइकलाँ बिस्तारै आउँदै रेछन। अनी त्यो बिना खोलाको पुलमा एउटी आइमाई एउटा दुधे बालकलाई दुध खुवाउदै बदम भुट्दै रेछिन रे। असाध्य राम्री त्यो आईमाईलाई देखेर हरि दाईको मन भाँडिएछ र गफ हान्न पर्यो यसलाई भनेर नजिकै गएछन। तर यती राती हुँदो बदम बेच्न त कोइ नी बस्दैन, बुढाको मनमा चीसो पसेछ, र
"ए दिदी, यती राती तिमी यहाँ के गरी रा हँ?" भनेर सोधेछन।
त्यो आइमाईले, "बदम बेचिरा', देखेनौ?" भनेर झर्केर भनिछे।
अनि हरि दाइले पनि हौसिंदै
"खै एक मानो मलै नि हाल न त" भनेर मागेछन् नजिकै गएर।
अनि त्यो आइमाईले त्यो तात्तातो हाँडि नाङै हातले समातेर बदम खन्याएर भनिछे, "ला नी भे, यो सप्पै लैजाऊ।"
त्यहि बेला हरि दाइले त्यसको हात देखेछन्। हात त भुत्लै भुत्ला भ'को या लामो लामो नङ्ग्रा गर्या रेछ रे।हरि दाइले अनि त्यसलाई नियालेर हेरेको त कुर्कुच्चा नि पछिल्तिर फर्केको अनि पेट पनि सारङ्गी जस्तै खोक्रो रे छ् रे।
हरि दाइको पालो त्याँ बाट गोलीको बेगमा तुफान भागेर एकै पल्ट सिंहदर्बार अगाडि आइपुगेछन्। र माईतिघर तिर आउनै लाग्दा एउटा रिक्सा पनि तेतै जादै रे छ। अनि हतपत्त रिक्सा चड्दै त्यसलाई कुपन्डोल जान भनेछन्। जाँदै गर्दा थापाथलीको पुल आइपुग्नै लाग्दा हरि दाइले त्यो रिक्सावालालाई, "हेर दाइ, अघि मैले त्याँ सिंहदर्बार अगाडी एउडि किच्कन्या देखेको, अनुहार हेर्दा बिछ्ट्ट राम्री थी, तर मैले त्यसको पेट र कुर्कुच्चा हेरेर थाह पाएँ अनि टाप ठोकेर आ' को त्याँ बाट", भनेर अघिको घटना सुनाएछन्। त्यो रिक्सावालाले पछाडि फर्केर मुसुक्क हाँस्दै हात देखाउँदै भन्यो रे, "त्यसको हात चाहिँ यस्तै थियो होला हैन?"
हरि दाइले हात हेरेको त त्यै किच्कन्याकै जस्तो भुत्लै भुत्ला भ'को लामो लामो नङ्ग्रा गर्या र'छ रे। अनि हेर्दा हेर्दै त्यो रिक्सावाला पनि त्यहि किच्कन्यामै बदलिइछे रे। र हरि दाइ त्यो झट्का सहन नसकेर त्यहि ढलेर मरेछ रे (भूत भाषामा भन्न पर्दा किच्कन्याको बान लागेर मरेछ रे)।
* * * * * * * * * * * * * ** * * * * * *
यो घटना हाम्लै त्यस्तै कुनै जाडोको एउटा रात आगो ताप्दै गर्दा राम दाइले सुनौदै थ्यो। अनि एउटाले रामदाइ लै सोध्यो,
"यो घटना अरु कसैले देख्या जस्तो त छैन। अब हरि दाइ त मरिसक्यो, भने, तँलै कल्ले आ'र यो सबथोक भन्यो त?"
रामेले जवाफ दियो, "खै, मलै नी शिबदाइले भन्याँ हो, अरु था' छैन।"
यो किच्कन्या, भूतको कथा भन्या सबै यस्तै हो।