Posted by: dipika02 July 31, 2008
सम्बन्ध
Login in to Rate this Post:     0       ?        

भाग ४...

बिहेको लगतै पछी सपनाको को Visa Interview थियो। भिसाको स्ट्याम्प लाग्यो। नातेदार सँगको भेटघाट र बिदा-बारी मा अर्को एक हप्ता बित्यो। सपना र निरन अमेरिका आए।
 
पहिलो पटक आफ्नो घर भित्र छिरी सपना। खासै सामानहरु धेरै केही थिएन, तर न्यानो लाग्यो उस्लाई आफ्नो घर। त्यो घर घर मात्रै नभएर उनिहरुको सपना थियो। त्यती लामो यात्रा को थकान पनि महसुस गरेनन दुबैले। निरन ले सपनालाई घर आगन सँग परीचित बनायो।
 
फर्केको हप्ता नै निरनले सपनालाई समुन्द्री तट मा पुर्यायो र नजिक को शहरहरु घुमायो। जम्मा पाँच दिनको बिदा बाँकी थ्यो। काममा नयाँ प्रोजेक्ट नआएर कामदारहरु भटाभट निकालि रहेको थियो। त्यस्तो स्थितिमा निरनले अरु बिदा थप्ने सोचेन र त्यही पाँच दिनमा जान भ्याउने शहरहरु देखायो। सानो सानो कुरामा पनि निकै खुशी देखिन्थी सपना, र निरनलाई सपनाको त्यही बानी सबै भन्दा प्यारो लाग्थ्यो।
 
निरनको काम सुरु भयो। उ बिहान निस्किन्थ्यो, सपना उठेर चिया बनाउथी। चिया मग मा खनाएर निरन काममा हिड्थ्यो, सपना फेरी सुत्थी। पछी उठ्थी र घरकै कामहरु गरेर बस्थी। गाडी चलाऊन त आउथ्यो तर यहाँको नियम र बाटो हरु थाहा थिएन, त्यसैले कतै जान सक्दिनथी। निरनले सिकाउने फुर्सद पनि पाएको थिएन। उस्को काम मा निकै नै धर्मर थियो त्यसैले झन ढिलो सम्म बस्नु पर्ने हुन थालेको थियो। सपना घडी हेरेको हेर्यै हुन्थी, निरन थाकेर आउथ्यो। सपनाको हसिलो अनुहार देखेर सबै थकाई बिर्सन्थ्यो र उस्को अँगालोमा बाँधिन्थ्यो।
 
दिनभरी घरमा बन्दी जसरी बसेको हुन्थी सपना। उस्लाई घरको लागि धेरै कुराहरु किन्नु थियो तर गाडी नभैकन कतै जान नसकिने भएर घरमै बाँधिएर बसेकी हुन्थी  र निरनको प्रतिक्षामा हुन्थी। निरन आएपछी बाहिरतिर निस्किन्थे दुबै। सपना सुशिल थीइ, सुन्दर थीइ, तर व्यबहारिक पटक्कै थीइन। उस्ले कहिले व्यबहार गर्नु परेन। सधैं बाबा मामु सँग बसेकी। हरेक इच्छाहरु पुरा हुन्थे उस्का उस्ले आफुले व्यबहार गर्नै सिकिन।  निरनले पनि पहिले व्यबहार गर्नु परेको थिएन तर अमेरिका आएपछी उस्ले धेरै सिक्यो। मेहेनत गर्न सिक्यो, पैसा को महत्व सिक्यो। र बिस्तारै परिस्थितीले गर्दा व्यबहारिक हुँदै गयो। सपनाले भने त्यो मौका पाएकी थीइन अझै।
 
"हेर त, हाम्रो घर कस्तो खाली-खाली जस्तो लाग्दैन तिमीलाइ? घर भनेको त अली भरीभराउ हुनु पर्ने।" सपना बेला बेलामा गुनासो गर्थी र गुनासो ले  निरनको कानमा प्रहार गर्थ्यो।
 
"काम को भर छैन, हातमा green card छैन, सामान मात्रै जोडेर के गर्ने?"---निरन को आफ्नै रेडिमेट जवाफ थियो। 
"घरमा पनि डेरा जस्तो गरेर के बस्नु? हरेक कोठामा खाटको सेट, भित्ताको रङ अनुसारको गलैचा, त्यस्लाई सुहाउदो पर्दा र भित्तामा पेन्टिङ सम्म त हुनु पर्‍यो नि निरन" --त्यो  सपनाको सपना थ्यो र निरनलाई भन्थी।
 
"अली पछी बिस्तारै किनौ ला नि हुन्न?" सपना को सपनाहरु को सुची लामै थियो। निरन आफ्नु स्थिती सम्झिन्थ्यो अनी अली हिच्किचाउथ्यो। तै पनि सपना लाई निरास भने पार्न चाहदैनथ्यो।
 
"पछी पनि किन्नै पर्छ अहिलेनै किने भै हाल्यो नि"--- सपना जिद गर्थी। निरनको हरेक बिरामीको उपचार थियो सपना सँग।
 
सामान किन्दा सानु कुराहरुमा आँखा लाग्दैनथ्यो सपना को । उस्ले छानेका सबै महङो नै हुन्थ्यो। निरन अहिले चाहिने मात्रै किनौ, फजुल खर्च नगरौ भन्थ्यो। सपना सबै चाहिन्छ भन्थी। निरन हैरान हुन्थ्यो र केही नभनेर चुपचाप बस्थ्यो। प्रश्न-जवाफ-प्रतिप्रश्न को यो क्रम धेरै चोटी दोहोरियो, बिहा भएको पहिलो महिना मै। कहिले सम्बाद लम्बिन पुग्यो। सपना ले आँखा भरी आशु पारेर "मेरो लागि होइन नि निरन सबै घरकै लागि हो" भने पछी निरनको मन पग्लिन्थ्यो। क्रेडिट कार्डमै पैसा चढाएर भए पनि सपनाले देखेको सपनाको संसार लाई बिस्तारै भरी दिन थाल्यो।  
 
निरन आफ्नो पिरहरु सपनालाई भन्दैनथ्यो। कामको भने अली पिर नै थियो उस्लाई। फेरी अब त उस्ले आफ्नो मात्रै होइन सपनाको बारेमा पनि सोच्नु पर्ने थ्यो। सपना एम. बि. ए. गर्न चाहन्थी र घर नजिकै को युनिभर्सिटी भने अली महङगो थियो। तर निरनको एउटा पिर भने कम भएको थियो, घर को लागी किनमेल सबै सिद्धियो। घर भरियो सपनाले चाहे जस्तै सामानहरुले। 
 
नेपाल बाट फर्केको केही महिना पछी निरनको जन्मदीन आयो। सपना एक हप्ता अगाडि देखिनै निकै उत्साहित थीइ। जन्मदिनको दिन निरन सधैं झै चिया हातमा लिएर काम गयो। सपना बिहानै उठेर पूजा पाठ गरी। निरनको दिर्घायुको कामना गरी, आँफैले केक बनाइ। निरनलाई मनपर्ने कुराहरु पकाइ। घर बेलुन र कागजका रिबनले सजाइ। निरनलाई केही थाहै दिइन। उता निरनले भने सपनालाई थाहै नदिएर डिनेर को लागि दुइटा टेबल रिजर्भ गर्‍यो। सपना निरन आउनु अगाडि सबै तयार बनाएर राख्नको लागि दिनभरी हतार हतार घर सजाउने र पकाउन गर्न थाली। बेलुका निरन आयो। ढोका खोल्दा सजिएको घर, निलो सारी र स्रिङ्गारमा सजिएकी श्रीमती देखेर हर्शित भयो।
 
सपनाले डाइनिङ टेबलमा खानाका पारीकारहरु राखेकी थीइ। घरभरी मैन बत्ती बालेकी थिई। टेबल मा वाइन को बोतल र दुइटा गिलास ठीक पारेकी थीइ। निरनले टेबल रिजर्भ गरिसकेको कुरा सपनालाई सुनायो। सपनालाई घरमै जन्मदिन मनाउन मनथ्यो, त्यसैले निरनले टेबल क्यन्सल गर्‍यो। 
 
सपना भित्र गइ र जन्मदिनको उपहार भनेर ठुलो बट्टा लेराएर निरनलाई दीइ। निरन छक्क पर्‍यो। सपना एक्लै किनमेल गर्न जानलाई गाडी चलाऊन सक्दिनथी। निरनको अगाडि केही किनेको निरनलाई थाहा थिएन।
 
निरनले बट्टा खोल्यो। केही दिन अगाडी पसलमा नकिनी छाडेर आएको त्यही लेदरको कोट देखेर झस्क्यो। त्यो कोट सपनालाई निकै मन परेको थियो र निरनलाई एकदम सुहाउछ जस्तो लागेको थियो। निरनलाई भने खासै मन परेको थिएन तर सपनाले मन पर्‍यो भनेको भएर लगाइ हेर्यो। सुहाएको जस्तो उस्लाई पनि लाग्यो, तर पैसा हेर्दा $९०० देखेर पैसा अनुसारको लुगा जस्तो लागेन। "मलाई लेदरको कोट मन पर्दैन त्यती फेरी यती पैसा हालेर कहाँ जाँदा नै लगाइन्छ र?" निरनले मनमा लागेको कुरा भन्यो। सपना फेरी निरनको मन बुझ्न असफल भई। उस्ले सोची निरनलाई मन परेको थियो तर महङगो लागेर निरनले किनेन। उ केही बोलेकी थीईन त्यती बेला। मनमनै work permit आउने बित्तिकै म पनि काम गर्न सुरु भनेर सोची।
 
उस्ले निरनलाई जन्मदिनमा त्यही उपहार दिने सोची। बिहेमा आएको उस्को आफ्नै पैसा बाट किन्ने बिचार गरी। एक्लै जान सक्दिनथी त्यसैले निरनको सात बर्ष सम्म सँगै बसेको सबै भन्दा मिल्ने साथी बिशाललाई भनी र उही सँग गएर किनेकी थीइ। त्यती पैसा हालेर किनेको र बेक्कारमा बिशाललाई दु:ख दिएको निरनलाई मन परेन। उ आफु पनि सकेसम्म अरुलाई दु:ख दिदैनथ्यो र अरुले दिएको पनि मन पराउदैन थ्यो।

"यती महङगो किन किनेको अहिले, आखिर म यो कहाँ नै जाँदा लगाउछु र?" --  चाहेर पनि उस्ले आफ्नो आक्रोसलाई दबाउन सकेन। 
 
"यो मैले आफ्नै पैसाले किनेकी हो, तिमीलाई सुहाएको भएर।" रुन्चे आवजमा सपनाले भनी।
 
"कुरा तिम्रो र मेरो पैसा को होइन सपना, कुरा तिम्रो फजुल खर्च गर्ने बानी को हो" --- निरनको आवज झन चर्को भयो।
 
सपना केही नबोली आँखा भरी आशु पारेर कोठामा गैइ। दिनभरीको उस्को मेहनत र उत्साह एक पल मै चकनाचुर भयो।
 
निरनको मन  छताछुल्ल भयो। फकाउन उस्लाई कहिले आएन। आँखा बन्द गरेर सोफामै पल्टिरह्यो। फेरी आँखा खोल्यो सजिएको घर र सपनाको मेहनत प्रती माया जाग्यो। सम्झाएर भने हुने कुरालाई आक्रोसमा आएर भनेको देखेर आँफै सँग रिसायो। कोठामा गयो। सपना भित्ता पट्टी फर्केर सुतेकी थीइ। उस्ले "सपना" भनेर दुई चोटि बोलायो। सपना बोलिन। ढोका लगाएर बाहिर गयो। मनमा आँधी चल्न थाल्यो। थाम्ने प्रयत्न जती गर्‍यो आँधी झन झन उर्लदै थ्यो।
 
सपना निदाएकी थीइन। सकोस पनि कसरी? जन्मदिनको दिनमा पनि रिसाएर बस्न। आशुको भेल सँगै उस्का उदासिहरु पनि बगेर गए। परेली भिजेकै थिए। त्यही भिजेको परेली लिएर बाहिर गइ। निरनको छेउमा बसी र उस्को छातीमा टाउको राखी। निरनले सपनाको कपाल बिस्तारै सुम्सुमायो र सपनालाई अझ छातीमा टाँसेर टाउकोमा प्रेमपुर्बक चुम्यो। सपनाले टाउको उठाएर निरनको उदासी आँखाहरुमा हेरी। सपनाको आँखामा आफु प्रतिबिम्भित पाएर निरनको मनमा धेरै बेर देखी चलेको आँधी सपनाको एक हेराइमै थामियो।  

क्रमश:  

Read Full Discussion Thread for this article