Posted by: sonoma July 23, 2008
Login in to Rate this Post:
0
?
प्रशान्त तामाङ नेपालीको गौरव कि सोनीको लैनो गाई ?
डा. प्रदीप भट्टराई
- भनिन्छ, सत्य सधै तीतो हुन्छ, अप्रिय हुन्छ। केही समय यता मेरो दिमागमा
एउटा यस्तै अप्रिय सत्य बास बस्न आइपुगेको छ। तर, जतिबेला यो सत्य ममा
पाइतो सरेको छ, त्यतिबेलै मानिसहरु एकनासले त्यस सत्यलाई आँखा चिम्लेर
एउटा कात्तिके विवाहमा जन्ती गइरहेका छन्। म त्यो दृश्य पनि धेरै दिनदेखि
एकनासले हेरिरहेको छु। कहिले काठमाडौंमा त कहिले बुटबलमा, कहिले पोखरामा
त कहिले धरानमा पटकपटक देखिएको त्यो कात्तिके जन्ती र त्यसका लागि आवश्यक
वातावरण बनाइदिने फोबञ्जारी सञ्चारकर्मलाई पनि एकनाशले हेरिरहेको छु।
त्यसका लागि पस्किएका एड्भोर्टरिल्स, इन्फोमर्सियल्सलगायतका सञ्चार
सामग्रीहरु र ती सामग्री पस्कने खेताला सञ्चारकर्मीहरुको थप जन्ती पनि
देखिरहेकोछु।
प्रसंग यो बेमौसमी विवाह र त्यसका बेहुला प्रशान्त तामाङको हो। सोनी
टेलिभिजनले एउटा कार्यक्रममार्फत् इन्डियन आइडल बनाएका यी नेपाली मूलका
भारतीय तन्नेरीको प्रशंसामा मैले यही पत्रिकामा लेखेको थिएँ, भारतीय
हैकमवादविरुद्ध उठेको नेपाली शान अर्थात् प्रशान्त। प्रशान्तलाई इन्डियन
आइडल बनाउन नेपालमा देखिएको अभूतपूर्व प्रशान्त प्रेम र त्यसको
परिणामस्वरुप उनलाई प्राप्त भएको सफलतामा नेपालमा देखिएको हर्षबढाईंको
पछाडि मलाई लागेको कारण त्यही थियो। हुन पनि नेपालमा एउटा व्यक्तिको
सफलतामा त्यति धेरै खुसियाली मनाइएको इतिहास अभिलेखमा पाइँदैन, त्यसमा
पनि एकजना प्रवासी नेपालीका पक्षमा वास्तवमा यो आफैमा एक चमत्कारिक
प्रतिक्रिया थियो। यता नेपालमा जुन मानकमा चमत्कारिक हर्ष बढाईं भइरहेको
थियो, त्यही बेला भारतमा भने प्रशान्तलाई लिएर रंगभेदी तथा वर्णवादी
प्रतिक्रियाहरु सार्वजनिक भइरहेका थिए। जहाँ प्रशान्त इन्डियन आइडल बने,
त्यहाँ उनको चर्चा पूरै सेलाइसकेको थियो। त्यसलाई सेलाउन स्वयं टेलिभिजन
पनि लागेको थियो। तर यता नेपालमा भने प्रशान्त ज्वरो यति चढेको थियो कि
एक किसिमको बुहलीपनाकै हैसियतमा चढेको थियो भने पनि हुन्छ। नेपालीको यही
पागलप्रेमलाई सोनी टेलिभिजनले सेन्टिमेन्टल ब्ल्याकमेलिङ गर्दै
प्रशान्तका लागि नेपाल बजार बनायो। सोनीले प्रशान्तका लागि जुन एक करोड
रुपैयाँ दिनुपर्थ्यो, त्यो उसले नेपालमै उठाउन अहिले प्रशान्तलाई आफ्नो
ब्रान्ड बनाएको छ।
मेरा एक अभिन्न मित्र तथा अग्रज पत्रकार रामरिझन यादवले कुनै एक
पत्रिकामा लेखेका पनि थिए, प्रशान्त भारतीय सांस्कृतिक प्रदूषण फैलाउने
पहाडे बाजा हो। यस्तै आशयको अर्को आलेख थियो अर्का मित्र चन्द्रकिशोर
झाको। शुरुमा त मलाई लागेको थियो, मित्रहरु मधेसी एक्टिभिस्ट भएछन्।
प्रशान्तको विजयमा भारतीय हैकमवादविरुद्ध उठेको नेपाली शान देख्ने मेरा
लागि त्यस्तो सोचाई आउनु आफैमा अस्वभाविक पनि थिएन। तर, जति जति प्रशान्त
नेपाल धाउन थाले र उनका कार्यक्रमहरुमार्फत् सोनी टेलिभिजनले लाखौंलाख
नेपाली रुपैयाँ भारत पैठारी गर्न थाल्यो, उनको स्वरमा गुञ्जेका हिन्दी
गीतहरु थप नेपालीका मुखमा गुञ्जन थाले त्यसपछि भने मलाई पनि लाग्न थाल्यो
कि, मेरा मित्रद्वय रामरिझन र चन्द्रप्रकाशले भनेको ठीकै रहेछ। सोनी
टेलिभिजनले प्रशान्तलाई कन्ट्रयाक्टबापत दिनुपर्ने एक करोड रुपैयाँ नेपाल
र नेपाली मूलबाटै उठाउने योजना रहेको सार्वजनिक गर्यो र यसबीचमा झण्डै
पचास लाख भित्राइसकेको बतायो त्यपछि भने मलाई लाग्यो, प्रशान्त भारतीय
हैकमवादविरुद्ध उठेको नेपाली शान शान केही होइन, सोनी टेलिभिजनको नेपाली
पैसा पगार्ने लैनो गाई मात्र रहेछ।
कर्णदाश, विवेक श्रेष्ठ, ओकिली, सपनाश्री, राजु लामा, संजीव प्रधान,
सरिश्मा अमात्य, शर्मिला बर्देवा, हरिश माथेमा, ममता दिपविमजस्ता एकसे एक
प्रतिभाशाली गायकहरुको सांगीतिक भविष्य अन्धकारमा पारेर विदेश पलायन
गराउन परोक्ष रुपमा भूमिका निर्वाह गर्ने हाम्रा संगीतप्रेमीहरुको यो
प्रशान्त प्रेम अचाक्लीको छ। गायकका रुपमा भन्ने हो भने प्रशान्त कुनै
पनि मानेमा माथि उल्लेख गरिएका नेपाली गायक गायिकाहरुको हैसियतमा छैनन्।
तर, तिनीहरुका संगीत सिर्जनाहरु खरिद नगर्ने, उनीहरुका कार्यक्रममा बाटो
बिर्सने यी अचम्मका संगीतप्रेमीहरु अहिले प्रशान्तले गाउने अर्काको
हिन्दी गीतहरुमा झुम्मिरहेका छन्। नेपाली कलाकारहरुका लागि ठाउँ नदिने
सञ्चारमाध्यमहरु प्रशान्तका लागि प्राइम टाइम समाचारमा लाइभ गर्न
भ्याइरहेका छन्, नेपाली कलाकारका लागि केही गर्नुपर्दा जंकीटखोज्ने
सञ्चारकर्मीहरु अहिले प्रशान्तका लागि मार्केटिङ एजेन्ट बन्ने होडबाजीमा
छन्।
यी सबै दृश्यहरु हेरिरहेको मेरा लागि कसैले यो सत्यको अर्को पाटोमा कलम
चलाउला कि, धेरै दिनसम्म आशा गरेको थियो, प्रशान्त नामको लैनो गाई पाल्ने
सोनी टेलिभिजनको यो व्यापारको पर्दाफास कसैले गर्ला कि भन्ने पनि आश
लागेको थियो, त्योभन्दा पनि बढी नेपाली कलाकारहरु यो सोनी व्यापारको
विपक्षमा आवाज निकाल्लान् कि जस्तो पनि लागेको थियो। अझ भारतीय
साम्राज्यवाद र सांस्कृतिक प्रदूषणको विरोध गर्ने माओवादी
सांस्कृतिकर्मीहरु र उनीहरुको क्रान्तिकारी दस्ता वाईसीएलले पनि केही
बोल्ला कि जस्तो लागेका थियो। तर, मौनता साँधेरै सही अरु अरु त स्वयं
ईश्वर ज्ञवालीदेखि कमरेड सागरसम्म लुरुलुरु जन्ती गए यो कात्तिके
विवाहमा। अनि बोल्ने को? कि यो बोल्नुपर्ने विषय होइन।
हुन त अहिले प्रशान्त ज्वरो चढेको छ यहाँ। त्यसमा पनि प्रशान्त अहिले
नेपालीभन्दा पनि बढी तामाङ हुँदै गएको स्थिति छ। यस्तो बेला प्रशान्तलाई
सोनी टेलिभिजनको लैनो गाई भनिदिँदा कसैलाई मर्का पनि पर्ला, कसैलाई रिस
पनि उठ्ला। तर, तर्कले ठाउँ पाउने र विवेकको अर्थ हुने हो भने जतिसुकै
अप्रिय भए पनि सत्य त सत्य नै हुन्छ नि! तपाईं आफै भन्नुहोस्,
प्रशान्तबाट आखिर हामीले के पायौं त, गरिब नेपाल र नेपालीको करोडौं
रुपैयाँ ओसार्ने भरियाबाहेक उनी के भए? उनले गाउने लोकप्रिय हिन्दी
गीतबाट हामीले कुन संगीत र संस्कृतिको पक्षपोषण भएको पायौं? के हामीले यी
प्रश्नहरुको उत्तर खोज्ने बेला होइन यो?
जब यथार्थ यो हो भने हामी किन प्रशान्तको कात्तिके विवाहको जन्ती गएर
हुँदो नहुँदो नेपाली पूँजी सोनी टेलिभिनको खातामा जम्मा गरिरहेका छौं?
हामी किन नेपाली राष्ट्रिय पूँजी भारत पलायन गर्ने अभियानको जन्ती
बनिरहेका छौं? प्रशान्त, एकजना प्रवासी नेपाली भएको या नेपाली मूलको
तामाङ भएको र टुटेफुटेको नेपाली भाषा बोलेकै भरमा उनीमार्फत् हामीले
भारतीय सांस्कृतिक प्रदूषण खप्नुपर्ने र राष्ट्रिय पूँजी पलायन
गरिहनुपर्ने हो भने यो विरोध गर्नुपर्ने विषय हो कि होइन? रह्यो सञ्चार
माध्यम र सञ्चारकर्मीहरुको कुरो, हामीले प्रशान्तको यो विलोम पाटोको
बारेमा पनि जनतालाई सुसूचित गर्ने धर्म निर्वाह गर्नुपर्छ कि आफैं त्यो
भेलमा बग्नुपर्छ?
यी प्रश्नहरुको उत्तर खोज्ने अभियानको शुरुवात हो यो, थाहा छ यो अप्रिय
सत्य हो। तर जतिसुकै अप्रिय भए पनि सत्य त हो नि! यसको उजागर गर्नु पनि
सञ्चारकर्मीको धर्म हो। त्यो धर्म निर्वाह गर्ने क्रममा प्रशान्तलाई
ब्रान्ड बनाएर व्यापार गर्ने र त्यसको हिस्सा पाउनेहरुले केही भन्न पनि
सक्लान्। तर, उनीहरुलाई मेरो एउटा विनम्र प्रयास छ, प्रशान्तलाई उसको
हैसियतमा छोडिदिनुहोस्, एउटा नेपाली मूलको युवा भारतका सयौं टीभीमध्ये
एउटा टीभीले सञ्चालन गरेको कार्यक्रममार्फत् इन्डियन आइडल बने, त्यसमा
नेपालीको पनि योगदान रह्यो। बस यति। योभन्दा बढी उनलाई नेपाली पैसा
ओसार्ने भारतीय भरिया या सोनी टेलिभिजनको लैनो गाई भने नबनाउनुहोस्। थाहा
छ, तपाईंलाई विपन्न अवस्थामा रहेको हाम्रो देशको त्यो पैसा राष्ट्रिय
महत्त्वको दृष्टिले कति मूल्यवान् छ ?
Last edited: 24-Jul-08 01:13 PM