Posted by: चेली July 14, 2008
अनुहार
Login in to Rate this Post:     0       ?        

अनुहार

( यस कथाका घटना तथा पात्रहरु बिल्कुलै काल्पनिक हुन् कसैको वास्तविक जीवनसँग मेल खान गएमा संयोग मात्र हुने छ )

माइक्रो बसबाट ओर्लिएर, कलेज तिर जाँदै थिएँ, “ हाई रश्मी” पछाडिबाट पूजाको आवाज सुने मैले । “हाई, के छ हालखबर?” मैले भनें । “ठिकै छ, तिम्रो नि, हिजो किन नआएको कलेज?” उसले सोधी । “ अलि सन्चो थिएन त्यसैले” मैले उत्तर दिएँ । “ ए!! अनि एउटा कुरा थाह पायौ ? प्रियाको बिहे हुने रे नि?” उसले भनी । “ हँ , प्रियाको बिहे, अनि प्रविन अहिले पढ्दा पढ्दै बिहे गर्न राजी भाको त ?” छक्क पर्दै सोधें मैले । “ प्रविनसँग कहाँ हो त? प्रिया जस्ती केटीले प्रविन जस्तो गाउँबाट आएर दु:ख गरेर बसेको केटासँग बिहे गर्छे होला त ? खै को चार्टर्ड एकाउन्टेन्ट रे । प्रियाले प्रविनलाई त युज गरेकी हो नि, एक्जाममा हेल्प हुन्छ भनेर ।यति भन्दा पूजाको मुहार भरि प्रिया प्रतिको उसको दृष्टिकोण छल्किएको थियो । हुन पनि प्रियालाई हाम्रो कलेजभरि कसैले मनपराउँदैनथे । पढाइमा राम्रो गर्न नसकेपछि कलेजको टपर प्रविनसँग नजिकिएकी थिइ उ । आफ्नो स्वार्थपूर्तीको लागि मात्र उ प्रविनको पछि लागेकी थिइ त्यो हामी सबैलाई राम्रो थाहथियो, तर प्रविन यी सब कुरा थाह भएपनि, थाह नपाए जस्तो गरेर प्रियाको प्रेममा मानौ पागल नै भए जस्ता भएकोथियो । “अनि प्रविन? उसलाई थाह छ यो सब कुरा? “ मैले सोधें । “ थाह होला नि, सबैलाई थाह भएपछि, ह्या उसलाई नि केही फरक नपर्ला “ पूजाले भनी । “ होइन यार! प्रविन त कहाँ त्यस्तो छ त!” म भन्न खोज्दै थिएँ, मेरो कुरा पनि पुरा नभइ पूजाले भनी – “हेर, प्रिया केटी मान्छे भएर त कहिले एउटा कहिले अर्कैलाई आफ्नो ब्वाइफ्रेन्ड भन्दै हिंड्न उसलाई केही फरक परेन, मायाको पवित्र सम्बन्धमा खेलबाड गर्दै हिंडेकी उही त हो नि! प्रविनलाई के फरक पर्छ र, उसलाई त समाजले पनि केही भन्दैन” नारीबादी, पुरुष विरोधी पूजाले आक्रोसित हुँदै भनी । “हो , त्यही त, खेलवाड प्रियाले गरेकी हो, प्रविनले त साँचो माया गरेको हो नि” साथी भएको नाताले प्रविनको पक्षमा बोलें म । “ ह्या!!! जे भए पनि उ केटा त हो! केटाहरु सबै उस्तै हुन्, अनुहार मात्र फरक ल त मेरो ल्याबमा जानु छ, गएँ है “ उसले भनी ।

पूजाका कुराहरुमा विश्वस्त हुन सकिरहेकी थिइन । प्रविन मेरो राम्रो साथी थियो, प्रोजेक्टहरुमा हामी धेरैजसो सँगै हुन्थ्यौं । उसले प्रियालाई मनपराउन र उनीहरुको सम्बन्ध अघि बढ्न थाले पछि उ निकै बदलिएको थियो । कलेज भरिकी चरित्रहीनमा नाम कहलिएकी प्रियालाई उ मुटु रित्याएर माया गर्थ्यो । उसैलाई देखेर मलाई लाग्न थालिसकेकोथियो माया साँच्चै अन्धो हुँदोरहेछ भन्ने पनि । बानी व्यवहारदेखि लिएर अरु यावत कुराहरुमा प्रविन र प्रिया बिल्कुलै भिन्न थिए । प्रियाको बारेमा सबैकुरा थाह भएर पनि, उप्रति मरिमेट्ने प्रविन, कि एकदम महान हो कि त बिल्कुल मुर्ख जस्तो लाग्थ्यो मलाई । “ यसरी प्रियाको यसरी अर्कैसँग बिहे हुने भन्ने कुरा सुने पछि कति निराश भएको होला, प्रविन, पढेलेखेको बुझ्ने मान्छे केही गलत कदम त पक्कै नउठाउला नै…” यस्तै सोच्दै लाइब्रेरी पुगें म ।

कुनाको टेबलमा बसेर पढिरहेको थियो प्रविन । उसलाई पढिरहेको देखिनु कुनै ठूलो कुरा थिएन, पढ्ने खालकै विद्यार्थी थियो उ तर आज ! उसले प्रियाको बिहेको बारेमा केही सुनेकै छैन होला जस्तो लाग्यो मलाई । म उसकै छेउको कुर्सीमा गएर बसें । “ए रश्मी ! अहिले कस्तो छ तिमीलाई सन्चो भयो ? “ उसले सोध्यो । “ हजुर भयो, तिमी यहाँ के पढेर बसेको नि?” मैले सोधें । “ त्यतिकै प्रोजेक्टको केही आइडिया पाइन्छ कि भनेर । “ यति भनेर उ फेरि पढ्न थाल्यो । उसको मनको कुरा पढ्नै सकिन मैले । मनको कुरा मुहारबाट पढ्न नखोजेको त होइन तर उसको मुहार भावशुन्य थियो त्यसबेला । यत्तिकैमा मोहित आयो । मोहितलाई हाम्रो क्लास भरि कै सबै भन्दा हाउडे विद्यार्थी भन्दा खासै फरक नपर्ला, कुन बेला के भन्दा कसलाई फरक पर्छ, उ केही विचार गर्दैनथ्यो, बोल्न पाउँदा जे पनि बोल्थ्यो । प्रविनलाई धाप मार्दै, हाँस्दै उसले भन्यो – “ वाह वाह यस्तो पो हुनुपर्छ; गर्लफ्रेन्डको अर्कैसँग बिहे हुने पक्का भइसक्यो, यो यहाँ पढेर बसेको छ, कुल यार कुल…”  मुसुक्क हाँसे जस्तो गर्यो प्रविन, त्यो मुस्कान मेरो कल्पना भन्दा धेरै बाहिर थियो, म तीनछक्क परें “ बिहे नै गर्न त उसलाई कहाँ सक्थें होला र म? मैले उसलाई छोडेको भनेर सबैका नजरमा म भिलेन बन्नु भन्दा त….” बोल्दा बोल्दै म तिर हेर्यो उसले, म छक्क परेर उसैलाई हेरिरहेकी थिएँ, बोल्दा बोल्दै टक्क अडियो उ, उसको मुहार निकै गम्भिर भए जस्तो भयो अनि उ फेरि अघि कै किताब पढ्न थाल्यो । मेरो कानमा कता कता बाट पूजाको स्वर गुन्जिए झैं लाग्यो मलाई - “केटाहरु सबै उस्तै हुन्, अनुहार मात्र फरक”

के साँच्चै प्रविनलाई केही फरक परेन त ? के साँच्चै सबै पुरुष उस्तै भावनाविहीन हुन्छन् त ? कहिले हो जस्तो लाग्छ अनि कहिले होइन जस्तोपनि । यसकुराको जवाफ मैले आजसम्म पाउन सकेकी छैन तर पूजाले भनेको त्यो वाक्य आज पनि दिमागमा आउने गर्छ -“केटाहरु सबै उस्तै हुन्, अनुहार मात्र फरक” ।।

 

 

 

 

Read Full Discussion Thread for this article