Posted by: Sarkozy July 10, 2008
बाबुराम भट्टराई को पढ्ने तरिका
Login in to Rate this Post:     0       ?        

बोर्डफस्ट संवाद डा. बाबुराम भट्टराईसँग
पुरानो अंक


2008-07-06,Sunday


२०२७ को वैशाख २० गते दिउँसो । गोर्खाको पहाडी भेगको एउटा मिडिल स्कुलमा कक्षा चलिरहेका छन् । कक्षा ७ मा एउटा भर्खर जुँगाले निहुँ खोजिरहेको खिरिलो युवा अंग्रेजी पढाइरहेको छ । आज बिहानैदेखि एउटा उत्सुकता मनमा छ, जसका बारेमा धेरै विद्यार्थीलाई अनुमान छैन । बिहानै गाउँको प्रधानको छोरा हरि ढकालले एसएलसीको रिजल्ट भएको खबर सुनाएर गएको छ । शिक्षक जो, गोर्खाको अमरज्योति मिसन स्कुलको विद्यार्थी हो, उसलाई रिजल्टमा त्यति धेरै चासो त छैन, तर कृष्णले गीतामा जति शब्द खर्चिएर 'कर्म गर फलको आशा' नगर भने पनि जाँच दिएको विद्यार्थीलाई रिजल्टको पर्खाइ भई नै हाल्छ । सो, यो तीनमहिने शिक्षकलाई पनि चासो छ ।
अमरज्योतिको एउटा विद्यार्थी चाँडै गाउँ फर्कियो । र, उसले एउटा खबर सुनायो । अब शिक्षकको खुल्दुली झन् बढ्दो छ । साढे दुई बज्यो, गाउँबाट रेडियो स्कुलमा आयो । र, कक्षा लिइरहेको शिक्षक बाहिर निस्किएर रेडियो सुन्न थाल्यो । रेडियोले भन्यो- 'आज प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक भयो । नतिजाअनुसार अमरज्योति हाइस्कुल, गोर्खा लुइँटेलका बाबुराम भट्टराई सर्वप्रथम भएका छन्' । समाचारले शिक्षकको अनुहार चहकिलो भयो । तर, रेडियो फिर्ता गरेर ऊ पुनः कक्षामा प्रवेश गर्‍यो र बाँकी पाठ पढाउन थाल्यो ।

बाबुरामका दर्जन टिप्स


करिब चालीस वर्षपछि ललितपुरको एकान्तकुनामा त्यस दिनको स्मरण गर्दा पनि डा. बाबुराम भट्टराईको अनुहारको भाव तटस्थ थियो । डाँडै-डाँडाले घेरिएको रिङरोडबाहिरको ललितपुरलाई बादलले आज निकै नजिकबाट घेरा हालेको छ । सेतो, कालो र फुस्रो बादलका झुप्पाहरू गुजुमुज्ज भएर सहरतिर ओर्लिन लागेजस्तो देखिन्छ । घरभित्र सौम्य, शालीन मुद्रामा भेटिएका डा. भट्टराई पनि बादलजस्तै शान्त देखिन्छन् । कोठामा माक्र्स, एङ्ग्लेल्स, लेनिन, माओको फोटो लहरै टाँगिएका छन् । तलपट्टि माओवादीले प्रस्ताव गरेको संघीय नेपालको नक्सा छ । पछि उनले बताए, 'यो नक्सा मैले नै डिजाइन गरेको हुँ ।' यस नक्साअनुसार उनको गाउँ अब तमुवान राज्यमा पर्नेछ, जसको सदरमुकाम उनले पोखरा घोषित गरेका छन् । देशमा आजसम्म थुप्रै विद्यार्थी एसएलसीमा बोर्डफस्ट भए । तर, बाबुराम भट्टराईको जस्तो 'बोर्डफस्ट ग्ल्यामर' न कसैको छ न हुने देखिन्छ । उनी उपत्यकाबाहिरका पहिलो बोर्डफस्टका रूपमा मात्र उनी प्रसिद्ध छैनन्, कहिल्यै दोस्रो नहुने 'जिनियस'का रूपमा उनी अझ बढी प्रख्यात छन् ।
कसरी भइन्छ सधैं फस्र्ट ? यो मेरो मुख्य प्रश्न थियो । उनले सजिलो उत्तर दिए- 'रुचि, लक्ष्य र मिहिनेतले ।' तर, यति छोटो उत्तरले म मान्ने मुडमा थिइनँ । मलाई उनको पहिलो कक्षादेखिको पूरै कथा सुन्नु थियो । उनले सुरु गरे ।
'मैले पढ्न सुरु गर्दा हाम्रो गाउँमा स्कुल थिएन ।' ल, यो त अनौठो भयो, के बाबुराम भट्टराई बिनास्कुलका फस्र्ट हुन् त ? 'त्यसो त होइन, मेरा जेठा बा हरिप्रसाद भट्टराई ज्योतिष हुनुहुन्थ्यो । उहाँले नै मलाई पहिलोपटक संस्कृतका श्लोक पढाउनुभएको हो,' उनले भने । पुस्तकको पहिलो संगतचाहिँ यिनले मुहूर्तचिन्तामणिबाट गरे । 'मैले रुद्री, चण्डी पढिनँ,' ६-सात वर्षको उमेरको कथा सम्भिmए ।

१८ सालमा उनको गाउँमा एउटा नयाँ 'चिज' को थालनी भयो । नेपाली सेनाबाट बर्खास्त भएका भक्तबहादुर भुजेल गाउँका फुच्चेहरूलाई कखरा चिनाउन तम्सिए । 'एकदिन उनले गाउँको चौतारामा गाउँका बच्चा जम्मा गरेर भर्ना लिए,' बाबुराम बिस्तारै रोमाञ्चित हुँदै गएका छन् । टाउकाको रंग तिलचामलेबाट अलि अघि बढेपछि मान्छे पुराना कुराले बढी उत्साही हुन्छ । यी माओवादी नेता पनि त्यस्तै देखिए । कक्षामा सात वर्षका बाबुरामदेखि २०-२२ वर्षसम्मका विद्यार्थी थिए । 'भुजेलगुरु टुटेफुटेको अंग्रेजी पनि बोल्थे र हरेक बिहान हामीलाई पिटी खेलाउँथे,' उनले भने ।
चौतारी कक्षाको केही महिनामा भुजेलगुरुको स्कुल एउटा छाप्रोमा सर्‍यो । एक वर्षजतिको छाप्राका बासपछि अब उनी औपचारिक स्कुल शिक्षाका लागि तयार भए । घरदेखि अढाई घन्टा पैदल दूरीमा रहेको लुइँटेलमा क्रिस्चियन मिसनरीहरूले नयाँ स्कुल खोले । बाबुराम त्यतै डेरा लिएर बस्ने गरी घरबाट बिदा भए । स्कुलले सुरुमै उनलाई तीन कक्षामा भर्ना लियो । तर, यहाँ पनि स्कुलचाहिँ थिएन । 'पहिलोपटक चौतारामा भर्ना भएको म ०१९ साल फागुन २० गते दोस्रोपटक आँपको बगैंचामा भर्ना भएँ,' उनले सुनाए । केही समय बगैंचामा पढेपछि स्कुलको भवन बन्यो । चैत र वैशाख दुई महिना पढेपछि जेठमा उनी तीन कक्षाको अर्धवाषिर्क परीक्षा दिन तयार भए । नतिजा आयो, बाबुरामको जिन्दगीभर फस्र्ट हुने रेकर्डको खाता यहीँबाट खुल्यो । 'म फस्र्ट भएँ र तुरुन्तै चार कक्षामा बढुवा भएँ,' उनले बताए । जेठबाट सुरु भयो कक्षा चारको पढाइ । मंसिरमा उनले आफूभन्दा चार महिनादेखि त्यही कक्षामा पढिरहेका साथीहरूसँग परीक्षा दिएँ । र, नतिजाले उनीबाहेक सबै आश्चर्यमा परे, फेरि पनि पहिलो हुने विद्यार्थीको नाम बाबुराम नै थियो ।

पाँच कक्षामा यिनको कक्षामा एउटा विद्यार्थी थपिए । ती थिए, उपेन्द्र देवकोटा । अर्को प्राइमरी स्कुलबाट आएका यी देवकोटा पनि तेज विद्यार्थी मानिन्थे । दस कक्षासम्मै बाबुरामपछिको दोस्रो भएर यिनले यसको पुष्टि पनि गरे । 'उपेन्द्र सधैं दोस्रो हुन्थे । उनको र मेरो नम्बरमा प्रायः सय नम्बरभन्दा बढीकै अन्तर हुन्थ्यो, उनको र तेस्रोको बीचमा पनि यति नै फरक हुन्थ्यो,' बाबुरामले भने । सयभन्दा बढीको यो अन्तर दस कक्षामा तोडियो । 'उपेन्द्रको र मेरो टेस्टमा ६९ नम्बरको फरक पर्‍यो । रोचक त के भने एसएलसीमा पनि हाम्रो ६९ नम्बरकै फरक थियो,' यो एउटा समानताको कथा थियो । यससँगै एउटा अन्तरको कथा पनि छ, एसएलसीमा बाबुराम बोर्डफस्ट भए, उपेन्द्र दसौं ।
बाबुरामलाई कहिल्यै लागेको थियो बोर्डफस्र्ट हुन्छु भन्ने ? 'कल्पनासमेत गरेको थिइनँ । जाँच राम्रो गरेको छु भन्ने चाहिँ लागेको थियो,' उनले सुनाए । रेडियोमा रिजल्ट सुनेपछि उनी सरासर डेरामा पुगे । 'डेरामा पुग्दा त वरिपरिका केटाहरू अबिर लिएर बसेका रहेछन्,' अनि बल्ल सुरु भयो 'सेलिब्रेसन' । अब भने उनलाई आमा-बालाई पनि यो खबर सुनाउन मन लाग्यो । 'भोलिपल्ट म घर गएँ । आमा-बा खेतमा काम गरिरहनुभएको थियो । उहाँहरूलाई भनेँ । तर, अर्धसाक्षर बा र असाक्षर आमालाई मेरो खबरले खासै असर पारेन । तर, बेलुकीपख मेरो गाउँका मानिसहरूले पनि अबिर लगाइदिए । अनि बल्ल बा-आमालाई पनि ए ! केही राम्रै भएको रहेछ क्यार भन्ने थाहा भयो,' उनले भने । पछि उनको स्कुलले एउटा कार्यक्रम गरी उनलाई अबिर लगाइदियो र सय रुपैयाँ पुरस्कार दियो । एउटा उत्सवको अन्त्य यसरी भयो । त्यतिवेला कुनै 'प्लस टु' थिएनन् न त पत्रिकामा विज्ञापनको चलन नै थियो । तैपनि, महिनौं समाचार र फोटो छापिने फस्र्टहरूको तुलनामा बोर्डफस्र्ट बाबुरामको ग्ल्यामर बढी चम्किलो छ ।
'फस्र्ट हुनु भनेको लत हो,' आज उनलाई यस्तो लाग्छ । 'फस्र्टलाई सधैं अर्काले जित्छ कि भन्ने डर हुन्छ, यो बडो खतरनाक आदत हो,' उनले विश्लेषण गरे- 'एउटा विद्यार्थी ९९ नम्बर ल्याउँदा बिगि्रयो भन्छ अर्को ३२ ल्याएर पास हुँदा खुसी हुन्छ ।' एसएलसीको केही समयपछि झोलामा गुन्दु्रक पोको पारेर उनी लमतन्न परेर सुतेको पालुङटारको मैदानमा झरे । 'त्यतिवेला पृथ्वीराजमार्ग खुलेको थिएन, काठमाडौं आउन जहाज चढ्नुपथ्र्यो,' सो उनी चालीस रुपैयाँको टिकट काटेर काठमाडौं छिरे । अनि सुरु भयो, जीवनको अर्को अध्याय, सहरसँग जोडिएको अध्याय । पालुङटारको जहाजले उनलाई एकैपटक अर्कै लाग्ने दुनियाँमा ल्याइपुर्‍याएको थियो ।

'स्कुलमा मलाई गणित निकै मन पथ्र्यो,' अस्कलमा आइएससी भर्ना हुनुपछाडिको कारण उनले बताए ।
'स्कुलमा मेरो गणितमा कहिल्यै ९९ नम्बर पनि आएन, सधैं सय,' उनले भने र एउटा पुरानो किस्सा सुनाए । 'हाम्रो स्कुलको हेडमास्टर केरलाका थिए । मैले सधैं सय नम्बर ल्याएको देखेर उनले मेरो नम्बर घटाउने विचार गरेछन् । आठको जाँचमा उनले कसैले थाहा नपाउने गरी एउटा प्रश्न दस कक्षाको युनिटरी मेथडको घुसाइदिएछन् । म कक्षाको सबैभन्दा जान्ने विद्यार्थी मात्र थिइनँ, माथिल्लो कक्षाका विद्यार्थीले पनि मलाई सोध्थे । मैले त्यो दसको प्रश्न भन्ने चालै पाइनँ । तर, आफ्नो 'कमन सेन्स' प्रयोग गरेर त्यो पनि हल गरेँ, मिलेछ ।' यसप्रकार यसपटक पनि उनले सय नै ल्याए । 'म दस कक्षामा पुगेपछि एक दिन हेडसरले नै मलाई यो कुरा बताए,' उत्साही मुडमा उनले भने ।

बाबुराम जम्माजम्मी अंकमा मात्र फस्र्ट हुन्थेनन्, 'म हेरक विषयमा फस्र्ट हुन्थेँ' काठमाडौंको कथामा प्रवेश गर्नुअघिको कुरा उनले सुनाए । काठमाडौं फरक थियो, उनले आएपछि थाहा पाए । काठमाडौंका सेन्ट जेभिएर, आनन्दकुटीका परर्र अंग्रेजी बोल्ने विद्यार्थीका अगाडि केही दिन उनलाई बोर्डफस्र्ट भएर पनि आफू नजान्ने जस्तो लाग्यो । 'लेख्न त म अंग्रेजी राम्रो लेख्न सक्थेँ, तर बोल्ने हाम्रो अभ्यास थिएन,' कारण यस्तो थियो । पहिलो तीनमहिने परीक्षाको नतिजा नआउन्जेल काठमाडौंका विद्यार्थीलाई पनि यस्तै लागेको थियो । तर, जब पहिलो परीक्षाको नतिजा आयो फेरि बाबुराम नै फस्र्ट भए । 'त्यसबेला तीन-तीन महिनामा परीक्षा हुन्थ्यो, यसको पचास नम्बर जोडिन्थ्यो, अन्तिम परीक्षा पचास नम्बरका लागि हुन्थ्यो,' उनले भने । यो पहिलो तीनमहिने परीक्षामा उनले अंग्रेजीमा ७५ ल्याएका थिए जुन अस्कलको सबैभन्दा बढी थियो ।
अस्कलको कक्षामा उनीसँग अरू पनि केही चिनिएका नाम पढ्थे । यिनमा गणेशमानसिंहका छोरा प्रदीपमान सिंह, मनमोहन अधिकारीका छोरा प्रकाश अधिकारी र शाहीकालका मन्त्री कमल थापा सामेल थिए । यिनीहरूचाहिँ कस्ता विद्यार्थी थिए त ? 'प्रदीप र प्रकाश सामान्य थिए तर कमल थापा पहिलेदेखि नै अलि हावा थिए । उनी अन्तिम बेन्चमा बसेर हल्ला गर्ने, केटी जिस्क्याउने कुरामा पहिलेदखि नै तेज थिए,' भट्टराईले सुनाए ।

तर, परीक्षाहरू सधैं सजिला हुँदैनन् । उस्तै पनि हुँदैनन्, हुने भए मानिसले बारबार परीक्षा दिनुपर्थेन होला, एउटा परीक्षा पास गरेपछि जीवनमा अरू परीक्षा हुन्थेनन् होला । आइएससीको पहिलो वर्षको परीक्षा बाबुरामका लागि फरक भएर आयो । 'फिजिक्सको एउटा प्रश्नमा म धेरै बेर अड्किएँ र पूरै हल गर्न सकिनँ,' यसले उनको रिसको पारो पनि बढाइदियो । 'मलाई सारै नमजा लाग्यो, अब म फस्र्ट हुन्नँ कि भन्ने लाग्यो । अनि भोलिपल्टको पञ्चायत पेपर छाडिदिएँ,' अब त उनी फस्र्ट नहुने प्रस्ट भइसकेको थियो । तर, 'रिजल्ट सुन्दा त म नै फस्र्ट भएछु,' यसपछि उनलाई जीवनमा पहिलोपटक लाग्यो- 'मलाई कसैले जित्न सक्दैन ।' नलागोस् पनि किन ? एउटा पेपर नै छोड्दा पनि फस्र्ट भइयो भने जो-कोहीलाई पनि यस्तै लाग्छ, उनी त झन् फस्र्ट हुने बानी परेका मानिस ।

'अस्कल पढ्दा म लेखनाथ पौडेलको घरको छिँडीको कोठामा महिनाको पचास रुपैयाँ भाडामा बस्थेँ अरू दुई साथीसहित,' यसो भनेर उनले आफूले कसरी भाडा माझ्ने काम रोजेर पढ्ने समय रोज्थे भन्ने सुनाए । बाबुरामले जीवनमा कहिल्यै ट्युसन पढेनन् । र, उनलाई आज पनि लाग्छ, 'ट्युसन पढेर कोही पनि जान्ने हुँदैन ।' यति मात्र होइन, उनले नेपालमा पढिन्जेल कहिल्यै राति दस बजेभन्दा बढी पढेनन् । 'म कहिल्यै जाँचको वेला पनि राति ढिलोसम्म बसेर पढिनँ,' उनी सम्भिmन्छन् ।
के बाबुराम सामान्य पढाइले नै सधैं फस्र्ट भएका हुन् त ? 'होइन' केले हो त ? 'म बाह्रैमास पढ्थेँ, निद्रामा बाहेक मेरो दिमागमा सधैं पढाइकै कुरा खेल्थे,' उनले रहस्य खोले । 'पढ्ने भनेको सधैं पढ्ने हो, जाँचमा पढेर कोही फस्र्ट हुँदैन,' उनको यो कुरा सुनेर अहिलेका विद्यार्थीले के भन्दा हुन् ? उनी विद्यार्थीको पढाइमा शिक्षकको भूमिकालाई अहम् मान्छन् । 'मेरो पढाइमा भक्तबहादुर भुजेल, अमरज्योतिकी शिक्षिका एलनुर एल्किन्स र पिएचडीकी गाइड अतिया हबिबको भूमिका सबैभन्दा बढी छ,' उनी राम्रा चेला देखिए ।
आइएससीपछि उनी कोलम्बो प्लानअन्तर्गत भारतको चण्डीगढको पन्जाब विश्वविद्यालयमा आर्किटेक्चर पढ्न गए । यहाँ पाँच वर्ष पढ्दा भने उनी बोर्डफस्र्ट हुन पाएनन् । नसकेर होइन, यहाँ बोर्डफस्र्टको चलन थिएन, 'ग्रेड सिस्टम थियो, म सधैं पहिलो ग्रेडमै पर्थें ।' चण्डीगढबाट सहरी विकास विषयमा पोस्ट ग्रयाजुयटका लागि उनी दिल्ली आए । यो नेपालमा ०३६ सालको विद्यार्थी-आन्दोलन र जनमत-संग्रहको वेला थियो । 'यतिवेला म राजनीतितिर लागिसकेको थिएँ, नेपाली विद्यार्थी युनियनको सभापति थिएँ,' उनी जीवनको अर्को अध्यायतिर प्रवेश गर्दै छन्, जुन विषयमा मलाई अहिले त्यति रुचि छैन । तर, उनी धेरै टाढा पुगेनन्, राजनीतिसँग जोडिएको पढाइको अर्को एउटा कथा सुनाउनतिर लागे । र, यसमा मलाई कुनै आपत्ति थिएन ।

'त्यसवेला राजनीतिक काममा यति लागियो कि अन्तिम परीक्षाको समयमा मसँग समय थिएन । स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चरको परीक्षामा थुप्रै नक्सा बुझाउनुपथ्र्यो । तर, म नक्सा बनाउने समयमा सडक-आन्दोलनमा हुन्थँ । अन्त्यमा मैले पाँच दिन पाँच रात बसेर नक्सा बनाउनुपर्‍यो,' जीवनमा सबैभन्दा बढी समय काम गरेको वेलाको उनले सम्झना गरे । 'शुक्रबार रातिबाट काम थालेको थिएँ । बिहान-बेलुका क्यान्टिनमा खाना खान आउने समयबाहेक सबै समय नक्सा नै बनाइरहेँ । अन्तिममा बुधबार साँझ मात्र सकियो । नक्सा बुझाएर बल्ल म सुत्न गएँ,' उनले सुनाए । लगातार एक सय दस घन्टा लगाएर बनाएका यी नक्साले फेरि एकपटक उनलाई फस्र्ट बनाइदिए ।
यसपछि सुरु भयो जवाहरलाल नेहरू विश्वविद्यायलमा 'रिजनल डेभलपमेन्ट प्लानिङ'मा विद्यावारिधि । 'त्यसवेला मैले विश्वविद्यालयको पुस्तकालयमा निकै पढँ । बिहान नौ बजे पुस्तकालय खुल्दा सबैभन्दा पहिले म भित्र छिर्थें र राति १२ बजे निस्किन्थेँ,' उनी कक्षाबाट अब पढाइको कुरामा प्रवेश गरे । 'पिएचडीका वेला सिंहदरबारअगाडिको पुस्तकालयमा पनि धेरै पटक गएको छु । एकपटक त सबै गइसके भनेर पालेले मलाई भित्रै बन्द गरेर चाबी लगाएर हिँडेछन् । पछि त्यहीँ बस्ने अर्को पालेले खोलिदिएर म बाहिर निस्किएँ,' डाक्टरसाहेब ! फस्र्ट हुने मात्र होइन, पढ्ने पनि लत नै रहेछ ।

जंगलको यात्राबाट फेरि सहर फर्किएर सत्ताको नजिकै पुगेको पार्टी माओवादीका नेताका रूपमा उनको राजनीतिक छवि एक ठाउँमा छ । 'सधैं फस्र्ट' को अर्को छविले अहिले छेउमा बसेर राजनीतिको सडकमा बेपत्ता कुदिरहेका बाबुरामलाई एकोहोरो हेरिरहेको छ । खुद बाबुरामलाई पनि अहिले लाग्छ, पहिलेको जति अहिले पढ्न सकिएन । गाणतन्त्र घोषणा भएको केही दिनमा उनलाई गृहमन्त्री कृष्ण सिटौलाले एकदिन जिस्क्याए- 'अब त गणतन्त्र आयो नि डाक्टरसाब ! अब जाने होइन त पढ्न ?' उनले कुरा अथ्र्याए- 'शान्ति-सम्झौता हुँदाताका मैले सिटौलालाई भूमिगत हुँदा पढ्न पाइन्थ्यो अहिले त पढ्नै पाइनँ, पढ्ने धीत मरेन भनेको थिएँ, उनले त्यही भएर जिस्क्याएका ।'
जिस्क्याउन त कहिलेकाहीँ यिनलाई आफ्नै मनले पनि जिस्क्याउँछ । एउटा सेतो प्लास्टिकको झोलामा संगालेर राखेका केही थान राइटिङ प्याड छन् । कुराकानीकै बीचमा उनी उठेर भित्र छिरे, फर्किंदा हातमा त्यही पोको थियो । मैले आजसम्म देखेका सबैभन्दा साना अक्षर यी डायरीमा थिए । यी अक्षरको अर्को विशेषता थियो, सारै साना भएर पनि यी एक-आपसमा जोडिएका थिएनन्, जसले पनि पढ्न सक्ने गरी प्रस्ट थिए । 'यो भूमिगत हुँदा पढेका किताबबाट टिपेका टिपोट हुन्, यिनलाई संगालेर किताब निकाल्नुपर्ने,' यो मनभित्रको एउटा हुटहुटी हो । नेपाली समाजको भौतिकवादी व्याख्या गरेर किताब लेख्ने धोको पनि उनमा छ ।
यसभन्दा ठूलो पढ्ने धोको उनको मनमा छ, यो धोकोभन्दा बढी सपना बनिसकेको छ । 'मलाई गोर्खाको कुनै डाँडामा गएर 'कोअपरेडिभ कम्युन' बनाएर जीवनभर पढेर बस्ने रहर छ,' एकसाथ सयौं तरंग फैलिएको तलाउजस्तो देशको अस्थिर राजनीतिले यिनलाई यो सपना पूरा गर्ने अवसर कहिले देला ?


बाबुरामका दर्जन टिप्स

१. विद्यार्थीमा आफ्नो विषयमा रुचि हुनुपर्छ । रुचि नभएको विषयमा जति घोटिए पनि केही हुँदैन । सफलता पाउन रुचि भएको विषय मात्र पढ्नुहोस् ।
२. पढाइमा लगाव हुनुपर्छ । रुचि र लगाव भनेका फरक चिज हुन् । तपाईं आफ्नो रुचिको विषयमा त भर्ना भए पनि सिक्ने कुराप्रति लगाव रहेन भने सफल हुन सकिँदैन ।
३. सबैभन्दा ठूलो आफ्नो लक्ष्य थाहा हुनुपर्छ । तपाईंले के गर्न चाहनुभएको हो ? वा के बन्न चाहनुभएको हो ? तपाईं पढ्न किन चाहनुहुन्छ ? त्यो तपाईंलाई थाहा हुनुपर्छ । पुग्नुपर्ने ठाउँ नै थाहा नभई यात्रा गरियो भने कहीँ पुगिँदैन, त्यो बेकार हुन्छ ।

४. सफलताको अर्को सूत्र मिहिनेत हो । मिहिनेत नगरीकन पढाइमा मात्र होइन, केहीमा पनि सफलता पाइँदैन । जीवनमा मिहिनेत गर्नुपर्छ, तर आफ्नो प्रकृति र रोजाइ बुझेर मात्र । रुचि एकातिर मिहिनेत अर्कोतिर पर्‍यो भने त्यसको कुनै अर्थ छैन ।
५. मलाई एकपटक हिसिलाजीले सोध्नुभयो, बिजुली नभएको गाउँमा पढेर तपाईं कसरी बोर्डफस्र्ट हुनुभयो । मैले बिजुली नदेख्दै बल्बको चित्र बनाएको थिएँ । यो नयाँ कुराप्रतिको आकर्षणले गर्दा भएको थियो । नयाँ कुरा सिक्ने चाहना सधैं हुनुपर्छ ।
६. सफलताका लागि अतिरिक्त प्रतिभा पनि चाहिन्छ । सबै मान्छेमा कुनै न कुनै प्रतिभा हुन्छ, त्यसलाई चिनेर राम्ररी प्रयोग गर्नु जरुरी छ । प्रतिभा नै छैन भने मिहिनेतले मात्र पनि हुँदैन ।

७. पढाइमा सफल हुनका लागि स्मरणशक्ति पनि चाहिन्छ । र, स्मरणशक्ति धेरैजसो अभ्यासमा पनि निर्भर हुन्छ । तपाईं धेरै समय एउटै कुरामा घोत्लिनुहुन्छ भने त्यो तपाईंको दिमागमा लामो समयसम्म रहन्छ ।
८. पढ्ने एउटा सिस्टम चाहिन्छ । धेरैजसो विद्यार्थीहरू परीक्षाका वेला हतारमा पढ्छन् । यसले केही फाइदा गर्दैन । बाह्रै महिना पढ्नुपर्छ । केही नभएका वेला पनि दिमागमा पढाइका कुरा खेलाउनुपर्छ । अस्कल पढ्दा म रानीपोखरीको तीरैतीर न्युरोड पीपलबोट पुगेर इन्द्रचोक हुँदै ठमेल जान्थेँ । यो पूरै बाटामा मेरो दिमागमा साइन्सका फर्मुला खेलिरहेका हुन्थे ।

९. नोट बनाउने गर्नाले तपाईंलाई सफलता पाउन सजिलो हुन्छ । यसले एक त तपाईं महत्त्वपूर्ण कुरा दोहोर्‍याएर टिप्नुहुन्छ र अर्को पछि पढ्न समयको पनि बचत हुन्छ ।
१०. राम्रो शिक्षक सफलताका लागि चाहिने अर्को चिज हो । तपाईंका शिक्षक कस्ता छन्, तिनले कसरी सिकाउँछन्, यसले ठूलो प्रभाव पार्छ । शिक्षकले नै तपाईंलाई पहिलो ज्ञान दिने हुनाले राम्रो शिक्षक आवश्यक हुन्छ ।
११. पढ्ने वातावरण पनि अर्को आवश्यक पक्ष हो । म प्रायः आफ्नो पाठ एक्लै पढ्थेँ । एक्लै पढे पनि समूहमा पढे पनि पढ्ने वातावरणले तपाईंको पढाइमा निकै महत्त्व राख्छ । यसले तपाईंको रुचिलाई परिष्कृत गर्ने काम पनि गर्छ ।
१२. पढ्ने भनेको कोर्सका किताब मात्र होइन । अन्य किताब, पत्रिका पनि पढ्नुपर्छ । यसले ज्ञानको दायरा फराकिलो बनाउँछ । म भारत बस्दा कोर्सका किताब मात्र पढ्दिनथेँ । मैले केही वर्षका सबैजसो 'स्टारडस्ट' र 'फिल्मफेयर' जस्ता फिल्मी पत्रिका पनि पढेको छु ।
Read Full Discussion Thread for this article