Posted by: fucheketo July 2, 2008
आत्मा उज्यालो माग्दै थियो ।
Login in to Rate this Post:     0       ?        

यसपालि मैले उसलाई त्यसपछि के भयो भनेर सोध्न पनि सकिन ,नढाँटि भन्दा उ परास्त होस् भनेर मैले पनि चाहेको हुँ ,कल्पनाले मलाई त्यो चाहना गर्न बाध्य बनाई ,तर यसरि उ परास्त होस भन्ने मैले पक्कै पनि चाहेको थिइन । कल्पनाले किन यस्तो गरी  ? मलाई लागेकि नायिका स्वार्थि किन भई ?तर फेरि सोचेँ सम्बन्धको शुरुवातमा हर्केले पनि त त्यस्तै होस भन्ने चाहेको थियो । सँधै आफुले सोचे जस्तै अन्त्य त कहाँ हुन्छ र । अनि फेरि सोचेँ साच्चै निरिह हुन्छन् पुरुषहरु ,उसलाई मैले नदेखिकनै नायिका माने भने हर्के परास्त हुनु त स्वभाविक नै छ शक्तिमा पुरुष र नारिको तौल छैन । त्यसमाथि  नारि मात्र आँशु बगाउन जान्दछे बगेको आँशुको परिभाषा बुझ्दिन ,उसको लागि अरुको आँशु फगत बगी जाने पानी हो अनि आफ्नो आँशु हतियार,त्यो पनि कहिल्यै खेर नजाने अचुक !  जो उसलाई भिन्न भिन्न समयमा भिन्न भिन्न ब्यक्तिमा प्रहार गर्न आवश्यक भइरहन्छ ,यो संसार यस्तै छ ।

                               हुन सक्छ म पुरुष भएर मात्र पुरुषको बारेमा सोचिरहेको छु म पनि स्वार्थि भइराखेको छु । तर पनि त मैले नारिको आँशुको अगाडि कस्ता कस्ता ढुङ्गे पुरुषहरु पग्लेको देखेको छु ,मुस्कान ले गर्दा मोड परिवर्तन भएको त हर्के नै यहाँ ज्वलन्त छ तर खोइ त नारि परिवर्तन भएको उदाहरण ? दुई बर्ष देखि मेरो तपस्या नबुझ्नेमा पनि मैले एउटि कल्पना देखेँ ,हो यहाँ धेरै कल्पना हरु छन् ।जस्ले मात्र आवश्कता बुझेका छन् ,सम्बन्ध र त्याग बुझेका छैनन् तै पनि हामी त्याग गर्दैछौँ ।शायद एउटा मुर्खता ! हुन त माया पनि एउटा ठूलो मुर्खता न हो ,म बुझ्दै थिएँ बल्ल बुझ्दै थिएँ ।

 

"तैँले रिठ्ठोको बोट रोपेर कागति फलेको देखेको छस् ?" उसले मेरो सोचमाँ क्रमभंग गर्यो । मुस्कुराईरहेको थियो उ ।मैले उसको मुस्कानमा पनि उसको विवशता देखेँ ।

"छैन ।"

"मलाई पनि त्यस्तै भयो मैँले जे रोपेँ त्यहि न पाएको हुँ ।"

"खोई होला ? को सहि गलत मैले त केहि छुट्याउन सकिन ।" मैले आफुले निकालेको सारांश छोट्याउँदै भनेँ ।

उ फेरि मुस्कुरायो म अन्यौलमा परेको देखेर !

"म त्यसपछिको दुई तिन दिन त अहिले जसरि छटपटउईरहन्छस् नि त्यसरि नै छटपटाएँ । मलाई लाग्यो उसले भरेको ठाउँ अहिले खालि भएको छ । अब आउने रातहरु कहिल्यै न्याना हुनेछैनन् किनकि त्यो आत्मियता उसले म बाट खोसिसकेकि छे । म भोतारिरहेको एउटा यात्रि मात्र रहनेछु अब किनकि लक्ष उसले लुकाईदि सकेकि छे । केहि नलागेर उसलाई पर्खेर बस्ने चौतारो मा म फेरि ३ दिन पछि कुर्न लाई बसेँ ।"

उ एकछिन रोकियो मेरो सोचलाई समय दिन ।

 

"परबाट उ आउँदै गरेको देखेँ ,मुटुको ढुकढुकिको गतिमा अनौठो परिवर्तन आयो । बोल्ने के भनेर मनमनै कण्ठ पार्न थालेँ । म उसलाई हेरिरहेँ । नजिक आएर पनि उसले मलाई वास्ता गरिन मानौँ अघिल्ला हफ्ता महिनामा केहि भएकै छैन ।हामी दुवैले एउटा नयाँ शुरुवात गरे जस्तो । अब फेरि परिचयबाटै मेलो सार्नु पर्ने जस्तो । दुवै जना भिन्ना भिन्नै यात्राका अन्जान यात्रि भए जस्तो !"

"अनि ?"

"अनि के ?विवश त म थिए ,उसलाई त केहि फरक नै नपरेको देखिईसकेको थियो उसको अनुहार बाट ,साँचै ढुङ्गा मा बरु परिवर्तन आउला उ त स्थिर थिई । म नै अघि बढेँ गफ शुरुवात गर्न । त्यो दिन त्यो चौतारिमा कोहि थिएन त्यसले हाम्रो कुराकानि थोरै भए पनि सहज बनायो । मैले उ सँग भिख मागे झै गरेर सोधे ,के हामी नयाँ शुरुवात गर्न सक्दैनौँ ? मान्छे साँचै कमजोर हुन्छ अवस्थाको अघि ,मेरो त्यो अवस्था आउला भनेर चिताएको पनि थिईन ।"

                              उसले यति भनेर घडि हेर्यो करिब तिन बज्न आँटेको थियो ।बित्दै थियो समय उसको कथा को बहावमा अनि रातमा गुज्रिने ति सिरेटाहरु पनि एक छिन त्यहि परिधिमा रोकिएर उसको कथा सुन्नलाई कान ठाडो पारीरहेको भान हुन्थ्यो ,सल्ला पनि सुसाउनलाई एक छिन रोकिएको थियो कथा भन्नलाई बाधा पर्ला कि भनेर ।

 

"उसले ठाडै भनी ,सम्बन्धको नयाँ शुरुवात हैन निरन्तरता चाहन्छौ भने निरन्तर हुन सक्छ । तिमी मेरो आवश्यकता पुरा गर , म तिम्रो गर्नेछु । मलाई थाहा छ तिमी शिकारि हौ भोलि अर्को पंक्षि खोज्नेछौ तर मैले खोजेको पनि त्यहि नै हो । जतिन्जेल सँगै रहनेछौँ त्यतिन्जेल रमाइलो गरौँ ,त्यसपछि न तिमि मलाई चिन न म तिमिलाई चिनौँ ,के गर्ने संसार स्वार्थि छ ,स्वार्थ बोकेका मात्र बाँच्छन् यहाँ ,सन्तहरु त पलायन हुन्छन् , आर्मिहरु वफादार र कर्तब्यनिष्ठ लडाइँको मैदानमा हुन्छन् तर जब ओछ्यानको कुरा आउँछ उनीहरुजस्तो विश्वासघाति कोहि हुँदैन भन्ने मलाई पनि थाहा छ । तिमी मेरो विश्वास जित्ने हैन मेरो शरिर ,मेरो भोकलाई जित्ने प्रयास गर बदला मा म तिमिलाई पनि त्यहि नै दिनेछु जे तिमिले म सँग साट्नेछौ । त्यो जिम्मा मेरो । यहि नै हो उसले भनेको , मेरो कानमा अझै पनि बिझिरहन्छन् यी शब्दहरु ! पहिलो चोटि मलाई उ घिनलाग्दि लागी ,शायद मैले उसमा आफ्नो प्रतिबिम्ब देखेँ ।"

 

फेरि हाँस्यो उ । उसले यि शब्दमा आफैँमाथि घ्रिणा गरेको वा कल्पना माथि त्यसमा भने प्रश्नवाचक चिन्ह लाग्यो । त्यसको मतलब त यो थियो उसले नजानि नजानि नै भए पनि हर्केको आत्मा मा एउटा उज्यालोको बिउ रोपिछे । के अझै बाँकि छ त उस्मा त्यो उज्यालो खोई देखिन्न , छैन होला वा उ लुकाउने प्रयास गर्छ ।

 

म फेरि सोचको अर्को धरातलमा पुगेँ । हर्के ले त्यहि नै क्रिया गरुन्जेल त मैले औसत पुरुषहरुको बानि हो भनेर पचाइनै रहेको थिएँ त्यसो भए के कल्पनाले उ सँग त्यस्तो कुरा गर्नु क्षमा नै दिन नहुने वाक्यहरु थिए त ति ? वा उ एउटा तितो सत्य उकेलिरहेकि थिई ? हर्के साँचो भन्छ साँचै यो संसारमा झुठ हुँदैन ,मात्र सत्य हुन्छ एउटा हामीले मान्ने सत्य एउटा नमान्ने सत्य ।

 

"म त्यसपछि बोल्न गइन उ बस्ने मेरो मुटुको कुनामा चुकुल लगाएँ ,हो धुलो जमेको थियो होला आज सफा गर्ने प्रयास गर्दैछु । उसको र मेरो सम्बन्ध टुट्यो । मलाई कहिले काहिँ डर लाग्थ्यो म ड्युटिमा बस्दा खेरि उ देखिने हो कि भनेर ! उसको सामना गर्ने मेरो हिम्मत थिएन ।भगवानले मेरो सुने ,मेरो सरुवा त्यसपछि चारालिमा भयो यहि ब्यारेकमा ! अहिले पनि सम्झिरहन्छु त्यहि मोरिलाई जब राम्रि केटिहरु देख्छु ,झस्किन्छु बा अरु एकचोटि साँचो पिरति बसि पो हाल्छ कि भनेर !"

उ त्यसपछि चुप भयो ।हामि दुवै झिसमिसे उज्यालो पर्खिदैँ थियौँ ।घडिका काँटाहरु बिस्तारै चार तिर सर्दै गए । मैले दुईजनामा को गलत अन्त्य सम्म छुट्याउन सकिन । म पेण्डुलम जस्तै घुमिरहेँ घरि हर्केको पक्षमा घरि कल्पनाको पक्षमा । मेरो आत्मा मुटु चिन्ने गरिको उज्यालो माग्दै थियो ।

 

समाप्त!

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Read Full Discussion Thread for this article