कमेन्ट गर्नुहुनेहरु संग भलाकुसारी एकछिनमा गरौँला।
अहिलेलाई कथाको रफ्तार बढाउन र धेरैलाई समावेश गर्न एउटा छोटो भाग-
माष्टरनीको निद्रा खुल्यो। भर्खर घाम उदाएको थियो शायद्।
“आधादिन भैसकेछ!”
माष्टरनीले मनमनै भनिन् र जुरुक्क उठिन्। संगै सुतेकी सान्नानि तिर नजर दौडाइन्; सान्नानी कोल्टे परेर कुनै सुन्दर सपना देखिरहेकी थिइन् शायद; उनको मुहारमा गहिरो निर्दोशता थियो। माष्टरनी सान्नानीको मुहार हेरेर त्यसै मुस्कुराइन्।
संगै राखिएको गिलाँस छोपेको कापी निकालेर एकातिर राखिन माष्टरनीले र गिलाँसमा भरिएको पानी घुटुघुटु पिउँदै रित्त्याएर गिलाँस फेरि पहिलेकै ठाउँमा राखिन्।
अचानक केहि सम्झिएर झस्किन!
“ राति नै यता ल्याएको भान्जीलाई, बिस्टे बुढा आत्तिरा’ होलान् लइदिन परो!”
मनमनै भन्दै उनी सान्नानीलाई झक्झकाउन थालिन्।
सान्नानीले एक पटक अस्पटाएर निद्रामै माष्टरनीको हात समातिन् र अलिकता ढल्केर सुत्न थालिन्। माष्टरनी सान्नानीको मुहार हेरेर एक पल्ट फेरि हाँसिन् र फेरि झकझकाउँदै बिउँझाऊन थालिन्।
“भान्जी!! भान्जी!”
सान्नानी बिउँझिइन्, पल्याकपुलुक यताउता हेरिन्, र माष्टरनिलाई टुलुटुलु हेर्न थालिन्।
“ हिजो तिमी भात खाएसि निदायौ तेसइले पानीमा बाइर लइन मइँले!, हिँड घर जाम तिम्रा हजुरबा चिन्ता गर्दै होलान्!”
सान्नानी केहि नबोलि चुपचाप उठिन्।
सान्नानीलाई डोर्याउँदै माष्टरनी बिस्टे बुढाको घरतिर लागिन्।
घर पुगेर हातले दैलो धकेलिन्। ढोका खुल्यो।
“हजूरबाssss!!”
सान्नानी बुढालाई बोलाउँदै भित्र छिरिन्, माष्टरनी संगसंगै भित्र गइन्।
बुढा थिएनन्।
माष्टरनी अचम्ममा परिन्, एकाबिहानै बुढा घरमा थिएनन्।
सान्नानि बुढा सुत्ने ठाउँतिर हेर्न थालिन् र अलिकता आत्तिएको स्वरमा माष्टरनीतिर हेरेर भनिन्-
“माइजु हजूरबाको पाखि छइन, बाइर जानुभो जस्तो छ!”
सान्नानिको रुन्चे स्वर सुनेर माष्टरनीको मनमा पनि चिसो पस्यो।
“बिहानै नातिनी नदेखेर बुढा खोज्न निस्के जस्ता छन्, बित्याँस पर्ने भो!”
मनमनै भन्दै माष्टरनीले सान्नानिलाई जिउमा च्यापिन् र भनिन्-
“नआत्तिउ भान्जी, हजूरबा कतै बाइर गा’ होलान् एकछिनपछि आइहाल्छन् नि!”
सान्नानी रुन थालिन्।
“नरोऊ भन्या भान्जि हजूरबा आउनुहुन्छ!”
माष्टरनीले फैरि फुल्याउने तरिकाले भन्दै सान्नानीको टाउको मुसार्न थालिन्।
सान्नानी हजूरबा सम्झेर रोएको रोयै गरिन्।
माष्टरनीले के गर्ने सुर पाइनन्। नातिनी हराइ भन्ने पिरमा बुढा खोज्न जता पनि जान सक्थे, र पिरैले बुढालाई केहि हुन पनि सक्थ्यो।
“बित्थाँ हिजो म सित सुताइछु!”
मनमनै पश्चाताप गरिन् माष्टरनीले।
केहि सोचिन् र सान्नानीको टाउको मुसार्दै भन्न थालिन्-
“ हिँड बा हाम्रा घर जाम, भउते मामालाई भनेर हजूरबा खोज्न पठाम्ला, अनि म मिठो मिठो पकाउँला अनि दुइजना मिलेर खाम्ला!”
सान्नानी केवल रोइरहिन!
माष्टरनीले सान्नानीलाई बल्ल बल्ल डोर्याउँदै आफ्नो घर ल्याइन्। दुवैजना संगै माथि उक्लिए भउतेको कोठापट्टि। भउतेको कोठाको ढोका खुल्लै थियो र उसको ओछ्यानको सिरक राम्रो संग पट्ट्याएर राखिएको थियो।
“देवरजी पनि कता हिँडिसक्नुभएछ!”
माष्टरनी बर्बराइन्। सान्नानि फेरि रुन थालिन्-
“हजूरबा भाठाँ जानेsssss!!”
सान्नानी रुँदै पिरेकको देखेर माष्टरनीलाई फकाऊन गाह्रो लाग्न थाल्यो।
उनले सोचिन् र भनिन्-
“ल भन भान्जी, तिम्लाई रमैलो लाउने ठाममा जाम्, काँ जाने भन त?”
“हजुरबा भाठाँssssssss”
सान्नानी फेरि हजूरबा भएको ठाउँमा जाने भन्न थालिन्। माष्टरनीले कता लैदिनु! अप्ठ्यारो अनुभव भयो उनलाई। उनले दिमाग दौडाइन्, केहि बेर सान्नानीलाई रुन दिइन् र टुकरुक्क बसेर सान्नानीको दुवै कुम दुई हातले समातेर सान्नानीको अनुहार हेर्दै मुस्कुराउँदै भनिन्-
“हजूरबा र भउते मामा भान्जीलाई किलिप र पापा किन्दिन ग’का रे, एकछिन पछि आम्छन्, तेतिन्जेल भान्जि माइजु भ’र तितौरीकहाँ गएर लुकामारी खेल्ने है? अनि जिम्माल बाले पुस्टकारी नि दिनुहुन्छ काठमाउँडुबाड ल्याछन रे!”
माष्टरनीको यो वाक्यले भने सान्नानीको रुवाइ सुरुमा केहि कम भयो।
यहि मौका छोपेर माष्टरनी फेरि भन्न थालिन्-
“ अनि तितौरी संअ गट्टि नि खेलम्ला, कल्ले जित्ने है त?”
केटाकेटिको मन न हो, तितौरी संग गट्टि खेल्ने र जित्ने सम्झेर सान्नानीले सबै कुरा बिर्से जस्तो गरि र आँशू भरिएको आँखा तत्कालै हाँस्न थाल्यो।
माष्टरनिलाई हेरेर हाँस्दै भनिन्-
“मइँले जित्ने, तितौरीले जित्ने अनि हउरले जित्ने!”
सान्नानी हाँसेको देखेर माष्टरनीलाई राहत महशुस भयो। उनले सोचिन्-
“ तितौरी संग खेल्न पाए एल्लाई नि रमैलो, म नि जिम्माल संग यसो दुईचार बात मार्ने थेँ!”
उन्ले प्रत्यक्षत: सान्नानीलाई भनिन्-
“ ल म नाना लाउँछु, त्याँसि हामि छिटो छिटो तितौरीसित गट्टी खेल्न जानि!”
सान्नानी खुसि देखिन्थिन।
“अनि पुस्टकारी नि खाने है?”
सान्नानी हँसिली भएर बोलेको देखेर माष्टरनी खुसि भइन् र दराज खोजेर लुगा झिक्न थालिन्।
------