निसपट्ट, कहालिलाग्दो र चुहुँदो झरिलाई बिदा गर्दै गाउँमा बिहानी छायो। सम्पूर्ण गाउँ र वरिपरिको डाँडा रातभरि पखालिएर सङ्ग्लो भएको देखिन्थ्यो। डाँडामा माथिपट्टि बाक्लो कुहिरो थियो र मधुरो घामले सम्पूर्ण वातावरण नै सुन्दर र सजीव बनाएको थियो। तल बेँशितिर धमिलो खोला गड्गडाउँदै बगेको देखिन्थ्यो; मानौँ माथितिरबाट भएभरको फोहोर पखालेर टाढा कतै लगेर फाल्ने जिम्मेवारी यहि खोलाको छ। रुखमा चराहरुको चिरिबिरि चलिराखेको थियो; शायद लामो झरिपछि खुलेको आकाश देखेर बढि नै रमाइराखेका थिए।
चरा कराएको आवाजले दीपको निद्रा खुल्यो।
रातभरि कोल्टे फेर्दै पानी खाँदै गरेर जसोतसो निदाएको थियो बिहानीपख। आँखा खोलेर माथि दलिनतिर हेर्यो, उसलाई आँखाको गेडि दुखेको जस्तो लाग्यो। फेरि बल गरेर एकछिन आँखा चिम्म गर्यो र खोल्यो!
“एसकि मलाई स्यार्नि, आज नि टाउको दुखेर मरेछ!”
बर्बराउँदै बितेको रात र अघिल्लो दिन सम्झियो।
झरिले गर्दा उसले आँटेको कुरा गर्न पाएको थिएन।शबु पँधेरा आउन पाइनन् उसले मनको कुरा गर्न पाएन! दुइ दिन जति पहिला पँधेरामै शबुको हात समात्न ऊ सफल भएको थियो। उसलाई शबुको गाला छुन मन थियो तर शबु आत्तिएर गाग्रि पोखिइदिनाले समय तेत्तिकै खेर गएको थियो। गाग्रि उठाउँदा उठाउँदा नेप्चि भाउजु पँधेरा आइपुगेर दीपलाई ठाडो खुट्टा फर्किनु परेको थियो। बिहानै देखि झरी परेर पँधेरा जानु बेकार थियो, तर शबुको कुरा मात्र गर्न पाए पनि उसलाई मिल्ने संतुष्टीले गर्दा ऊ हर्केलाई फकाउन बाध्य भएको थियो। फुपुको छोरि भएको नाताले शबु हर्के संग खुलेर कुरा गर्थि र दीपको लागि हर्के नै शबुलाई फकाउने एकमात्र हतियार थियो। त्यसैले झरि मनाऊन एक जर्किन रक्सि र एउटा भाले लिएर ऊ हर्केकहाँ आएको थियो। हर्केले कुखुरा काट्दै गर्दा अचानक रिट्ठे आइपुगिदिँदा उसले आफ्नो कुरा हर्के संग गर्न पाएको थिएन र उसले ल्याएको करिव आधा रक्सि रिट्ठेले खाइदिएकोमा उसलाई रिस उठेको थियो।
“बेला न कुबेला अन्मरिएर पातकी रिट्ठेका काल!”
बर्बराउँदै दीपले खाटबाट तल भुइँमा हेर्यो।
हर्के र रिट्ठे तल गुन्द्रिमा लाश लडे झैँ पसारिइराखेका थिए। नजिकै छरिएका रित्ता गिलाँस र सिलाबरका प्लेटहरुले मातलाग्दो रात बितेको स्पष्ट बयान गर्दै थिए। हर्के जोडजोडले घुर्दै थियो। दीपले पल्टि पल्टि हर्के घुरेको हेर्न थाल्यो। घुर्दाखेरि हर्केको नाकका पोराहरु गजबले फुल्थे र सास बाहिर फाल्ने बेलामा नाकमै कतै एकपलको लागि सास अड्केको जस्तो भएर फुत्त बाहिर निस्कन्थ्यो। यसरि सास निस्कँदा नाकबाट ‘सुट्ठ’ आवाज आउँथ्यो, ओठले ‘बुर्रर’ आवाज निकाल्थ्यो र, छाति र पेट एक पटक हल्लिन्थ्यो।
दीपलाई हाँसो उठ्यो।
“ साले जब्बरे, तरुनि च्याप्या सपना देखिरा होला!, यल्लाई त…”
मनमनै बोल्दै दीप खाटबाट जुरुक्क उठ्यो र हर्केको कोखामा एक लात्ति कसेर बजायो!
“ ऐया आमा! मार्यो नि कुनचईने कुकुरले!”
कोखामा नराम्रो संग लात्ति लागेको झोकमा फोहोर गालि गर्दै हर्के जर्याकजुरुक उठ्यो!
“ ए तेरो बाउलाई क्यार्न हानिस् ए दिपे असत्ति?”
राता राता आँखा पार्दै मुन्टो बटार्दै दीपतिर हेरेर झोक्कियो हर्के।
दीपले हर्केको कुरा नसुनि रिट्ठे तिर हेर्यो।
रिट्ठे बेहोश भएको जसरि उत्तानो परेर निदाईराखेको थियो; शायद ऊ किचकन्नी र ज्यानमारा संग, निद्रामा बढि सुरक्षित अनुभव गरिराखेको थियो।
दीपले हर्केलाई औँला ओठमा राख्दै चुप लाग्ने इशारा गर्यो। हर्के वाल्ल परेर चुपचाप दीपलाई हेर्न थाल्यो!
दीप बिस्तारै रिट्ठे भएतिर गयो।
रिट्ठे शायद स्वप्नलोकमा पनि बसन्तीलाई हेर्दै मकै बेच्दै थियो! उसले लाएका लुगा अझै ओसिलो नै थियो। सेटो पटुकामा गुजुमजु पारेर पोको बनाएको पैसा बाहिरबाट हेर्दा प्रश्ट चिनिने अवश्थामा थियो।
दीपले टुक्रुक्क बसेर बिस्तारै रिट्ठेको पटुकामा हात बढायो, हर्के अलिकता डराएर आँखा ठुलो पारेर हेर्न थाल्यो। पोका फुकाउनलाई दीपले चोर औँला र बुढि औँलाले बिस्तारै पोकाको एउटा छेउ तान्यो।
रिट्ठेले निद्रैमा शायद कसैले स्पर्ष गरेको चाल पाएछ क्यारे, कोल्टे फेरिदियो; दीप र हर्के उभिएको भन्दा अर्कोपट्टि! दिपले झ्वाट्ट हात तान्यो। हर्के एकपलको लागि झसङ्ग भयो। हर्के र दीपले मुखामुख गरे। दीप बिस्तारै अर्कोपट्टि गयो। फेरि टुक्रुक्क बसेर पटुकातिर हात बढायो। केहिबेरको संघर्ष पछि दीप पैसा हात पार्न सफल भयो!
“कति रेछ?”
हर्केले बिस्तारै साउती मार्ने पाराले दीपको अनुहार हेर्दै सोध्यो।
“पख् गन्न दे!”
दीपले हातले पर्खने इशारा गर्दै उसैगरि जवाफ दियो र रिट्ठे सुतेको पुलुक्क हेर्दै खाटतिर आयो र पैसा गन्न थाल्यो।
“पाँचसइ पैँतिस!”
भिजेर गुजुमुजु भएको ओसिलो पैसा गनेर सिद्धयायो दीपले।
हर्केले दाँत देखायो। एकैछिनमा अनुहारमा हल्का डर भरेर भन्यो-
“थाहा त पाम्दैन?”
“ हिजा रात सातो गा’ बिर्सिस एसको? आउना साथ जर्किन सकौँला जसरि तान्न थाल्या थो, त्याँसि लम्पसार परिगो। बाटामा कतै खस्यो भन्ठान्छ!”
दीपको बठ्याईँले हर्केको डर मासियो।
दीपले २ शय रुपियाँ गुजुमुजु पारेर हर्केको हातमा राख्दियो। हर्केले प्रश्नवाचक दृष्टीले दीपलाई हेर्यो; शायद उसको भागमा किन कम पैसा भनेर सोद्धैथियो, दीपले बुझ्यो र बिस्तारै भन्यो-
“तँलाई र मलाई दुदुसइ बाँकि तेरि बइनिलाई तँ र म मिलेर कोसेलि किन्ने हो चुप लाग अब!”
हर्के केहि बोल्न खोज्दै थियो, दीप चप्पल लगाउँदै भन्न थाल्यो-
“ हिजा रउसिले टाउको घुमाइरा’छ म गएँ पँधेरामा न्वाउन!”
हर्केलाई बोल्ने मौका पनि नदिइ दीप त्यहाँबाट बाहिरियो।
हर्के वाल्ल परेर दीप गएको ढोका हेर्दै थियो!
रिट्ठे शायद अझै सपनामा बसन्तीलाई हेर्दै मकै बेच्दै थियो!
-----