Posted by: dipika02 June 13, 2008
पुराना दिनहरु
Login in to Rate this Post:     0       ?        

"Undergraduate" भन्ने अदभुत जन्तुको सम्झनाले पनि कहिले नछोड्ने भो मलाई। यसो उसो गर्‍यो, तेही पुरानो दिनहरुमा पुगिहाल्छु। दिनहरु पनि उस्तै थिए आफ्नो। सुरुको सेमेस्टर केही राम्रो सँग नबुझेर १९ क्रेडिट लिन पुगेछु। सेमेस्टर बिच मा पुगेपछी त काम पनि सुरु भयो, के चहियो र? न खाने ठेगान, न सुत्ने नै। खाली दौडादौड। फेरी Cafeteria को खाना उही ताल को, घाँटिबाटै नछिर्ने। अरु त ठिकै थ्यो, तर खानकै बिजोग हुने। आफु बच्चा देखिनै खानमा किच्किचे, जहिले आमाको एउटै राग सुनिन्थ्यो "मेरो छोरी चाइ किन यस्तो खाने बेलामा बाहिर निकालेको जस्तो भएकी होली" भन्ने अब त झन के हुनु? दिनहु जस्तो फलफुल मा भर पर्थे, एकादशीको बर्त लिएको जस्तो। यस्तो तालले चाइ चल्दैन, अर्को सेमेस्टर त थोरै क्रेडिट लिन्छु , अझ मिल्यो भने त बस्दिन यो डोर्ममा भनेर सोचेको पनि धेरै नै  भईसकेकोथ्यो। बाहिर बस्न पनि एक्लै त गाह्रै पर्ने, साथि खोज्न त्यस्तो धेरै आफुले चिनेको कोहि थिएनन। फेरि कक्षा र काम ले गर्दा भेट पनि कोहि सँग नहुने।

दही र स्याउ खादा खादा दुब्लाएर हेर्न नहुने भएको बेलामा  उता भाई र आमा चाइ घरि घरि फोटो पठाउनु पर्‍यो भन्ने। फोटो देखेर सबै जना उल्टै तर्सिनु होला भन्ने डर। भागदौड मै दिनहरु बितिरा थे, डोर्ममा नबस्ने कुरा पनि उखान नै होला जस्तो भईसकेकोथ्यो। एकदिन Cafeteria मा के खाने होला फेरी भनेर आँखा चहार्दै थिए, एउटी  नेपाली केटी म तिर नै आइरहेको देखेँ। उ कोही सँग बोल्दिनथी, मैले त झन के चिन्नु? त्यसैले दिक्क मान्दै खाना तिर नै हेर्दै थिएँ, उ मेरै नजिक आएर उभीइ। म उ तिर फर्केर हाँसे। उ त सिधै "दिपिका तिमी अर्को सेमेस्टर अपार्ट्मेन्टमा बस्ने हो ?" भन्छे। "खोइ भनेको त त्यही हो तर ठेगान छैन"-- मैले पनि सुनाएँ। "म पनि साथि खोजिराछु, तिमी र म बस्ने हो?"--उस्ले सोधि। आफुलाइ सिधै हुन्छ भन्न पनि उस्को आखीभौमा लगाएको मुन्द्रा र ठाडो बोलिले सोच मै पार्यो। फेरि उस्को नाम सारिका थाहा छ, बाँकि केहि थाह छैन। "म बिचार गरेर भन्छु नि हुन्छ?"--मैले भने। "जाबो डेरामा बस्न पनि के बिचार गर्नु पर्यो" भन्छे उ त। अब तिम्रो बानी व्यबहार बिचार गर्नु पर्यो भन्ने कुरा भएन, फेरि राम्रो सँग नबुझिकन तातो खाउँ जल्दै मरौँ गर्दा बेक्कार फन्दामा फसिएला भनेर मैले दुइ दिनभित्रै भन्छु भनेर उस्लाइ पठाएँ।

पछि सोचे त्यो डोर्म मा बसेर केहि नखाइ पैसा मात्र चडाउनु भन्दा बरु उहि सँग बस्नु ठिक होला, मान्छे राम्रै पनि त हुन सक्छे। बाकि रह्यो आखिभौ छेड्ने कुरा, त्यो त उस्को अनुहार् जता सुकै छेडोस मलाइ के को सर्को। भोलि पल्ट फोन गरेर "हुन्छ" भने उ त  तुरुन्तै आइपुगि म कहाँ। त्यस्को ताल देखेर पनि डरै लाग्ने। उस्ले पहिलेनै एक दुइ ओटा अपार्ट्मन्ट हेरि सकेकि रहिछे, त्यस मध्ये एउटामा बस्ने भयौँ। स्कुल र काम दुबैबाट नजिकै थियो झन सजिलो भयो। दुइटा कोठामा हामी दुइजना बस्ने भयौ। हुनत दुइटामा चार जना बस्दा सस्तो पर्थ्यो तर मलाई आफ्नो कोठामा नचिनेको राख्न मन थिएन, फेरी ४-४ जना त बाँसको बोटमा सारौँ कराएको जस्तो झ्याउँ झ्याउँ मा बस्न पनि गाह्रो। सारीकालाई सोधें उ त झन "म धेरै केटीहरुलाई सहन सक्दिन, नाटक नै बेसी हुन्छ तिनिहरुको" भन्छे। त्यो सँग कुरा गर्‍यो कि झर्सँग-झर्सँग हुने उत्तर दिन्थी, आफ्नो मन त्यसै आत्तिन्थे। "अनी म सँग किन बस्न खोजेको ? मलाई चाइ सहन सक्छौ त?"-- झोकै चलेर भन्देँ। "खोइ अहिले सम्म हेर्दा त सकिन्छ जस्तो छ,  किन?बानी ठीक छैन कि क्या हो?"-- उस्को उही ठाडो जवाफ, हुनत सिधा जवाफ आउला भन्ने आश पनि थिएन।

जाँच पनि सिद्ध्यो, Christmas को बिदा सुरु भयो र सर्ने तयारी पनि। खुब चुरोट उडाउनु पर्ने रहेछ उस्लाई, कोठा त एक्छिन मै धुँवा ले कुहिरी मन्डल । अनी बन्यो कोठाको पहिलो नियम, चुरोट भित्र तान्न नपाईने। उस्ले नाइ नास्ति गरिन। तर चुरोट तानेको देख्दा चै मै तर्सिन्थे, एक पछी अर्को। अरु बेलामा चै अलिकती कोठा चिसो भयो भने पनि हिट बढाउनु पर्‍यो भन्थी, चुरोट तान्न चै जती चिसो त के हिउँको डल्लै भए पनि पुग्थी बाहिर।

मित्रता बड्दै गयो, "तिमी" बाट "तँ" मा पुग्यो। बानिहरु सँग चिनापर्ची पनि दिन प्रतीदिन उग्र गतीमा हुँदै थियो। नियमहरु त दिनहुँ नयाँ नयाँ बन्थे। कहिले खानामा के पकाउनै पर्ने नियम त कहिले कोठाको सफाइ कुन हद सम्म गर्नै पर्ने। नियम को पालना चैँ पहिलो हप्ता लागु हुन्थ्यो, दोश्रो हप्ता तै बिशेक, तेस्रो हप्ता त उही ताल जस्ताको त्यस्तै। फेरी चार हप्ता पछी सुरु हुन्थ्यो केलाउन, कस्ले कता पहिले नियम तोड्यो भनेर। केही सिप नलागेर सेतो बोर्ड नै किनेर लेरायौँ, कस्को कुन दिन के गर्ने पालो लेख्न को लागि, र लेख्यौ पनि। दुई दिन त दुबै जना कस्सेर आ-आफ्नो काम गरी टोपलेका थियौँ, तेस्रो दिन देखी त्यो बोर्डमा खाना पकाउदै बाँदरको अनुहार बनाउन बाहेक अरु केही गर्न काम लागेन।

घरै पिडालु बनै पिडालु ससुराली जाँद बाह्र हात को पिडालु भने झैं जुन कुराले सर्न वाध्य भएको थिएँ त्यो कुराले त डेरामा पनि छोडेन। खाना को लागि त ताल उस्तै। आफुलाई हत्तपत्त केही नरुच्ने, उस्लाई पकाउन कहिले अड्कल नहुने। हाम्रो खाना  पकाउने पनि पालो थियो, तर उस्ले पकाएको बेलामा त खाइसाद्धेनै नहुने के खानु? कहिले hot dog मा झोल हाल्दिन्थी, देख्ने बित्तिकै दिमाग तात्ने गरेर। चिया पकायो भने दुई जनालाई पकाएको चिया अड्कल नै नगरी जत्रो भाँडा छ तेइ भरी चिया बनाइदिन्थी। पुरै दिनलाई पुग्ने चिया बन्थे। ल अब खान चै सधैं मै पकाउछु तँ भाडा माझ भन्यो भाँडा सधैं माझ्न त अल्छि लाग्छ, खानै पकाउन सिक्छु भन्न थालि। उस्ले सिकेर पकाउन्जेल सम्ममा त आफु भोक भोकै मारिएला जस्तो।

Christmas को बिदा ४ हप्ताको थियो, त्यो बेलामा धेरै नै काम गर्थे। सारीका लाई चै आपत हुन्थ्यो दिन बिताउन। उस्को बाबा Hong Kong को लाहुरे, हरेक ३ महिनामा पैसा  आउने, उस्लाई किन काम गर्नु पर्‍यो र? उ त अझ मलाई पनि "छोड्दे काम-साम, यस्तो उमेरमा पनि काम गरेर दिन बिताउछ?" भन्थी। तर सोफामा बसेर सिनेमा हेर्न थाले पछी बिहान उठे देखी बेलुक सुत्ने बेला सम्म आँखा झिम्म नगरेर हेर्न सक्थी।  अनी हेर्दा हेर्दा वाक्क भई भने चाइ फोन गर्न थाल्थी मलाई। म नआउनेजेल छट्पट्टी हुन्थ्यो उस्लाई। एकदिन त काम बाट फर्कदा अपार्ट्मेन्ट अगाडि ४ वोट फायर ट्रक। कता आगो लाग्यो भनेर तर्सेर भित्र गएँ। कोठा भित्र त धुवै धुवाँ। "के भयो? भनेर सोधेको त प्यान मा तेल तताउदै थिइ रे, फोन आएछ, कुरा गर्न थालिछे।  अनी त बिर्सिछे प्यान मा तेल तताएको।  प्यान र तेल दुइटै  डडेर कोठाभरी धुवा भएछ, अपार्ट्मेन्ट को अलार्म बजेपछी थाहा पाइछ।  उस्ले त बाहिर को ढोका खोल्दिछे, झ्याल खोल्नु सट्टा। धुवा बाहिर गएर अपार्ट्मेन्ट बिल्डिङको फायर अलार्म बजेछ, एक्कै छिन्मा ४ वोटा फायर ट्रक अपार्ट्मेन्ट बाहिर। उ त झन तर्सेर जस्ले ढोका ढक्ढक्याए पनि नखोलेर बसिरा रैछे। "तँ यस्तो बेलामा झन ढोका थुनेर बस्ने हो त? बाहिर पो निस्किनु पर्छ" भनेको त, "अब आगो लाग्या होइन भन्ने थाहा हुँदा हुँदा पनि के खान बाहिर दौडिने नि? खैरे ले जे गर्‍यो हाम्ले नि तेही गर्नु पर्छ?" पो भन्छे।

हाम्रो प्राय कुराहरु मिल्थे। तर खाने कुरा मा चाइ झगडा नै पर्ने। बनाउन प्रयास त गर्थी तर अड्कल गर्नै नसक्ने, कहिले नबनाएको भएर होला। एकदिन काम बाट थाकेर भोक ले रन्थनिदै आएकी थिए। उस्को पकाउने पालो थियो। कोठा भित्र छिर्दा बास्ना हर्हर आयिराथ्यो। "कस्तो मिठो बास्ना आएको, के पकाकी सारीका?"--मैले सोधेँ। "बाबु, मैले आज त यती मिठो गरेर पकाकी छु मस्यौरा र आलु तँ त पल्किन्छेस" -- उ फुर्ती लाउदै अझ मलाई बाबु भनी भनी सुनाइराथी। खुब चलाई चलाई पकाइराथी। लुगा फेरेर , हात मुख धोएर खान गएँ। हेर्छु त तरकारी मा फिजै फिज छ। "यो केस्को यस्तो फिज आएको" भनेर सोध्या " पिठोको नि, बाक्लो बनाउन तैले अस्ती तामा बोडी मा हालेकी थीइस नि तेही भएर हालेको" भन्छे। "अनी पिठोको यस्तो फिज आउछ त?" भनेर सोधेको "के था त? आउदो रहेछ" भनी। कुन पिठो हालेको देखा त भनेर सोधेको  उ त सिसी मा राखेको भाँडा माझ्ने पाउडर पो देखाउछे। बट्टा ठुलो भएर कतै अटेन त्यसैले सानो सिसी मा खन्याएर डिश वासरको छेउमा राखेकी थिएँ। उस्ले त मस्यौरा मा हालेर अझ अरु खानेकुराहरु राख्ने ठाउँमा राखिछे पिठो भनेर। मेरो त सात्तो नै उड्यो धन्न उस्ले खाएकी रहिनछे। त्यो सबै फालेर रामेन नूडल्स खाएर सुत्नु पर्‍यो। त्यहा देखी मैले सके सम्म आँफै पकाउथे र उ भाडा माझ्थी। कहिले चै जहिले भाडा माझ्न सक्दिन म भनेर ठुस्किन्थी तर नमाझेर पनि के गरोस? म खाना पनि पकाउने भाडा पनि माझ्ने किन गर्थे र? खाना स्वाद लीइ-लीइ खाए पछी भाडा माझ्न करै लाग्थ्यो उस्लाई। तर अली अली फाट्ट फुट्ट चाइ बनाउथी र धेरै नै सिकिसकेकी थीइ। 

एकदिन मेरो काम ले गर्दा राती आउन ढिलो हुने भयो। उस्ले आज चाइ मै पकाउछु भनी। नपका भनेर पनि के गर्ने आफुले नभ्याय पछी? हुन्छ भने। "हेर आज म तैले कहिले बिर्सन नस्कने गुन्द्रुक बनाउछु, फेरी मलाई जहिले बना चै नभन नि"-- उ जिस्किदै थीइ, म काम मा जान हतार हतार गरिराथेँ। उस्को कुरा सुनेर हासो उठ्यो तर अब त धेरै सिकिसकी भनेर ढुक्क भएँ। खाना पकाउन लागेकी घरि घरि फोन गर्थि काममा कहिले मसला देखिन भन्थि कहिले नुन। "धेरै फोन नगर तेरो बाजेले निकालिदिन्छ मलाइ कामबाट" भनेको रिसाएर तेस्पछि फोन नै गरिन। मैले पछि गरे तर उस्को फोन उठेन। राति डेरामा पुग्दा उ सिनेमा हेरेर मलाइ कुरिरारेछे। "कस्तो बनाइस त गुन्द्रुक र भटमास"--मैले जिस्काउदै सोधे। "खाएर त हेर तेरो आमाले पकाको पनि बिर्सिन्छेस"-- उस्ले पनि ठाडै उत्तर दीइ। हात मुख धोएर खाना खान बस्यौ। प्रेसर कुकरमा पकाएकि रहिछ, जत्रो कुकर तेइ भरि। दुइ जना लाइ पकाएकि हप्तै भरि पुग्ने गरेर। भटमास त कतै देखिदैन थ्यो, दुइ तिन वोटा आलुका टुक्रा हरु पिधमा डुबिरा अनि एक दुइ वोटा साना टुक्रा गुन्द्रुक चै पौडि खेलिरा। अलिकति चाखेको गुन्द्रुक को केहि स्वाद नै छैन। धाक भने चै आमाले पकाउनु भएको पनि बिर्सिने गरेर पकाएको छु भन्थि। मलाइ त गुन्द्रुक नै पकाको हो कि होइन पनि सन्खै लाग्यो। कुन गुन्द्रुक पकाएको देखा त भनेको त "धेरै थिएन जति थियो सबै नै पकाएँ" भन्दै खालि सिसि देखाइ, हेर्छु त नेपाल देखी कालो दाल झान्न भनेर मगाएको जिम्बु को सिशि रित्तै।

Last edited: 13-Jun-08 08:50 AM
Read Full Discussion Thread for this article