Posted by: somewhereondearth June 7, 2008
एउटा आशा!
Login in to Rate this Post:     0       ?        
भाग २ बाट अगाडि,

……………………….

निकास के त? गर्ने के? अब के हुन्छ ? म कहां जाउं ? कसलाई सोधौ, के भनौ? हप्ता दिन बिति सकेको थियो । रिस मरे पनि आशाले यि प्रश्न को उत्तर भेटेकि थिईनन् ।  एक अर्थमा भन्दा ब्यवहार र जिम्मेवारिले रिसलाई दबाएको थियो । नत्र दार्जिलिन्गकि  हठि आशा, लोग्नेले  स्वास्नि ल्याउदा किन दिनौ सम्म सुंक सुंक गरेर बस्दथिन होला र??

माईत जाउँ जस्तो पनि भएको थियो । तर अंह कहां जाने र? उनको घर भनेको पनि संसार भनेको पनि त्यहि थियो । कहां छोड्न सक्थिन र? भविष्य र बिगत को कल्पना र सम्झनाको अफ्ठ्यारो दोसाध मा आशाका दिनहरु बित्न थाले । बोलिरहने जिस्किरहने आशा अब गह्रौं भईसकेकि थिइन् । हितैषी संग के कुरा गर्ने ? जीवनको सबै भन्दा ठुलो भावनात्मक चोट त उनको जीवन साथिले नै लगाएको थियो । उनले जो संग सारा जीवन बिताउँछु भनेर संसार छोडेर आएकि थिईन आज उसैले उनलाई सबै भन्दा एक्लो बनाएको थियो । तर पनि आशाको मनमा रिस भन्दा आँखामा आसुं नै थिए । रात छिप्पिसकेको थियो । कान्तिपुर एफ एम गित सुनिता सुब्बाको गित बज्यो ।

“थामेर किन छोड्यौ हात हरु, रोजेर किन तोड्यौ साथ हरु

छोडेर गयौ सारा याद हरु, रोएर बिते मेरा रात हरु

………………………..

दुई किनार हरु छोएर बग्ने, तिम्रो बानि मैले चिन्न सकिन

तिमी बग्यौ कुन सागरमा मिल्न, लहर हरु मैले भुल्न सकिन ।

……………………...

धेरै बहार हरु लुटेर भाग्ने तिम्रो काहानि मैले बुझ्न सकिन

तिमी उड्यौ कुन बसन्त भेटन, ओईलिएर फेरि म फुल्न सकिन

थामेर किन…….

………………………..

दार्जिलिन्ग देखि नै सुन्दै आएको भए पनि आएको भए पनि आज उनलाई यो गित उनकै लागि गाएको जस्तो लाग्यो । गित मै डुबिन् । त्यहि फिक्कलको उमेर र जीतबहादुर को हासो सम्झिन । त्यो उनको बिगत थियो । आज नानी र बाबु काखमा छन । जित बहादुर कहां कहां । यो उनको बर्तमान ।

समय त्यसै बित्दो रहेछ । दुई दिन चार दिन  गर्दा गर्दै महिना सम्म कट्यो । आशाले जीवनको सत्य निलि सकेकि थिईन् । दिनचर्यामा बदलाब आउनु स्वाभाविक थियो । तर दिनहरु सँगै आशाका बानि ब्यबहार मा पनि महत्त्वपुर्ण परिवर्तन हरु देखिएका थिए, जुन क्षणिक कदापि थिएनन् । बोलिरहने आशा गमि भईन्, कुरा बिचारेर मात्र बोल्ने । बोल्दा ठाउँमा नै पेच पर्ने गरि बोल्ने । रिस बढि उठ्न थालेको थियो । सानो सानो काम बिगार्दा नानी बाबुले पिटाई खानु सामान्य जस्तो भएको थियो । परिवर्तन संसारको नियम हो, फरक यति मात्र हो, कहिले थाहा हुन्छ कहिले थाहा हुन्न ।  कहिले मीठो हुन्छ कहिले तितो ।

………………………………………………..

एक सांझ जितबहादुर आईपुग्यो, धनकुट्टा बाट । हंसाई उस्तै, फरक यति मात्र थियो, उसले बर्षौदेखि राखेका जुंगा फालेको थियो । संधैजसो पहाडे खसिको मासु र नानि बाबुलाई धनकुट्टे बिस्कुट अनि त्यहि आर्मी को हिडाई ।

आशाको मुहार मा जीतबहादुर आउँदा हुने चमक देखिएन । स्वभाविक थियो । उ बोडि र फर्सिका मुन्टा केलाएर नै बसि । चामल पखालेर नै बसि । न चिया, न पानी । न स्वागत को हांसो, न आंखाको भाका । उ कुनै हिसाबले पनि जीतबहादुर कि पुरानी आशा थिईन।

जीतबहादुर ले यो बदलाब देख्न सकेन । हुन पनि उ घर आएको थियो । आफ्ना लुकाउनु पर्ने सत्य लुकाएर, बोक्नु पर्ने दायित्व बोकेर । पानी, नानी ले लगेर दिई । स्टिलको गिलास, केटाकेटि को हात । फोहोर थियो । आधा खाएर फाल्यो । आशालाई जीतबहादुर को यो बानि राम्रो संग थाहा थियो । उ जुरुक्क उठेर कागति पानी बनाउन पनि सकिन । बरु निकै बेरपछि चिया बसालि । आशा धेरै केहि बोलिन । खालि जीतबहादुर ले सोधेको कुरा को छोटो र सटिक जवाफ मात्र दिई ।

 

खाना पाक्यो । मासु पनि । यति बेला सम्म जितबहादुरले  पनि आशालाई रिस उठेको छ भनेर नापी सकेको थियो । आफु संग नै हो भनेर थाहा पाए पनि कारण के होला उसलाई थाहा थिएन । उसै त धेरै नबोल्ने, उसलाई आशाको रिस राम्रो संग थाहा थियो । यता उता कै कुरा गर्यो ।

‘के भयो आशा तंलाई?’ भनेर सोध्न चाहेन, सोध्न सकेन ।

खाना पछि नानीबाबु र जीतबहादुर एनटिभि को जिरिखुर्सानि मा रुमलिए । आशा जुठो घरधन्दामा लागिन् ।

१० बज्यो ।  नानी बाबु आफ्नो कोठामा लागे ।

आशा द्विविधामा परिन् । लोग्ने संग सुत्ने कि नानीलाई लिएर । चटक्क जान पनि सकिनन् । अनि बल्ल बल्ल फर्केको श्रीमान संग नजिकिने निहित चाहाना पनि जागेन । खालि एउटा अफ्ठ्यारो मात्र अनुभव भईरह्यो । न आशालाई अब जीतबहादुरले मलाई जबरजस्ति गर्छ भन्ने डर आयो , न फर्केको श्रीमानको न्यानो अंगालो मा बाधिने चाहाना नै । कुनै अपरिचित ब्यक्तिसंग बिताउनु परेको अफ्ठ्यारो मौन समय जस्तो । न एकले अर्कासंग आंखा जुधाउन सकिने, न बार्ताको सुरुवात गर्न सकिने । खोई के ले रोकेको जस्तो । आशा यहि अफ्ठ्यारो परिस्थितिमा रुमलिईरहिन् । जितबहादुर खाट्मा पल्टेको थियो । चुपचाप थियो, तर निदाएको थिएन । उसले आशाको ब्यवहार परिवर्तन र डरलाग्दो मौनता पढिसकेको थियो । अनि आशाले पनि, जितबहादुरले यति थाहा  पाईसकेको छ भनेर प्रष्ट रुपमा थाहा पाएकि थिईन् । यहि जानकारि ले आशामा झन् अफ्ठ्यारो उमारेको थियो ।

केहि छिन लुगा मिलाएको जस्तो पनि गरिन, कहि छिन कपाल कोरेको जस्तो । केहि सोच्न सकिनन् । खालि मन बिगत र बर्तमान अनि कता कता को कल्पना मा उडिरह्यो । घरि दार्जिलिन्गमा, घरि फिक्कलको चिया बगानमा, जुठा छुर्पीमा त घरि छाति माथि गाडिएको सौता रुपि शुल मा ।

आशालाई जीतबहादुरले आफै के भयो भनेर सोधोस जस्तो लागेको थियो । अंह, जितबहादुरले केहि सोधेन। कस्तो निष्ठुरि !!  केहि लागेन । आशाले बत्ति निभाई र अर्को पट्टि फर्केर सुत्ने प्रयास गरि ।

 

निन्द्रा दुबैलाई थिएन । मौनताले निकै बेर ठाउँ लियो । जीतबहादुर आशा पट्टि फर्कियो । तर उसलाई छोएको थिएन् । आशालाई आफै देखि डर लागि रहेको थियो । अब म के गर्छु भन्ने जस्तो ।

शायद जीवनको बिडम्बनाहरु मध्ये एउटा यो पनि हो: महिनौ देखि परदेशिएको आफ्नो जीवन साथी आज आफ्नो नजिक हुदा न्यानो अंगालोमा अंगालिन नसकिने । शायद, आत्म सम्मान प्राप्ती भन्दा ठूलो हुन्छ । समयको यो बिन्दु मा आशालाई आफ्नो जीतबहादुरसंग नजिकिन उसको आत्मसम्मानमा लागेको चोटले नै रोकेको थियो ।

……………………………………………….

जीतबहादुर आफै नजिकिन खोज्यो । आशा चलमलाईन्, निशब्द बसि रहि । जीतबहादुरले अलिक सामिप्यता खोज्यो , आशाको जिउमा अधिकार खोज्यो ।

आशा एकै चोटि पोखिई । ‘पर्दैन छुन, अर्कालाई ।‘ जितबहादुरको हात पर हुत्याइदिई ।  यो यस्तो क्षण थियो  जसलाई आशाले दबुन्जेल दबाएकि थिई । तर सकिन । भनिन्छ नि, कति हारहरु हामीले हारे पनि लाचार भएर हार्न चाहान्नौ । आशाले चुपलागेर आफुलाई जीतबहादुरलाई समर्पण गर्न सकिन । उसको मन ले मानेन । उसलाई रिसाउनु थियो । कराउनु थियो । पोखिनु थियो । भित्र मनको चोट थियो । आत्मा मा लागेको । उ रिसाई, कराई, गालि गरि, रोई ।  सबै बेदना पोखि । जे भए पनि आखिर पोख्ने त जीवन साथी संग न हो ।

 

……………………………………………..

जीतबहादुर एकनासले बसि रह्यो । नाई, होईन पनि भन्न सकेन ।

उ पनि परम्परागत समाजमा हुर्केको पुरुष थियो । स्वास्नी संग गल्ति स्वीकार गरेर माफिको बिन्ति पनि गर्न सकेन । न  नै बाउ बाजे ले जस्तो ‘मर्दका १०० वटि हुन्छन्।  खुट्टाका जुत्ता जति फेरि पनि तंलाई के?’ भन्ने जस्ता गालि गरेर बिजयी नै बन्न सक्यो । न त उलाई उसको पौरुषताको आत्म सम्मानले हार मान्न दियो न भने उ रोई रहेकि आशालाई गालि गरेर आफु जोगिन सक्यो ।

दुबै बोलेनन् । आशा को रुवाई बिस्तारै सुंक सुंक भयो । झगडा निशब्द सकियो । दुबै एउटै खाट्मा सुतेका थिए, एक अर्का संग कोषौं टाढा भएर ।……………………

क्रमश:

meaninglessthinkings@somewhereondearth

Read Full Discussion Thread for this article