Posted by: Rahuldai April 25, 2008
सबिता र कबिता
Login in to Rate this Post:     0       ?        

सबिताकबिता
भाग ८
 

कलेज बन्द भएर करिब डेढ महिना काठमाडौ बस्दा डेढ दर्जन पल्ट मैले कबिता र पाक:चा को चर्तिकला देखें। अनिष्ठको संकेत देखें। इलाहाबाद फर्की ज्ञानलाल लाई  अप्रत्यक्ष किसिमले भए पनि जानकारी गराउनु धर्म संझे र हवाइ पत्र काटें।
"मलाई शंका लागेको छ ज्ञानलाल, त्यो शंकाले लंका न जलाओस्, अलिकति होशियार खबरदार् गर्दा बेश हुन्छ कि भनेर लेखें।"

उता ज्ञानलाल मेरो पत्र पढेर दुर्बासा ऋषितुल्य हुने नै भए। उनको पबित्र प्यारमा शंकाको डंका पिट्ने हिम्मत? हो त्यो हिम्मत हरकोइले गर्न सक्दैन। सच्चा प्रेमका पुजारीहरुले मात्र गर्न सक्छ।

पत्रको जवाफमा उनको प्रेम पबित्र छ, कबिताले उनलाई प्राणभन्दा माया गर्छे, उनीहरुको बिश्वास दुइ चार् जनाले भन्दैमा, गन्दैमा टुट्ने होइन आदि इत्यादि लेखे। हुन त ज्ञानलाल लाई शिबपुर् ( कलकत्ता) मा बसेर कान्तिपुरको हाल खबर् थाहा पाउने कुरो पनि रहेन। फेरि उनीहरुको गहिरो मायाको अन्दाज हुनेलाई कबिताको यस्तो रुप  अकल्पनिय नै लाग्ने हुन्छ। शिबपुरमा आफ्नी पार्बतिलाई सति साबित्री सम्झदै ध्यान मग्न छ ज्ञानलाल्। उता कबिताको छन्द परिवर्तन भैसके जस्तो छ। टाइम मै कुरा क्लियर भएन भने चोखो मायागर्नेहरुले माया शब्द संग नै भरोसा गर्न छोड्ने छन्। आइन्दा कसैले कुनै अमर प्रेम कहानी लेख्दैनन्। बिपरीत लिङ्ग प्रति नै घ्रिणा उब्जिने छ।

मैले फेरि लेखें,
"मेरो शंका मात्र हो, केही आधारहरु छन्। मेरा आँखाको पावर्  अझै ६ बाइ ६  मा नै छ। बरु भेटेरै कुरा गर्न पाए, हामी दुइ र तिमीहरु दुइको बारेमा भ्रम निवारण हुने छ।"

हुन त ज्ञानलाल् ले मैले भनेको कुरा को अबज्ञा कहिलेइ गरेको थिएन र गर्दैनन् पनि । हामी बिचको मित्रता को जग नै एक अर्काप्रति सम्मान र बिश्वास् हो।

होली को अबसरमा हाम्रो कलेजमा ४ दिन छुट्टी हुने र एक दिन अगाडी एक दिन पछाडी क्लास हाप्दा सात दिने छुट्टि बनाउन सकिने स्वर्ण अबसरमा मैले कलकत्ता जाने निधो गरें। मित्रताको मात्र सवाल् थिएन, यहाँ एक निर्दोष प्रेमीको प्रेम बब्वाल मा छ।  प्रेम मर्न दिन हुन्न।


कलकत्ता गएं, ट्रेन स्टेशन मा ज्ञानलाल आए लिन। भेट्ने बित्तिकै कबिताको कुरा के हो भन भन्छ बा। १४ घण्टाको सफर कस्तो भयो, दुख सुख को कुरा सोध्नु कता कता, कबिताको कुरा। प्रेम डुबे पछि यस्तै हुन्छ, मन मनै भनें।

"सब बिस्तारमा भनौला, पहिला होस्टल त जाम्, केही त खाम्। भोक लागेर झोंक चलिसक्यो।"

रातको खान खाए पछि मैले ज्ञानलाल लाई काठमाडौमा मैले देखेको कबिता वाचन गरिदिएं सबिस्तार्। हेरेको हेरै भए, टोलाइरहे केही बेर। आफैलाई बिश्वास लागेन होला उनलाई। तर ज्ञानलाल मेरो कुरामा नि अबिश्वास् गर्न सक्दैनथे र यसपाली पनि । यो हुनै सक्दैन, त्यसले त्यस्तो गर्नै सक्दैन। एक छिन आफ्नै अदालतमा बहस् गरे।
अनि आफ्नो डराजबाट एकमुष्ठ पत्रहरु झिकेर मेरो सामु राखिदिए।

"लौ यो पढ।"
"नाइ तिम्रो लभ लेटर पढ्न सक्दिन। मेरो नैतिकताले दिदैन।"

अनि उ आफै एक एक गर्दै सम्बोधन मात्र पढ्नथाले।

प्राणेश्वर ज्ञानु,
प्राणभन्दा प्यारो ज्ञानु,
मेरो मुटुको धडकन ज्ञानु
आदि इत्यादि। 

यस्ता अनेक सम्बोधन नि कहाँबाट सिकेकी हुन् तिनले? पक्कै "प्रेम पत्र कैसे लेखें?"  "लभ लेटर लेखने का सौ तरिक"  भन्ने किताब रन्जना अगाडिको सोडा पसल संगैको किताब पसलमा किनेर पढेकी हुनु पर्छ।

प्राणेश्वर रे- पत्रमा, उता नाथेस्वर बनाउन लागेकी छे। प्राण भन्दा प्यारो रे, ज्यान भन्दा प्यारो अर्को रोजी सकी। मुटुको धड्कनरे, गालामा चडकन् दिनु पर्ला जस्तो भैसक्यो।
ज्ञानलाल रोए भित्र भित्रै। न रूस् कसरी? मुटु रेटिंदाको पीडा मुटु हुनेलाई मात्र थाहा हुन्छ।


 मैले भने, "हेर ज्ञानलाल मैले देखेको र मेरो ब्रम्हले देखेको कुरा यही हो, यो नै पूर्ण सत्य नहुन सक्छ। यसपालीको गर्मीको छुट्टीमा हामी दुबै घर जान्छौ नै। अझै सत्य तथ्य पत्तालगाएर जे गर्नु पर्छ गरौला। अहिले नै फाइनल नगरी हालौं। तर सन्देहको घेरा भित्र राख्नै पर्छ, यो मेरो निजी बिचार हो।"
 
त्यो रात भर ज्ञानले उनको प्रेम कहानी एक एक गरी भन्न थाले, यसमानेमा हामी दुबै सुतेनौ ।
नसुतेको ज्ञानलाल त्यसमा नि मूड अफ, मर्निङ् गूड हुने सवाल नै थिएन। लन्च खाएर हामी कलकत्ताको बजार घुम्न निस्क्यौं। मान्छे नै मान्छे, कति मान्छे। नरायण दाईको गीत याद आयो।

कति सस्तो जीवन, कति सस्तो मान्छे
जता ततै देख्छु, मान्छे माथि मान्छे।
सयौं पेट मारी नअघाउने मान्छे,
अबलालाई दुख्दा रमाउने मान्छे।


मलाई लाग्यो, मान्छे मात्र होइन, प्रेम पनि तसवीरको फ्रेम जस्तो सस्तो भएको छ अचेल।

एक्कास्सि ज्ञानलाल् पड्क्यो, "म त्यसलाई आजै लेटर लेख्छु, को हो त्यो को संग हिडेको भनेर।"
 
ज्ञानी ज्ञानलाल यसरी पड्केको पहिलो पल्ट होला।

"होइन ज्ञानलाल्, यसरी आबेशमा आएर केही हुन्न? आफ्नै ब्लड प्रेशर मात्र बढ्छ, त्यसै त कलकत्ताको गर्मी, रगत नै ब्वाइल होला फेरि।" आफ्नै स्टाइलमा दिएं मैले नि।
 
"लेख्ने भए लेख, पुरानै पारामा सारा कुरा लेख, लास्टा मात्र छुस्स मसाला हाल। कसैले अस्ति देखेको रे  भनेर मलाई सुनायो, मैले साप संग झपारे, मेरो मायाको बारेमा यस्तो अनर्गल सोच्ने भनेर मात्र लेख। त्यसको रियाक्सन् कस्तो हुन्छ त्यसमा बरु बिश्लेषण गर्नु पर्ने हुन्छ।" 

कलकत्ता भ्रमण सक्याएर म आफ्नै ठाउंमा फर्कें। केही समय पछी ज्ञानलालको पत्र पाएं। त्यो छुस्स लेखेले जुरुस्त काम गर्‍यो। त्यो सब उनीहरुको प्रेमबाट जल्नेहरुको कपोलकल्पित कुरा रे। कहिले काहिं ट्युशनबाट फर्किंदा बाटोमा टाढाबाट फुपु पर्नेको छोरा संग भेट हुने र बेलुकी डरलाग्ने भाकोले घर् छोड्न आएको रे।

वाह्!, वाह् !  कबिताजी, क्या गजबको भावबिश्लेषण। सिनेमा हल, त्यो पनि दिउसै ट्युशन पढ्ने थलो रहेछ, कबिताको भावमा। राती मैनबत्तीको मधुरो प्रकाशमा टाँस्सिएर बियर संगै माइ डियर भन्नु ट्युशन पढाई रहेछ। पर्भू को लीला अपरम्पार रहेछ, त्यसै भनेको होइन रहेछ, पर्भू।

क्रमश:

Read Full Discussion Thread for this article