"यि माओबादीहरु वार्तामा आउँदै आउँदैनन्" भन्थे। आए।
"वार्तामा आए पनि, यो नौटंकी मात्र हो, आफ्नो महोत्त्वाकांक्षा पुरा गर्नलाई स्वाङ् पारेका। हतियार बिसाउँदैनन्" भन्थे। बिसाए। (फ्याट्ट फुट्ट अनियमित्ता भिन्नै)
"अब चुनाव हुन दिंदै दिन्नन्" भन्थे। दिए।
"चुनावमा पत्ता साफ हुनेछ यिनेरुको, एक सिट पनि जित्ने छैनन्" भन्थे। एक त के, बहुमतै ल्याउला जस्तो पो छ त!
कुरो के भने, हामीहरु मध्ये केहिलाई नपच्ला माओबादीको यो जादु, तर यथार्थ भने हामी सबैको आँखा अगाडि छर्लङ्ग छ। माओबादी सुध्रंदै आएका छन्, र आम नेपाली जनताले त्यो कुरा बुझेका मात्र होईनन्, सहर्ष स्वीकारेका पनि छन्। नत्र ऊनीहरुले मत पाउने कुनै आधारै थिएन।
पुराना, रुढीवादी सोंचाईका नेताहरु (कांग्रेस या एमालेका) लाई घोक्रे ठ्याक लाउन सक्नु नै यो चुनावको सब भन्दा महत्त्वपूर्ण गर्व हो। नयाँ शुरुवात हुने निश्चय छ, स्वच्छ मैदानमा।
अब के होला, के नहोला, त्यो त भए पछि मात्र थाहा होला। माओबादीले सर्वाधिक मत ल्याउलान्, नल्याउलान्; या सरकार गठन गर्लान्, नगर्लान्; या खाँटी कम्युनिष्ट आधार मै गर्लान् नगर्लान्। त्यो कुरा आईलागे पछि नेपाली जनताको चित्त नबुझेमा जाईलाग्ने नै छन्/छौं।
हाललाई भने, चुनाव भयो। त्यो पनि कदर लायक सहभागिता सहित। लगभग शान्तिपूर्ण। यसैमा खुशी होऔं न! के यस्तो नेपाली राजनैतिक ईतिहास मै पहिलो पटक भएको होईन?
केहिलाई अंगुर अमिलो त भो होला, तर त्यो अमिलो अंगुर पचाऊँ, अनि भोलि चर्पिमा फालौं। पर्सिको अंगुरको स्वाद अर्कै होला, नहोला, या नपचे के उपचार गर्ने विचार गर्दै गरौंला।
चानस भनेको सबैले पाउनु पर्छ। बिषेश गरि नयाँ अनुहार, नयाँ सोंचाई, या नयाँ विचारधाराले।