Posted by: Slackdemic April 11, 2008
Maobadi Sweeping Sweeping
Login in to Rate this Post:     0       ?        

This relevant piece from mysansar:

http://www.cjreport.com/mysansar/?p=6

माअ‍ोवादीको पक्षमा देशव्यापी जनमत

अपडेट (साँझ ७): संविधान सभाको निर्वाचनमा माअ‍ोवादीको पक्षमा देशव्यापी जनमत देखिएको छ। मतगणनाका प्रारम्भिक परिणामहरु आउँदै गर्दा माअ‍ोवादीले अरु दलहरुलाई निकै पछाडि राखेर अग्रता कायम गरिरहेको छ। चुनाव अघिसम्म माअ‍ोवादीले २० सिट ल्याउँछ कि ल्याउँदैन भनेर बाजी ठोक्न अघि सर्नेहरु अहिले मतगणनाको प्रारम्भिक परिणाम देखेर जिब्रो टोकिरहेका छन्।

हालसम्म २७ जिल्लामा भइरहेका मतगणनामध्ये माअ‍ोवादीले ३२ स्थानमा अग्रता हासिल गरेको छ। सात स्थानमा अग्रता हासिल गरिरहेको एमाले दोस्रो स्थानमा रहेको छ भने नेपाली काँग्रेस ६ स्थानमा अग्रस्थानमा रहेको छ। नेमकिपा २ र फोरम १ स्थानमा अगाडि रहेको छ।

माअ‍ोवादीको पक्षमा देखिएको यो व्यापक जनलहर नेपालीहरुको गणतन्त्रप्रतिको मोह हो कि माअ‍ोवादीको आकर्षक नारा सबैलाई हेर्‍यौँ पटक पटक माअ‍ोवादीलाई हेरौँ यस पटक को प्रभाव हो ? वा पुराना नेतृत्वप्रतिको वितृष्णा हो, वा शान्तिप्रतिको चाहना- यस विषयमा विश्लेषकहरुले विश्लेषण गर्ने नै छन्, तर परिणामले विश्वलाई त के, नेपालीहरुलाई नै अझ माअ‍ोवादी नेतृत्व तहलाई नै आश्चर्यमा पार्ने देखिएको छ। काठमाडौँ उपत्यका जस्तो मध्यमवर्गीय तथा उच्च मध्यम वर्गीयहरु बस्ने ठाउँमा समेत कतिपय स्थानमा माअ‍ोवादी अग्रस्थानमा रहनु र एमाले महासचिव माधव नेपाललाई समेत माअ‍ोवादी उम्मेदवारले उछिन्नु, ललितपुर ३ मा माअ‍ोवादी नेतृ पम्फा भुषालको विजय लगभग निश्चित हुनुले पनि नेपालीहरुप्रति परिवर्तनको चाहना देखिएको छ।

माधव नेपालको हालत नै यस्तो छ भने एमालेले लालकिल्ला भन्ने गरेको उपत्यका जस्तो ठाउँमा एमालेका अरु नेताहरुको हालत झन् खराब छ। काठमाडौँ ८ मा अष्टलक्ष्मी शाक्य दोस्रो स्थानमा रहेर काँग्रेस अग्रस्थानमा रहेको छ भने काठमाडौँ ९ मा एमालेका यसअघि अत्यधिक बहुमतले जित्दै आएका कृष्णगोपाल श्रेष्ठ तेस्रो स्थानमा रहेको छ। काठमाडौँ ५ मा काँग्रेसका गणतन्त्रवादी नेता नरहरि आचार्य पहिलो नम्बरमा रहेका छन् र माअ‍ोवादी दोस्रो स्थानमा अनि प्रतिगमन सच्चियो भन्दै ज्ञानेन्द्रको शासनकालमा आपूर्ति मन्त्री बनेका ईश्वर पोख्रेल तेस्रो स्थानमा छन्। एमालेको इज्जत धान्ने काम झण्डै टिकट नपाएका एमालेका युवा नेता योगेश भट्टराईले गरेका छन्। उनको पछि माअ‍ोवादी र तेस्रो स्थानमा काँग्रेस रहेका छन्।

काठमाडौँ १० मा प्रचण्डको स्थान मतगणना सुरु भएदेखि नै अग्रस्थानमा रहेका छन्। अहिले प्रचण्ड झण्डै पाँच हजार मतका साथ अगाडि छन् भने यहाँ एमाले तेस्रो स्थानमा रहेको छ। काँग्रेस झण्डै तीन हजार मतका साथ दोस्रो स्थानमा रहेका छन्। काठमाडौँ १० का ११ हजार भन्दा बढी भोट गनिसकिएको छ। अझै त्यहाँ त्यति नै मत गन्न बाँकी नै छ।

माअ‍ोवादीले सोचे जस्तो परिणाम नआउने डरले नै मंसिर छ गतेको संविधान सभाको निर्वाचनलाई स्थगित गरेको तथ्य यहाँ स्मरणीय हुन आउँछ। त्यतिबेला बार्गेनिङ गरेर बल्ल माअ‍ोवादीले समानुपातिक तर्फको संख्या बढाएका थिए। तर अहिलेको प्रारम्भिक मतगणनाको संकेतले पछिल्लो आम निर्वाचनमा एमालेबाट टुक्रिएको मालेको जस्तो हालत अहिलेको एमालेको हुने त हैन भन्ने आशंका उब्जिन थालेको छ।

निर्वाचन आयोगका अनुसार ३६ जिल्लाका सदरमुकाममा मतपेटिकाहरु सबै पुगिसकेको हुनाले बाँकी ठाउँमा पनि बिस्तारै मतगणना सुरु हुनेछ। आयोगका अनुसार ६० वटा मतदान केन्द्रका निर्वाचन स्थगित गरिएको छ। सात दिनभित्र त्यहाँ निर्वाचन भइसकेपछि बल्ल ती केन्द्रका मत गन्न थालिनेछ।

Read Full Discussion Thread for this article