Posted by: Nepe March 25, 2008
भविश्यको डायरी
Login in to Rate this Post:     0       ?        

माओवादीले आफुलाई बुर्जुआ चुनावी दल (चुनावका सारा populist तिकडम प्रयोग गर्न जानेको) को रुपमा रुपान्तरण नगरेको (गर्न केही नचाहेको पनि हो, केही नसकेको पनि हो ) कुरा साँचो हो र यसको प्रतिफल चुनावमा देखिने कुरा लगभग निश्चित छ । तर के कुरा पनि साँचो हो भने माओवादी नेतृत्व यसबाट अनभिज्ञ छैन ।

 

सम्विधानसभाको चुनावबाट एकलौटी सत्तामा पुग्ने भ्रममा माओवादी छैनन्, न त सम्विधानसभाको चुनाव भाँडेर वा नतिजा अस्वीकार गरेर सत्ताको ठुलो अंश हात लाग्ने वा अन्य रणनैतिक लाभ प्राप्त हुने निष्कर्षमा छन् ।

 

माओवादीहरु अहिलेलाई चुनावबाट जे हात पर्छ त्यसैलाई पारिस्थितिक प्राप्तीको रुपमा स्वीकार गरेर सत्ताप्राप्तीको लागि नहतारिईकन दीर्घकालिन योजना र प्रयत्न जारी राख्ने (अर्को चुनाव वा त्यस्तै कुनै अवसर) मनस्थितिमा देखिन्छन् ।

 

जनमुक्तिसेना को नि:शस्त्रिकरण वा decommissioning नभईसकेको र बरु त्यसलाई राष्ट्रिय सेना मा बदल्ने संझौता भएकोले जनमुक्तिसेना उनिहरुको लागि एक बलियो तुरुप को रुपमा अझै छ । अन्य दलहरुले चुनावमा बहुमतै ल्याएपनि उनिहरुको चिन्तन-मनन र कार्यशैलीमा कुनै ठूलो परिवर्तन देखिने छाँट नभएकोले चुनावपछि उनिहरुप्रति देखापर्नसक्ने जनअसन्तुष्टि  पनि माओवादीको लागि दीर्घकालिन लाभको विषय हुनसक्छ ।

 

त्यसैले माओवादीको लागि समयको अन्त्य भईसकेको देखिदैन र त्यसले गर्दा उनीहरु हताश र निराश भएर जथाभावी गर्दै हिड्नु पर्ने देखिदैन ।

 

तीनवटा बन्दूक जम्मा गरेपछि नेपालमा क्रान्ति सम्पन्न गर्न भनेर हिडेका परम-स्वप्नशिल र परम-आशावादी जातका जन्तु हुन् माओवादीहरु, एउटै चुनावको परिणामले भत्कन्नन् ती ।

 

जनमुक्तिसेनालाई यतिञ्जेल भत्काईसकिएको भए त्यसो हुन पनि सक्थ्यो । तर नेपाली कांग्रेसको जुवा खेलाईमा जनमुक्तिसेनाको अन्त्य भविष्यको जिम्मामा परेकोले माओवादीको सैनिक शक्ति यथावत छ ।

 

अब यी सारा विकास क्रमलाई जसरी पनि (सकारात्मक, नकारात्मक, यथार्थवादी, व्यवहारवादी वा आदर्शवादी दृष्टिले) हेर्न सकिन्छ । तर के चाही पक्का छ भने अन्य द्वन्दग्रस्त र अस्थिर मुलुकका तुलनामा (ईराकमा विश्वलोकतन्त्रको प्रहरी र सर्वसाधनसम्पन्न महाराष्ट्र अमेरिकाले चलाईरहेको लोकतन्त्र पुनर्स्थापनाको पवित्र युद्धमा निर्दोष मानिसहरु कति संख्यामा मारिइसकेका छन् कसैलाई थाहा छ ?) नेपालले थोरै मुल्यमा र खास खास अवसरमा जनताको जनादेशद्वारा नै ठूलो ठूलो परिवर्तन ल्याएको र वहन गरेको छ ।

 

नेपालको राजनैतिक परिवर्तनबाट अलग बसेको पप-पुस्ते युवाहरुको आफ्नै गुनासो र कष्टहरु छन् । किन्तु नेपाल तिनीहरुले सोचेजस्तै खत्तम र दिग्भ्रमित चाही छैन । यति त म भन्न सक्छु ।

 

अन्त्यमा, नेपालको घटिरहेका घटनाप्रति चासो र चिन्तनकासाथ संलग्नता जनाईरहनु भएकोमा ठरकीदादाज्यूलाई धन्यवाद र बधाई !

 

आजको दश-बीस वर्ष पछि पछाडि फर्केर हेर्दा नेपालको राजनैतिक परिवर्तनमा असंलग्न पप-पुस्ते युवावर्ग र संलग्न चप्पलधारी वर्ग देखि सुटधारी वर्ग सम्मका पुस्तालाई अचम्मलाग्दो अलग अलग वर्गको रुपमा हेरिने छ । यत्रो विशाल परिवर्तनमा आफ्नो चिन्ह छाड्न यो पप‍पुस्ता कसरी चुक्यो यो त्यो बेलाका विश्लेषकहरुको लागि ठूलो रुची र अनुसन्धानको विषय हुनेछ ।

 

अस्तु ।

 

Nepe

Read Full Discussion Thread for this article