Posted by: Nepe March 18, 2008
अन्तिम रात
Login in to Rate this Post:     0       ?        

Midsouthwestener ज्यू,

 

तपाईको स्पष्टवादी, सकारात्मक र उत्साहवर्धक रिपोर्ट सुनेर मलाई राहत अनुभव भएको छ । मैले थुप्रै सम्बन्ध-विच्छेदहरुलाई नजिकबाट हेर्ने अवसर पाएको छु, त्यसैले तपाईको पीडालाई हुबहु अनुभूति गर्न नसकेपनि केही हदसम्म कल्पना गर्न सक्छु भन्ने लाग्छ मलाई ।

 

मैले अक्सर के पाएको छु भने सम्बन्ध-विच्छेदहरुमा सबै परित्यक्त पक्षहरुमा गुमाउनुको पीडा समान भए पनि सबभन्दा बढी पीडा दिने खास कारणहरु भने हरेक सम्बन्ध-ईतिहास अनुसार फरक फरक हुँदा रहेछन् ।

 

कसैलाई सोध्न नसकिएको/नमिल्ने कारणहरुले सबभन्दा बढी पीडा दिने, कसैलाई नपाईएको उत्तरले सबभन्दा बढी पीडा दिने, कसैलाई पाईएको उत्तरले सबभन्दा बढी पीडा दिने, कसैलाई आफ्नो लगानीको मात्रा र हदले सबभन्दा बढी पीडा दिने, कसैलाई आफ्नो भोलापनले सबभन्दा बढी पीडा दिने, कसैलाई तेश्रो पक्षको उपस्थिति/भूमिकाले सबभन्दा बढी पीडा दिने, यस्तै यस्तै ।

 

सम्बन्ध-विच्छेद आजको युगमा सामान्य दूर्घटना हो । दूर्घटनालाई हामी जसरी deal गर्छौं, सम्बन्ध-विच्छेदलाई पनि त्यसरी नै deal गर्ने हो । मूख्य कुरा हाम्रो हृदयमा त्यसको खत पर्न नदिनु हो जस्तो लाग्छ मलाई ।

 

र यस्तो खत पर्न नदिन हामीले स्वभ्रम वा ढाँटको सहारा लिने होईन बरु तपाईले प्रदर्शन गर्न खोजिरहनुभएको जस्तो ईमान्दारिता, समझदारी र साहसले त्यो काम फत्ते गर्नुपर्छ ।

 

मलाई पक्का विश्वास छ, तपाई कुनै तिक्तता र खत नबोकी अगाडी बढ्नुहुनेछ र मलाई के पनि आशा छ भने यो अन्त्यको वावजुद तपाई उनीसंग बिताएका क्षणहरुको उचित किर्तन र गौरव गर्न सक्ने अनि उनको अलग यात्राको एक सक्कली शुभेच्छुक हुनुहुनेछ ।

 

हवस् त, समस्त शुभकामनाहरु सहित,

 

Nepe 

 

Read Full Discussion Thread for this article