Posted by: MidSouthWesterner March 14, 2008
Login in to Rate this Post:
0
?
हुन त हाम्रो सम्बन्ध बिच्छेद भएको धेरै समय भईसक्यो, हामीबिच कुनै सम्पर्क पनि छैन। सम्बन्ध बिच्छेद मेरो चाहना थिएन, त्यसैले कुनै सम्पर्क नभएपनी बिहान उठ्ने बित्तिकै बिस्ताराबाट झर्नु अगाडि उस्लाई नसम्झेको र उस्को मुहार आँखा अगाडि नआएको कुनै दिन नै थिएन। सारा प्रयासका वावजुदपनि मैले उस्लाई कहिले बिर्सिन सकिन। मलाई थाहा थियो त्यो सम्भव छैन, तर पनि हरेक दिन कतै उस्को मन फर्किन्छ कि? केही आश्चर्य पो भइहाल्छ कि? भन्ने कल्पनामामात्र आफुले आफुलाई सान्त्वना दिदै २ वर्ष बित्यो। त्यो मेरो बालकपनमात्र थियो किनभने आश्चर्यता तबमात्र हुन्छ जब कल्पनानै नगरेको, सोच्दै नसोचेको कुरा अकस्मात हुन्छ। शायद म मुर्ख नै थिए, कल्पनामा कल्पित कुराहरुमा आश्चर्यता पर्खेर बस्ने, तर आफ्नो मुर्खताका वावजुदपनी म एउटा सुनौलो आशामा आफ्ना दिनहरु काटिरहेको थिए। उस्लाई सम्झिन पाउदा, कल्पिन पाउदा, यथार्थमा बाँच्न नसके पनि आफ्नो सपनाको संसारमा रमेको थिए। यथार्थ कुराहरुबाट प्रभावित खुशीका छणहरु मेरो जीवनमा विरलै थिए, तर आजबाट कल्पित छणहरुको खुशीले पनि मेरो साथ छोडिदिएको छ। आज बिहान कतै बाट थाहा पाए, उस्को बिहा भइसक्यो रे! हुन त उमेर को हिसाबले म न त बच्चा हुँ न त अध्बैसे नै, र मलाईपनि थाहा छ, समयले जतिसुकै ठुलो र जतिसुकै दुख्ने घाउमापनी मल्हम लगाउछ, जतिसुकै चोट परे पनी जीवन रोकिदैन, चलिरहन्छ भनेर। तर पनी, आज म आफुले आफुलाई सम्झाउन सकिरहेको छैन, आँफैले आँफैलाई बुझ्न सकिरहेको छैन। मेरो मुटु पोलिरहेको छ, छट्पटाइ रहेको छ। मेरो मनले उस्लाई बधाई पनि दिइरहेको छ, किनभने मलाई राम्रोसँग थाहा छ मेरो मनमा उस्को लागि अझै पनि माया बाँकी छ। तर पनि मेरो मन भित्रभित्रै मैले कहिले पनि महसुश नगरेको एउटा अनौठो चित्कार निकाल्दै रोइरहेको छ। आज मलाई एक्दमै नरमाइलो लागिरहेको छ। हामी दुईबिचको सम्बन्ध बिच्छेदपछी २ वर्षसम्म मलाई उस्को बाहेक कहिले कसैको साथ खड्केन। तर आज बिहानबाट मलाई पनि कसैको साथ खड्किरहेको अनुभुती भइरहेको छ। यथार्थमै, मलाई आज आँफैसँग र यो संसारसँग एकदमै नरमाइलो लगिरहेको छ।