उल्लास
तिमी उषाको पहिलो किरण
म नरम दुबोमा शीतको एक कण,
मिलनमा सुनिश्चित छ मेरो तिरोहीत भै जानु
तैपनि मिलनको यति आस किन छ?
प्राणमा यति प्यास किन छ?
मरणको यति उल्लास किन छ?
भारतकी कवयत्री अमृता प्रितमका कविता पढेजस्तो लाग्यो ! उच्चकोटीको !
मापदण्ड
के हामी सबै अलि क्रुर छैनौं र?
नाप्छौं अरुलाई
केशको लम्बाइले, छालाको रङ्गले,
अनुहारको आकारले, र राष्ट्रियताको नामले
अरु मापदण्ड पनि त छन नी
अनुहारको मुस्कानले, बोलीको मीठासले ,
आँखाका गहिराइले, र हृदयको न्यानोपनले???
वाह ! कति उच्च उदगार !
रहस्य
मायामा,
न त 'म' हुन्छ
न त 'तिमी' नै
तैपनि किन सबै भन्छन-
'म' 'तिमी' लाई माया गर्छु?
यो चाही अलि रहस्यमयी लाग्यो । रहस्यमयी प्रश्न होईन प्रश्नमा निहित मायाबारे assumption (मायामा ‘म’ र ‘तिमी’ हुँदैन भन्ने assumption) छ । एक बखत थियो, म पनि झण्डै त्यस्तै ठान्दथें । म चाही मायामा “म’ हुँदैन, केवल ‘तिमी’ हुन्छ भनिठान्दथें । अर्थात् अनुरागको त्यो परमसिमाना जहाँ स्वयं आफु र आफ्नो अनुरागको स्वचेतना (alertness) समेत हराउछ, त्यहा मात्र शुद्ध माया भेटिन्छ होला भनिठान्दथें । आत्मविस्मृति (unselfconsciousness) र अवचेतना (subconsciousness) को अवस्थामा मात्र भेटिने वस्तु हुनाले यो अबोधगम्य (incomprehensible) पनि छ भनिठान्दथें ।
अब त्यस्तो ठान्दिनँ । ‘माया’ लाई यसका बोधगम्य विभागहरुमा विभाजन गरेर बुझ्न सकिन्छ भन्ने पदार्थवादी भनेपनि वैज्ञानिक भने पनि त्यस्तो पो दृष्टिकोण राख्दछु म त अचेल । Reductionist दृष्टिकोण भनम् न ।