Posted by: Deep March 6, 2008
घर
Login in to Rate this Post:     0       ?        

...

सुकिर्तीले आफुले समातेको स्वर्णीमको हातलाई अलि जोड सँग थिची एक चोटी अनि छोडीदिई। स्वर्णीम खम्बा जस्तै चुपचाप उभिएकै थ्यो सुकिर्ती ओर्ली। एकै छिन पछि उ पनि ओर्लियो।

उस्ले तल सुकिर्तीलाई देखेन। कसैलाई सोध्न पनि उस्लाई खै किन हो ठिक लागेन। उ बाहीर निस्कियो। सुकिर्ती त्यही रहीछ। उस्ले मोटरसाईकल ठिक पार्यो। सुकिर्ती बसी। मोटरसाईकल बाटो लाग्यो। प्रितीको आँखामा फैलिएको घृणाले कसैले देखेन।

प्रकास घरमा आईपुग्दा उस्को हालत जुवामा ऋण लिएको पैसा हारेको खेलाडीको जस्तो थ्यो। उस्को मनमा अनेक भावहरु एकसाथ उठीरहेका थिए। उ क्रुद्ध त थियो नै, अपमानित पनि उ निक्कै भएको अनुभव गरीरहेको थ्यो।

घरमा आमाले उस्लाई र सुकिर्तीलाई पर्खेर बस्ने निश्चित थ्यो। "आमालाई के भन्ने?" यो प्रस्न पनि अहिले उस्को रिसको आगोमा घ्यू थप्दै थ्यो।

 नभन्दै आमा सँग भेट भो। बैठक कोठामा पर्खीरहेकी रहीछन। "नसुतेर किन नी तपाईँ यति बेला सम्म?" प्रकासले आफ्नो स्वरलाई सकेसम्म नरम पार्दा पार्दै पनि कटुता छचल्किहाल्यो। कुरा बिगार्नुमा आमाको पनि हात भएको जस्तो लाग्यो उस्लाई। खुरुक्क बेलैमा सुतेको भए अहिले उस्ले आमाका प्रस्नहरुको जबाफ दिईरहनु पर्ने थिएन नी। उस्ले सोच्यो।

 "खै त सुकिर्ती?" नभन्दै आमाको प्रस्न आयो।

 "जङ्गीएर जबाफ दिन मन थियो प्रकासलाई तर उस्ले आफुलाई नियन्त्रण गर्दै भन्यो "मामाघर गै --"

आमा अलमल्ल परीन । मामाघर जाने त कुरै थिएन। कुरा होस पनि कसरी?

 "अघि त केहि भनिन मलाई मामाघर जाने बारेमा --मलाई भनेको भए पनि के हुन्थ्यो र? म नजाउ त भन्दिन थिएँ नी --" आमाले गुनासो गरीन।

 प्रकासलाई लामो कुरा गर्नु थिएन। उ फटाफट आफ्नो कोठा तिर लाग्यो।

 "यस्तो राति भै सक्यो---अनि आज आउँछे कि आउन्न त?" आमाले सोधीन।

 "खै? " भन्यो। प्रकासलाई पनि के था बिचरा!

 "तँ गएर लिएर आईज न त बाबु" आमाले भनीन।

काँ गएर ल्याओस प्रकासले?

 "उनीहरु सँग मोटर छदै छ नी -- कि अहिले ल्याईदिन्छन नभए भोली आउँछे नी- - तपाईँलाई के को पिर? ल जानुस सुत्नुस?" प्रकास आफ्नो कोठा भित्र छिर्यो। बत्ति बाल्यो।

 कोठामा ठुलो पारेर राखेको उस्को बिहेको फोटोमा उस्का आँखा ठोक्किए। उस्ले सुकिर्तीलाई निकै बेर हेरीरह्यो। फोटो नजिक गयो। फेरी सुकिर्तीलाई एक टक हेर्यो। अनायसै उस्का आँखा भिजे। 

ढोकामा आमा उभिएकी उस्ले देखेन।

बाउ लर्खराउँदै आएको सुनियो। आमा गर्हो मनले गईन। बाउ लर्खराउँदै आएकोमा प्रकासको अघि अल्झेको रिस अरु बल्झियो। ढोका लगायो प्रकासले। बत्ति निभायो अनि ओछ्यानमा उ लड्यो तर आँखामा निन्द्रा हैन आँसुको आधिपत्य थ्यो। निकै बेर उस्ले आफ्नो मनलाई बग्न दिईरह्यो। कोठामा अध्यारो भए पनि उस्ले धेरै कुराहरु देख्यो।

उस्को मनमा त रिस थ्यो आँखा किन भिजे उस्ले बुझेन। "कुनै ठुलो कुरा हैन" उ आफ्नो मनलाई पनि सम्झाउँदै थ्यो। जस्लाई उस्ले आफ्नो बिश्वासको संरक्षक सम्झेको थ्यो उसैले उस्को बिश्वास लत्याएझैं लाग्यो उस्लाई। दु:ख आफ्नो बिस्वास लत्यीएकोमा थियो वा संरक्षकको ब्यबहारमा अथबा आफ्नो समर्पणमा उस्ले किटेर भन्न सकेन। सायद ति बगेका आँशुहरुमा सबै मिसिएका थिए।

स्वर्णीमले मोटरसाईकल सुकिर्तीको घर तिर लगेन। सुकिर्तीले त्यो बुझे पनि केही भनीन। सोची "हेरम न कहाँ लिएर जाँदो रहेछ"।

आफ्नो घर अघि केही छिन पछि स्वर्णीमले मोटरसाईकल रोक्यो।

"किन यहाँ आ?" सुकिर्तीले सोधी।

"यो पनि त घरै हो -- कि मेरो घरमा खुट्टा नहाल्ने तिम्रो बाचा छ?" उस्ले सोध्यो।
"किन र? म तिम्रो घरमा आएको छैन र पहिला?" सुकिर्तीले सोधी।
"पहिलाको कुरा गरेको हैन मैले।" उस्ले मोटरसाईकल बन्द गर्यो।

"मलाई अहिले कसै सँग कुरा गर्न मन छैन, स्वर्णीम। मलाई घर पुर्याईदेउ--मलाई निन्द्रा लागि सक्यो।" सुकिर्तीले भनी।

स्वर्णीम मोटरसाईकलबाट ओर्लियो--सुकिर्ती त ओर्लीसकेकी थिई।

"घरमा को छ र तिमीलाई कुरा गर्न? बुवाहरु आउंदा आधारात हुन्छ। म तिमीलाई त्यो भन्दा अघि नै पुर्याईदिई हाल्छु नी।" उस्ले भन्यो।

सुकिर्तीका नयन स्वर्णीमकामा प्रतिबिम्बित हुँदा त्यहाँ उस्ले आफैलाई पहिला देखी।

"तिमीलाई असजिलो लागेको छ भने म चैं अहिले नै पुर्याइदिन्छु " सुकुर्ती अघि नबढेको देखेर स्वर्णीमले भन्यो अनि फेरी मोटरसाईकल तर्फ बढ्यो।

"भैगो--हिन भित्र" सुकिर्तीले भनी। "घरमा गएर पनि के नै गर्नु छ र? प्रकास आईसकेको भए सायद बाझ्नु पर्ने होला नआएको भए अरु रिसाउनु पर्ने अनि त्यसमाथि आमा चै सँग सार मिलाउनु पर्ने --त्यो भन्दा त एक छिन पछि गएकै ठिक छ --यसै कुरा बिग्रियो आज उसै।" उस्ले सोची र घरको ढोका तिर बढी।

घर र प्रकासलाई सम्झिने बित्तिकै उस्लाई फेरी रिस उठ्यो। "अहिले सम्म एक चोटी पनि फोन गरेको छैन त्यो प्रकास भन्नेले। उस्लाई मेरो मतलब छैन भने मलाई पनि उस्को छैन।" सुकिर्तीको मन भडकियो। ...

Read Full Discussion Thread for this article