![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
चौतारी स्वस्थानी व्रतकथा - ८
वाचक - गालब
यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।
कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्यमूनि! यता कैलाश फर्केपछि शिवजीलाई पनि केही दिनपछि पट्ट्यार लाग्न थाल्यो। दिनभरि भूत, प्रेत, पिशाच मिलेर मर्त्यलोगमा रहेका शिवजीका मन्दिरहरुमा चढाएको नैबैद्य, मिष्ठान्न मात्रै खाँदा खाँदा वाक्क लाग्न थाल्यो र मर्त्यलोगमा गएर खाएको स्वादिष्ट म:मको सम्झना आउन थाल्यो। हुँदा हुँदा भक्तजनहरुलाई दर्शन दिने बेलामा पेटले पनि ट्वार्रर्रर्र कराएर म:म माग्न थाल्यो। यो देखेर भक्तजनहरुले पनि दुख मनाउ गर्दै भन्न लागे "हे महादेव! तपाईं कस्ता भनेदेखि देवताका पनि देवता। आफ्नै घर पार्टीलाई दान दिने मैयादेवी श्रेष्ठभन्दा पनि दानवीर, हाम्रा ज्ञानका ईन्द्र (राजा) ज्ञानेन्द्रभन्दा पनि ज्ञानवीर। माउवादीका प्रचाण्डभन्दा पनि परमवीर, खाउवादीका गिरिजाभन्दा पनि गम्भीर, दाउवादीका देउवाभन्दा पनि धनवीर, मानवादीका माकुनेभन्दा पनि मानवीर। यस्ता तपाईंलाई कोटी कोटी नमस्कार छ। यस्ता तपाईंलाई हामीले भोकै राखेर ठुलो पाप गरेका रहेछौं। आज्ञा भए चौरासी व्यन्जन अहिले नै डेलिभरी गराउँछौं।"
आफ्ना भक्तबाट यस्तो सुनी महादेवले भन्न लागे, "हे भक्त हो! तिमीहरुको विन्तीदेखि म प्रशन्न भएँ। आजभोलि पौष्टिक खानाको अभावले वजन घट्दो छ। यो कैलाशमा बाह्रै मास हिउँ पर्ने हुनाले खेतबारीमा केही लगाउन पाएको छैन। भएको अलिकति करेसाबारीमा भाङ् र धतुरो लगाउँदैमा ठिक छ। तरकारी पनि पार्वती माइतबाट लिएर आएको कोशेलीले मात्रै पुर्याउनु परेको छ। यदि तिमीहरु सक्छौ भने, मलाई गौशालाको चोकनेरको पसलमा बनाउने म:म १०८ प्लेट लिएर आऊ।"
भक्तजनहरु पनि श्रीमहादेवलाई खुसी पार्ने मौका मिलेकोमा अति प्रशन्न भई गौसलाको सो मम पसलबाट १०८ प्लेट मम अर्डर गर्दा भए। संयोग पनि यस्तो परेछ कि, त्यसै पसलमा, बिहे स्थगित गरी तीन महिनाका लागि शहरमा काम गर्न जान्छु भनेर आएकी, जुरेलीले म:म प्याकिङ्को पार्ट-टाइम काम गर्न थालेकी रहिछन्। जुरेलीले पनि बिहेमा महादेवबाट पाएको दु:खको बदला स्वरुप मम प्याक गरेको प्लास्टिकको झोलामा बाहिरबाट सियो रोपेर प्वाल पारिदिइन्। म:म डेलिभरी गर्ने केटोले पत्तै नपाईकन ती १०८ टुक्रा म:म ठाउँ-ठाउँमा झर्दै गयो। र मम झरेका प्रत्येक ठाउँमा पीठहरु बनेर श्रीमहादेवका एक-एक स्वरुप बन्दा भयो। भैंसीको मासुबाट बनेको मम झरेको हुनाले ती ठाउँको नाममा 'महिषाशेश्वर' थपिएको छ (संस्कृतमा भैंसीलाई महिष भन्छ झैं मान्या छु है - गालब)। कुन-कुन पिठमा भैंसीको कुन अंग भएको डल्ला झरे भन्ने बारेमा अर्को अध्यायमा बताउँला।
इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे अष्टमोध्याय॥८॥
उपनयतु मंगल -- ततो जयमुदिरयेत्।