Posted by: Nepe December 31, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

चौतारीका सम्पूर्ण औतारीहरु र मौन पाठकहेरु समेतलाई मेरो तर्फबाट सुखद नयाँ वर्षको मंगलकामना छ है ।

 

अनि दानेलाई जन्मदिवसको उपलक्षमा अनगिन्ती शुभेच्छाहरु !

 

दानेसंग अरु कुरा संगसंगै एउटै प्राज्ञिक पूर्व पृष्ठभूमि समेत भएको कारण एउटा अलग्गै मितेरी अनुभव गर्छु म ।

 

अनि हिजोको बेसीथाने भेला एक छोटोमीठो जमघटको रुपमा रह्यो । शिरीषको कुशल पथप्रदर्शन र आतिथ्य, नेप्चेको संक्षिप्त सूचनामै उत्साही र सुखद सहभागिता र दिवाभोजनको अवसरमा सानसाहुको धैर्यको सुझाव सुनुवाई र खास गरेर गजलकार-त्रय म, शिरीष र भउतेको गजल रिसाइटल पछि सानले गजललाई एउटा नयाँ गहिराईमा देख्न पुगेको टिप्पणी अनि संयोगले भेट भएका एक साझा पाठक-जोडीको बडो उत्साहको सहभागिता आदि विशेष संस्मरणिय रहे ।

 

गजल रिसाईटलको बेला रेष्टुरेन्टका नेपाली मालिकको अप्रत्याशित चाख पनि उत्तिकै सुखद आश्चर्य रह्यो । रमाईलो त के भयो भने मैले गजल रिसाईट गर्दै गर्दा उहाँले स्वरलाई अलि उ गर्नुस् न भन्नुभयो । ‍मैले ठानें उहाँ अन्य ग्राहकलाई वाधा नपुगोस् भनेर स्वरलाई सानो गर्न आग्रह गर्दै हुनुहुन्छ । र त्यसै गर्दै के जो थिएँ उहाँले होईन होईन म पनि सुन्न चाहन्छु के भन्नुभयो र बडो चाख मानेर सुन्नुभयो ।

 

त्यस्तै त्यहीं तत्काल परिचय पछि सहभागी हुनु भएका पाठक मित्रको टिप्पणी पनि कम सुखद थिएन । ‍उहाँ भन्दै हुनुहुन्थ्यो उहाँले यस्तो कुरा (कविता-वाचन) मा सहभागी हुन नपाउनु भएको वर्षौं (६-८ वर्षै ?) भएको थियो र आज उहाँलाई अत्यन्त आनन्द आईरहेछ ।

 

साझाको प्रगति र सुधारका लागि सुझावहरु त्यो जमघटको अर्को महत्वपूर्ण पक्ष थियो । बढी शक्तिशाली search engine, अझ बढी व्यवस्थित archive खास गरेर साझाका लोकप्रिय लेखकका रचनाहरुका लागि र गम्भिर पोस्टरहरु (सानको शब्दमा पाका उमेर समुह ) लाई विकर्षित हुन नदिन साझामा गालीगलौजको रोजगारी गरेर बसेका पोस्टरहरु लाई कुनै प्रकारको दुरुत्साहन गर्नुपर्ने आवश्यकतामा थोरबहुत एकमत थियो ।

 

मेरो व्यक्तिगत विचारमा पनि साझा अहिलेको भन्दा दशदेखि सय गुना बढी उपभोक्ता आकर्षित गर्न सक्ने potential भएको वेबसाईट हो र त्यो potential को बाधक भनेकै साझालाई माया नगर्ने र यसलाई पाईखाना सरह व्यवहार गर्ने फोहरी थुतुनोवाल

नियमित अनियमित पोस्टरहरु (सानको हिसाबमा कम उमेर समुह का धैर्यन्यून पोस्टरहरु) हुन् । सानको एउटा चाखलाग्दो र मेरा लागि शिक्षाप्रद टिप्पणी के थियो भने यस्ता फोहरी पोस्टरहरुको पनि आफ्नै फ्यान समुह हुने रहेछ ।

 

Putting all together, मलाई के लाग्छ भने सानको अगाडि अब दूई छनोटहरु छन् : एक, साझालाई यत्तिकै यस्तै राखिरहने (जोखिम कम, तर प्रगतिको सम्भावना पनि कम नै भएको) । दूई, जोखिमपूर्ण नै भए पनि साझाको फोहोर व्यवस्थापनका केही उपायहरु अपनाएर यसलाई सबै समुहका उपभोक्ताहरुको लागि आकर्षक साईट बनाई मैले भने झै अहिलेको भन्दा सयगुना बढी सम्मको भिजिटरहरु आकर्षित गर्ने ।

 

सोझो व्यापारिक हिसाबले दुवै छनोट ठीकै छन् । सोझो सैद्धान्तिक हिसाबले (सबैलाई अकुण्ठीत स्वतन्त्रता प्रदान गर्ने ) पहिलो छनोठ ठीक हो । तर महत्वाकांक्षा, साहस (दुस्साहस पनि हुन सक्छ ) र कुनै भिजनदार वक्र हिसाबकितावमा दोश्रो छनोट ठीक हुनसक्छ । यो कुरा सानलाई यहीबाट सुनाउने दुस्साहस गर्दछु ।

 

ल कुरो कहाँबाट कहाँ पुग्यो ।

 

जे भए पनि यो २००८ मा साझाको लोकप्रियता बढोस्, उन्नति होस् र यहाँका नागरिकहरुले आफूलाई साझावासी भएकोमा गर्व गर्ने कारणहरुको अभिवृद्धि होस् । यस कामनाका साथ यस सालको अन्तिम दिनको संकिर्तन गर्दैछु ।

 

Nepe

 

 

A dim picture, but the brightest face of what Sajha should be all about. From NY gathering...

 

Read Full Discussion Thread for this article