"अनि किन उभीई रा त? -- गए भए हाल्यो नी" उस्ले उस्का दुइटै नयन बाण सिधैं मेरो मुटुमा तारो लगाएझै गरी फ्याँकी अनि घर भित्र जाने ढोका तिर बढी। ---
जुन कुराको धुन चढेको थ्यो त्यै कुरामा "पशपति नजानु" भनेर तुषारो पार्दी चेतनाले। कबिता सँगको सम्बन्धमा जति स्वतन्त्रता थ्यो त्यति नै बरु त्यो भन्दा बढीनै सायद नियन्त्रित हुन्थ्यो चेतना सँगको सम्बन्ध यदि त्यो सम्बन्धको सम्भावना भए पनि।
म चोकमा यत्तिकै उभिईरहें के गरम के गरम भै रह्यो। जान चै मन छ पसपति तर चेतनाले नजानु भनेर उस्को आमन्त्रणलाई अर्कै शब्दहरुमा पोखेकी हो कि जस्तो लागेर द्विबिधा त हुने नै भयो।
एक्लै पसपति गएर हुन चै सायद केही हुन्न थ्यो। त्याँ देखी पसपति सम्म लखर लखर गयो--लखर लखर आयो -- वहाँ पनि देखा देख सम्म त सजिलै होला -- एक दुई शब्द बोलिएला तर त्यो भन्दा धेरै केही हुने सम्भावना कम थ्यो। हो ट्वाक सँगै भए स्थितीको आशिर्बाद मेरो पक्षमा बलियो हुन्थ्यो तर उ कता हो कता। बाङ्गे भए जाँदा र आउँदा बोर हुन्नथ्यो बाटामा -- राख्न चै उस्लाई पसपतिको ढोका बाहीरै राखे मात्रै -- भित्र सँगै लगे पछि के हुन्थ्यो भन्न सकिन्नथ्यो। तै पनि परस्थिती बिग्रेर ज्यान मालको सुरक्षामा लाग्नु पर्ने स्थिती आएको खण्डमा उस्को मद्दतमा मैले भरोसा गर्न सक्थें। तर उ त जोरोले ढलेको थ्यो अहिले। उ जाने कुरै भएन। सुपारी हो अर्को बाँकि। उ साथि पनि हुन्थ्यो अनि कुरा भाँडिने खतरा पनि सुपारीबाट या त हुँदै हुन्नथ्यो भए पनि न्युनतम। तर सुपारी सँग मात्रै जाँदा मजा नआउने। उ तरुनीको कुरै नगर्ने -- आफुलाई तरुनीको कुरा नगरी खाको नपच्ने --त्यसमाथि आफु आज पसपति जान लागेकै तरुनीको लागि। तै पनि सोचें एक्लै जानु भन्दा त सुपारी सँगै जानु बेस। आखिर मैले पसपति जाने नै बिचार गरें त्यो चेतनाको चोकमा एक्लै उभिदा उभिदै।
सुपारी कहाँ जानु पर्यो भन्दै म बाहिर सडक तिर आउन त्यो चोकबाट निस्किदै थिएँ "जान ला?" भनेको सुनें। चेतना फेरी चोकमा आई।
"अर्को साथि खै थाह् छ?" उस्ले सोधी।
" त्यै त कत्ति न -- आफुलाई मन पर्या मान्छे सँग त कुरा गर्न सक्नु छैन अझ अरुहरुलाई मन पर्या मान्छे सँग कुरा गराईदिन्छु रे -- " उस्ले पेच कसे झै गरी भनी।
"को बाङ्गे?" मैले सोधें।
"उ त जोरो आएर सुतीराछ भन्या हैन?" उस्ले सम्झाई।
"अँ" भनें। हो त बाङ्गेको कुरा त मैले उस्लाई अघि नै भनी सक्या थें।
"अनि?" उस्ले थपि।
"अनि को त अब -- उसो भए सुपारी?" मैले सोधें।
"था छैन मलाई घरमै होला नी" मैले भनें। अब सुपारी काँ छ मलाई के था? उस्लाई मैले भेटेको थिएन। सुपारीको बारेमा उस्ले त्यसरी घुमाएर कुरा गरेको मलाई पटक्कै मन परेन।
फाईदा भए उसैलाई हुने होला सुपारीलाई हुने होला मेरो चाई बेफ्वाँकमा कबिता उम्किने काममा म किन लाग्नु? अघि सम्म चेतनाको पनि चङ्गा उडाउँदै थ्यो मन अहिले चेट भयो।
मैले उस्को प्रश्नको जवाफ नदिई उस्लाई एक चोटी चुरोटको अन्तिम सर्को तानेझै गरी हेरें अनि त्यहाँबाट निस्केर सरासर लागेँ सुपारीको घर तिर।