Posted by: nepaltrue November 20, 2007
RNAC लाई चिनियाँ चेतावनी
Login in to Rate this Post:     0       ?        

RNAC निगमलाई चिनियाँ चेतावनी

सञ्जय न्यौपाने

काठमाडौं, मंसिर ४ - चीनको एमिको कम्पनीले नेपाल वायुसेवा निगमलाई बोइङ ७५७ का दुई वटा इन्जिन मर्मत सम्झौता रद्द गर्ने निर्णय पुनर्विचार गर्न आग्रह गर्दै सम्झौता पालना नभए करिब ७० करोड रुपैयाँ क्षतिपूर्ति दाबी गर्दै मुद्दा हाल्ने धम्की दिएको छ ।

बेइजिङस्थित जर्मन र चिनियाँ संयुक्त लगानीको कम्पनी एमिकोले सम्झौता पालना नगर्दा आफूलाई १ करोड १० लाख अमेरिकी डलर -७० करोड रुपैयाँ) नोक्सान हुने जनाउ दिनै पत्रमा त्यसको क्ष्ातिपूर्तिका लागि चीनको उच्च न्यायालय जाने पत्र प्राप्त भएको जानकारी निगम स्रोतले दियो । निगमका महाप्रबन्धक गौतमदास श्रेष्ठले विशेषाधिकार प्रयोग गर्दै कम्तीमा ४० करोड रुपैयाँ खर्च हुने दुई वटा इन्जिन मर्मतको काम एमिकोलाई दिन कात्तिक दोस्रो साता सम्झौता गरेका थिए । विशेष परिस्थिति प्रमाणित नभएको भन्दै सर्वोच्चले उक्त सम्झौता पालना नगर्न गत साता अन्तरिम आदेश जारी गरेपछि सम्झौता अन्योलमा परेको थियो ।

सर्वोच्चको फैसलालगत्तै निगमले काम रोक्न निगमलाई पत्र पठाएको थियो । पत्रमा जहाज भूमिस्थ भएको अवस्था -एओजी) का कारण विशेष प्राथमिकतासाथ तालिका मिलाएको, हङकङबाट एउटा इन्जिन ईएसएन ३०६५८ ल्याएर खोलिसकेको र अर्को इन्जिन ईएसएन ३०५९८ नोभेम्बर ८ मा ल्याउन ठिक्क पारेको उल्लेख छ ।

त्यही अवधिमा अरू पार्टीको काम रोकेर निगमका काम लिएको -स्लट मिलाएको) दाबी गर्दै निगमको काम नआए ९० लाख डलर घाटा हुने पत्रको चौथो बुँदामा जनाइएको छ । त्यसबाहेक सबै कामदार खोजेको, आवश्यक पार्टपुर्जासमेत अर्डर गरेको अवस्थामा आफ्नो कम्पनीलाई थप २० लाख डलर घाटा हुने पत्रमा उल्लेख छ ।

'यस्तो अवस्थाले हामीलाई चीनको उच्च न्यायालयको ढोका ढकढक्याउनुपर्ने अवस्थामा पुर्‍याउन सक्छ,' पत्रमा भनिएको छ, । सम्झौता कार्यान्वयन नगर्ने निर्णय पुनर्विचार गरेर दुवै कम्पनीलाई हुन सक्ने हानि टार्न पनि आग्रह गरिएको छ । पत्र आएपछि निगमका सबै विभागका उच्च पदाधिकारीहरू दिनको ४ः३० देखि राति ९ः३० सम्म बैठकमा व्यस्त थिए ।

डेढ वर्षदेखि हङकङमा रहेको र चार महिनाअघि यहाँ बिग्रेको इन्जिन मर्मतको काम विशेष अवस्थामा आएको जनाउँदै विशेषाधिकारमा दिने महाप्रबन्धकको निर्णय विवादमा परेको थियो । सर्वोच्चले विशेष अवस्था नदेखिएको आदेशमा जनाएको छ ।

यससँगै निगम आउँदो डिसेम्बर १८ देखि ३१ सम्म जहाजविहीन हुँदैछ । एउटा जहाज सी चेकमा चार महिनाअघि बु्रनाई पठाइएको छ । इन्जिन अभावमा जहाज आउन सकेको छैन ।

यहाँ भइरहेको जहाज पनि आउँदो डिसेम्बर १८ मा सी चेकमा जाँदैछ । यो अवधिमा उडान नहुने जानकारी निगमले गराइसकेको छ । यो जहाजको इन्जिन झिकेर सी चेक भइसकेको जहाजमा राखेर ल्याउने तयारी व्यवस्थापनले गरिरहेको छ ।

निगमका एक अधिकारीले अब के गर्ने भन्ने विषयमा बैठक केन्दि्रत रहेको बताए ।

समयमा इन्जिन मर्मत नगरेर निगम जहाजविहीन भएको यो पहिलोपल्ट हो । सात मुलुकका नौ गन्तव्यमा उडान गर्ने निगम एउटा जहाजमा खुम्चेपछि उडान आधा भएको छ । निगमको उडान नहुँदा विदेशी विमान कम्पनीले बढी भाडा लिइरहेका छन् भने टिकट पाउन पनि गाह्रो छ ।

Read Full Discussion Thread for this article