"सुपारी त गै हाल्यो नी कबिता सँगै चाबेल --- पुर्याउन भनेर --भन्या हैन सुपारी सुध्रेछ भनेर मैले अघि? "दुखको कुरा सँगै ट्वाकको हाँसो ट्याक्सीमा भरीयो। ---
सुपारीले त्यत्रो धोका देला भनेर कैलेई लागेको थिएन मलाई। केटीहरुको कुरा गर्दा महाभारतको भिष्मको जस्तो कुरा गर्थ्यो आज त मेरै लिएर हिन्देछ बा! बाङ्गे र म सुपारीलाई प्रथम श्रेणीको सुप्रब (सुप्रसिद्ध प्रबल ब्रम्हचारी) पदबीले सुसोभित गर्ने बारेमा सल्लाह गर्दैथिम अब त सुप्रप (सुप्रसिद्ध प्रबल परप्रेमिकाचारी)ले बिभुषित गर्नु पर्ला जस्तो भो। त्यो ग्यास लिन जाँदा र लिएर आउँदा सुपारीलाई सराप्नु सरापियो तर सरापेर केई न केई -- आखिर कबिता सँग त उ नै थ्यो।
पिर त अब आजको भन्दा पनि भोलीको पो भो त। पातकी सुपारीले अब कबितालाई मेरो बारेमा के के मात्रै भन्यो होला? नभाको केही भन्नै पर्दैनथ्यो भाकै मात्रै भने मेरो चानसले सिल्टिमुर खाने पक्का थ्यो। दिक्क भएँ।
ट्वाकको घराँ सिलिण्डर ओरालियो -- ढल्काएर गुडाउँदै बाङ्गे र मैले भित्र चोक सम्म लगिदिएम। ट्वाक "बस्ने एक छिन?" भन्दैथ्यो बाङ्गेले "हैन घर जाने अब रात परीसक्यो" भन्यो। रात त बाहीर भन्दा मेरो मन भित्र गहीरीएको थ्यो।
ट्वाककहाँबाट निस्केर घर तिर लाग्या त बाङ्गे "कता हिन्या?" भन्छ।
"कता अब घर जाने भन्या हैन?" मैले उसैले अघि भनेको कुरा सम्झाएँ।
"पैले सुपारीलाई धोबीखोलामा गाडम न अनि घर जाम्ला" बाङ्गे त म भन्दा झन रिसाएछ।
"अब त्यो अलछिना कताबाट आउँछ आउँछ नी -- त्यो भत्क्या पुल तिर बाट आउँछ कि सत्तेनारन थान तिर बाट आउँछ की उता कालोपुल तिरबाट आउँछ -- कता जाने?" मैले भनें।
"यो राती सत्तेनारनथान तिरबाट आउँदैन -- कि त कालोपुल तिरबाट आउँछ कि भत्क्या पुल तिरबाट -- म भत्क्यापुल तिर जान्छु तँ कालोपुल तिर जा" बाङ्गेले रणनीति बनायो।
"सक्दिन म -- त्यो कबिता भन्ने मेरो स्वास्नी हैन कोई हैन -- पुर्याउन गयो त गयो छोडदे -- भोली कुरा गरम्ला -- अब आजै सबै सकेछ भने सकेछ त" मलाई यसै पनि रिस उठीराथ्यो-- झर्कैरै भन्दें। मलाई त्यो बाङ्गेसँग जान मन थिएन -- बाङ्गेलाई भुत चढ्या बेला सुपारीलाई के गर्ने हो के भन्ने हो के ठेगान? मलाई भने सुपारीलाई ट्वाकको अघि राखेर कुरा गर्न मन थ्यो -- त्यो मौका अहिले बाङ्गे सँग गए पक्कै बिग्रिन्थ्यो।
सुपारी ट्वाकको अलि नजिक थ्यो। त्यो मैले बुझेको थिएँ। तर बाङ्गेलाई त्यस्तो कुराको केही मतलब थिएन।
"झन तेरो तरुनी माथि धावा बोल्यो भनेर भन्या त अझ म सँग पो झर्को फर्को गर्दो रे छ -- मतलब छैन अब मलाई --फेरी त्यो कबिता सबिताको कुरा सुनाईस भने जान्या छ -- सुपारीले लान हुन्छ भने मैले पनि हुन्छ --- त्यो पनि अब मेरै भैइ -- भैगोन्त भनेर तँलाई छोड्देको थिएँ -- अब छैन ---काँ नेर हो त्यो तरुनीको घर चाबेलाँ?" बाङ्गे त नराम्रो भडकियो।
"चाबेलाँ त्यो केटीको घर जाँ छ त्यहीँ हो -- यताको घर देखी उता उताको घर देखी यता -- तेरो के को घुर्की हो? च्या र चाउचाउले तँलाई पोल्या थ्यो? कुरा गर्छ -- जा न पुर्याउन तँ पनि त्यस्लाई घर दिन दिनै मलाई के मतलब? -- जा ढोकामा पाले बस त्यस्को --" मलाई यसै त रीस उठीरा बेलाँ बाङ्गेको घुर्कीले झन रिस उठ्यो।
उस्ले मलाई घुर्ने मैले उस्लाई त्यो सर्सोतीथान अगाडीको डबली नेर।
"यत्तिकै छोडदिन्छ्स त त्यो सुपारीलाई?" बाङ्गेले अलि नरम सँग भन्यो।
"यत्तिकै त कस्ले भन्या छ र -- पैले कुरा गरम न ट्वाकको अगाडी -- अनि तँ एक्लै गएर सुपारीलाई केही भन्ने हैन -- मैले भन्देको छु" मैले भनें।
"मर त उसो भए -- ल घर गएँ म" भन्दै बाङ्गे लाग्यो बाटो। म पनि लागें।
सुपारीको ताल देखेर कैले छक्क कैले दिक्क कैले के कैले के लागि रह्यो। सपनामा पनि सुपारी र कबितालाई साइकलमा डबललोड गै रा देख्या भन्या। कस्तो बोर।
ब्यानै पुगेँ ट्वाक कहाँ -- ट्वाकलाई लिएर सुपारी काँ जान्छु भनेर। ढोका खुलै थ्यो तलको -- कैले काही उस्लाइ चोकबाट नबोलाई सिधै उस्को कोठामा जाने गर्या थ्यो -- ढोकाबाट भित्र मात्रै छिर्या थें चेतना सँग भेट भो। "ट्वाक छ?" मैले सोधें। "मलाई के था? म नोकर हो र कसैको?" रुखो स्वरमा भनी उस्ले। अब भो की? हिजो एउटीलाई एउटाले लग्यो अब यस्ले पनि माया मार्ने भै की जस्तो लागेर बरबाद।
"थाह् छैन रे?" मैले नरम स्वरमा सोधें।
"छैन" उस्ले उस्तै रुखो स्वरमा भनी तर भर्याङ चडेर उ माथि उक्लेकी पनि थिईन बाहीर निस्केकी पनि थिईन -- उ अझै म छेउ नै थिई ।
"कस्लाई सोधम त, उसो भए?" मैले फेरी सोधें -- किन रिसाकी हो बुझ्नै सकिन -- हिँजो त झन् थ्यान्क्यु सम्म भनेकी थिई।
"कबितालाई थाह होला नी -- उसैलाई सोध्नु क्या -- " अहिले उ अलि बिस्तारै बोली तर आबाजमा मिठास अझै बिल्कुलै थिएन।
माथिबाट को ओर्ले जस्तो लाग्यो। उ फुत्त बैठ्क कोठा तिर छिरी म पो के गरम के गरम भएर यत्तिकै ट्वाकलाई बोलाएँ।
ट्वाकको भाई रे छ ओर्लेको, उस्ले सुपारी सँग एकै छिन अघि ट्वाक बाहीर गएको सुनायो।
म त्यहाँबाट निस्कें। धेरै कुरा मनमा आए म बाहिर सडकमा हिन्दै गर्दा।---