Posted by: gahugoro November 12, 2007
Good News from Nepal
Login in to Rate this Post:     0       ?        

Amazing, aren't you the big fan of nepali football; pls read this article and see in which direction it is going. Why do they need to drag politics in everything?

नेपाली मन

अजय फुयाल
विजय र वियोगको एकअर्कासँग त्यति समन्वय रहँदैन। विजयले सधैं मिलनको संकेत गर्छ, वियोग नैराश्यको नजिक रहन्छ। तर नेपाली फुटबलमा अहिले चक्र उल्टो घुमिरहेको छ। राष्ट्रिय फुटबल सफलतापछि वियोगको पीडामा रुमल्लिइरहेको छ।

एसियाकै महारथी मानिने ओमानसँग साहसिक प्रदर्शन गरेर दुवै लेगमा सशक्त विपक्षीलाई अनपेक्षित २-० को नतिजामा रोकेपछि नेपाली राष्ट्रिय फुटबल टिम आफ्ना प्रेरणादायी प्रशिक्षक श्याम थापासँग बिछोडिएको छ। युवाविकास परियोजनाका लागि चार वर्षगाडि नेपाल आएका थापा आधुनिक नेपाली फुटबलका सबैभन्दा सफल प्रशिक्षक हुन्।

गुल्मीको भार्सेका थापा प्राविधिक रूपमा अहिले भारतीय नागरिक हुन्। भारतीय सेनाका जागिरे बाबु विसनसिंह थापासँग सानै उमेरमा उनी बिदेसिएका थिए। पिताको कार्यक्षेत्र देहरादुनमै पढाइ गरेका थापा स्कुले जीवनमै १९६१ मा सुव्रतो मुखर्जी कपमार्फ फुटबलको मैदानमा होमिएका थिए। त्यसपछि अहिलेसम्म नै उनको फुटबल नाता समान रूपमा अगाडि बढिरहेको छ।

पिता विसनसिंह जागिरबाट रिटायर्ड भएपछि जन्मथलो फर्किए पनि श्याम भने पढाइलाई निरन्तरता दिन उतै रोकिए। उतैबाट फुटबल जीवन शुरू भयो, खेलकै माध्यमबाट भारतीय सेनामा भर्ती पनि भए। पछि भारतको प्रतिष्ठित सेन्ट्रल बैंक अफ इन्डियामा सहायक म्यानेजरका रूपमा पनि काम गरे।

स्कुले जीवनमै भारतीय फुटबलको महारथी इस्ट बंगालबाट व्यावसायिक खेलजीवन शुरू गरेका थापाले डेब्यु खेलमै ह्याट्रिक गरेका थिए। १९६६ मा इस्ट बंगालबाट एक सिजन खेलेपछि सेनामा भर्ती भएका उनी साढे दुई वर्षपछि फेरि सेना छोडेर इस्ट बंगाल नै फर्किएका थिए। दक्षिण एसियाली फुटबलकै महान् हस्तीहरूमा गनिने थापाले अर्को भारतीय महारथी मोहन बगानबाट पनि उच्चस्तरीय फुटबल खेले।

१९७० देखि भारतीय राष्ट्रिय टोलीबाट पहिलो रोजाइका स्ट्राइकरका रूपमा खेलेका थापा खेलजीवनभर सधैं एउटा स्टार खेलाडीको हैसियतमा रहे। भारतीय राष्ट्रिय टिमबाट १९७० र १९७४ को एसियन गेम खेलेका थापालाई १९७८ को एसियन गेमको प्रशिक्षण शिविरमा डाकिएन। त्यतिखेर अनुभव र वरिष्ठताका हिसाबले उनी भारतीय टिमको कप्तान हुने थिए।

उच्च फर्ममा खेलिरहेका पनि थिए। तथापि प्रशिक्षण शिविरमा नपरेपछि थापाले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिए।

उनीजस्ता स्टार खेलाडीमाथि अन्याय हुँदा देशभर विरोध प्रदर्शन भए र दबाबमा उनलाई पुनः टिममा डाकियो। तर थापाले आफ्नो निर्णय फिर्ता लिएर भारतीय कप्तान बन्ने अनि भारतको प्रतिष्ठित अर्जुन अवार्ड जित्ने अवसर उचित ठानेनन्, जसलाई उनी अहिले पनि जिन्दगीको एउठा ठूलो भूलका रूपमा व्याख्या गर्छन्।

भारतीय राष्ट्रिय टोलीबाट मर्देका कप खेल्न १९७० मा मलेसिया जाँदा थापाले पहिलोपटक टेलिभिजन देखेका थिए। अनि टेलिभिजनमा आफूले नाम मात्र सुनेको तर कहिल्यै नदेखेको फुटबलका तत्कालीन राजा पेलेको खेल देखेका थिए।

ँत्यति बेला टेलिभिजनमा पेले देख्दा उसलाई भेट्ने र ऊसँग खेल्ने सपना पलाएको थियो’, थापाले स्मरण गरे- ँभाग्यको कुरा १९७७ मा पेले, फ्रेन्ज बेकेनबाउरलगायतका स्टार खेलाडीहरू सम्मिलित अमेरिकाको कस्मस टिम भारत आउँदा मेरो सपना पूरा भयो।’

त्यतिखेर कस्मसले भारतको मैत्रीपूर्ण भ्रमणका दौरान मोहन बगानसँग खेलेको २-२ को बराबरी म्याचमा थापाले एक गोल गरेका थिए। स्थानीय पत्रिकाहरूलाई पेलेले प्रतिक्रिया दिने क्रममा २२ नम्बरको खेलाडी (श्याम थापा) उत्कृष्ट खेलाडी भएकोे बताएको खबर भोलिपल्टको पत्रिकामा पढ्न पाउँदा थापालाई आफ्नो जीवन नै सार्थक भएझैं लागेको थियो।

ँमेरा आदर्श खेलाडीले मेरो प्रशंसा गरेको खबर पढ्न पाउँदाको खुसी मेरा लागि अनुपम छ। त्यो मेरो जीवनकै सबैभन्दा ठूलो उपलब्धि थियो’- थापा रोमाञ्चित भए।

१९८४ बाट क्लब फुटबलबाट सन्न्यास लिनेबित्तिकै इस्ट बंगाल प्रशिक्षकका रूपमा फेरिएको उनको भूमिका त्यसपछि भारतीय जुनियर टिम, बंगाल प्रशिक्षक, फेरि इस्ट बंगाल प्रशिक्षक हुँदै आसाम एकेडेमी र मोहन बगान सेल एकेडेमीपछि अहिले नेपाल पुगेको छ। एउटा स्टार खेलाडीको हैसियतले सधैं दबाबपूर्ण खेल खेलेका थापा खेलाडी जीवनपछि बैंकको जागिरमा मात्र सीमित भएर आरामदायी जीवन बिताउने योजनामा थिए।

तर श्रीमती कञ्चन थापाको प्रेरणा र नेपाली मूलका समर्थकहरूबाट पाएको उत्साहका कारण थापा फुटबलबाट टाढिन सकेनन्। बरु २००१ मा बैंकबाट समेत राजीनामा दिएर पूर्ण रूपमा फुटबलमा समर्पित भए। बैंकमा जागिर रहँदा पनि एउटा स्टार खेलाडी भएकाले उनलाई फुटबलमा लाग्न पूर्ण सहुलियत मिलेको थियो।

ँखेलेका प्राय खेलमा गोल गरिरहन्थे। सधैं अखबारको हेडिङमा नाम आउँथ्यो। अनि भारतमा रहेका सम्पूर्ण नेपाली मूलका मानिसले तपाईं गोर्खालीको सान हो भन्दा निकै गौरव अनुभव हुन्थ्यो’, थापाले सम्झिए- ँश्रीमतीले पनि फुटबलमै लागिरहेर एउटा नेपालीका रूपमा सधैं नाम जीवित राखिरहन प्रेरणा दिइन्।’

देहरादुनमा पढ्दै गर्दा भारतकै धरमशालानिवासी कञ्चन लामासँग थापाले प्रेमविवाह गरेका थिए। श्रीमतीकै निरन्तर प्रेरणा र सहयोगमा फुटबलमा लागिरहेका थापाकै शब्दमा उनको जिन्दगीलाई भागबन्डा गर्ने हो भने अहिलेसम्म फुटबलले ७५ प्रतिशत पाएको छ, घरपरिवारको भागमा २५ प्रतिशत मात्र। ँअब त हरियो मैदान र फुटबल नदेखे चाँडै मर्छु होलाजस्तो लाग्छ।’- उनले भने।

अनुशासनको मामलामा निकै कडा स्वभावका थापाले १९९० मा खेलाडीको अनुशासनहीनताका कारण इस्ट बंगाल छोडेर कहिल्यै सिनियर टिम नसम्हाल्ने निर्णय लिएका थिए। त्यसपछि सधैं युवाविकास परियोजनामा काम गरेका थापाले २००१ मा मोहन बगान सेल एकेडेमी स्थापना गर्दा टेक्निकल डाइरेक्टरका रूपमा काम गरेका थिए।

भारतीय फुटबलमा त्यो पदको निकै ठूलो प्रतिष्ठा थियो, पैसा पनि अति आकर्षक। अनि मोहन बगान पनि श्याम थापालाई सधैं आफूसँगै राखिरहन चाहन्थ्यो। यहाँसम्म कि अझैसम्म त्यो एकेडेमीमा थापाका लागि एउटा कोठा सुरक्षित राखिएको छ।

ठीक त्यतिखेरै एन्फा अध्यक्ष गणेश थापाले उनलाई नेपालको युवाविकास परियोजना सम्हाल्ने प्रस्ताव राखे। त्यतिखेर श्याम थापासामु कलकत्ताको प्रतिष्ठित र आर्थिक रूपले फाइदाजनक काम एकातिर थियो भने अर्कोतिर नेपाली फुटबलको सेवा गर्ने अवसर।

प्राविधिक रूपले भारतीय भए पनि सम्पूर्ण रूपले नेपाली मनका श्यामले कलकत्ताको त्यो सुखसयलभन्दा नेपाली फुटबलमा मेहनत गर्ने कामलाई नै लोभलाग्दो देखे। फलतः सबैलाई आर्श्चर्यमा पार्दै उनी थुप्रै योजना बुनेर उत्साहित मुद्रामा नेपाल भित्रिए।

ँखेलेर नेपालका लागि केही गर्न सकिनँ, अब खेलाएर केही गर्छु भन्ने उद्देश्य लिएर आएको हुँ। मसँग चीनले गाउँगाउँबाट प्रतिभाहरू खोजेर एकेडेमी सञ्चालन गरी फुटबलस्तर उकासेको उदाहरण थियो। म पनि गाउँगाउँमा गएर युवा खेलाडी खोजेर केही गर्न चाहन्थें।

नानी -थापाको भाषामा बच्चा) हरूको प्रतिभा तिखार्न चाहन्थें’, थापा भावुक भए- ँतर देशको खराब राजनीतिक परिस्थितिले मलाई गाउँमा जान सुरक्षा भएन। म आफ्नै देशबाट कम्तीमा एउटा रोलमोडल उत्पादन गर्न चाहन्थें। नेपाललाई साफभन्दा माथिल्लो स्तरमा पुर्याउन चाहन्थें। तर मेरो सपना अझै पूरा भएको छैन। फुटबलमा अहिले देखिएको अनावश्यक विवादले पनि मलाई निराश पारेको छ।’


१९९० मा इस्ट बंगाल छोड्दा कहिल्यै सिनियर टिम नहेर्ने निर्णय लिएका थापाले २००५ मा नेपालका लागि आफ्नै निर्णय फिर्ता लिए। युवाविकास परियोजनाका लागि मात्र भनेर नेपाल आएका थापाले नेपाली भावनासामु आफ्नो निर्णय फिर्ता लिँदै एएफसी च्यालेन्ज कपदेखि राष्ट्रिय टिमको जिम्मा लिएका हुन्। तर लगातारको विवाद, काम गर्नका लागि उपयुक्त वातावरणको अभावलगायतका कारणले थापाले ओमानविरुद्धको विश्वकप छनोटको दोस्रो लेगपछि राष्ट्रिय टोली छाडेका छन्।

युवाविकास परियोजनाका लागि अझै ६-७ महिना नेपाल रहने थापा त्यसपछि भने कलकत्ता र्फकने योजनामा छन् तर भन्छन्- ँम जुन सपनाले नेपाल आएको थिएँ त्यो पूरा भएको छैन। राष्ट्रका लागि आवश्यक पर्दा म फेरि तन्नेरी हुनेछु। काम गर्ने वातावरण भएपछि र विवाद साम्य भएपछि फेरि नयाँ जोसका साथ फर्किन सक्छु।’

गुल्मीको भार्सेमा अझै जग्गाजमिन छ। तर थापाका आमा र तीन भाइ अहिले मंगलापुर भैरहवामा सरुवा भएका छन्। श्रीमती कञ्चन सधैं आफूसँगै रहन्छिन् भने छोरी शिवानी विवाह गरेर अस्ट्रेलियामा सेटल भइसकेकी छन्। त्यस्तै छोरा मानस पनि जेट एयरमा चिफ सेक्युरिटी अफिसरका रूपमा कार्यरत छन्। त्यसैले थापालाई घरपरिवारको कुनै जिम्मेवारी छैन। एन्फाबाट पाउने १ हजार डलर उनकै लागि पर्याप्त छैन। छोराछोरीबाट सपोर्ट भइरहन्छ। कलकत्तामा बैंकबाट ९ हजार भारू पेन्सन पनि आउँछ।

आर्थिक र पारिवारिक रूपले सम्पन्न थापाको नेपाली मन र फुटबलक्षमता नेपाली फुटबलको आवश्यकता हो। भारतीय नागरिकता हुनाका बाबजुद नेपाली राष्ट्रियताप्रति उदाहरणीय रूपले प्रतिबद्ध थापाको मन नेपाल छोड्नका लागि पक्कै उत्सुक छैन। केही पक्षले बाध्य पारेको हुन सक्छ।

खेलाडीहरूको प्रतिनिधित्व गर्दै नेपाली राष्ट्रिय टिमका उपकप्तान तथा नबिल थ्रीस्टार क्लबका कप्तान राजेश शाहीको भनाइ छ- ँश्याम सर नेपाली फुटबल, खेलाडी र नेपाल राष्ट्रका लागि तपाईं हामीलाई नछोड्नुस्।’ युवाविकास परियोजनाका लागि मात्र नभई श्याम दाइ -नेपाली फुटबलमा आदरपूर्वक उनलाई यसरी नै सम्बोधन गरिन्छ) को मार्ग निर्देशन राष्ट्रिय टिमले पनि पाओस्।

http://www.newsofnepal.com/detailnews.php?type=saugat&id=172

Read Full Discussion Thread for this article