Posted by: Deep November 9, 2007
आमन्त्रण
Login in to Rate this Post:     0       ?        

बाङ्गेको घरबाट आफ्नो घर तिर आउँदै थिएँ त्यै अघि चेतना सँग उभिएर मालीगाउँमा केटा सँग कुरा गर्ने चेतनाकी साथी सँग देखादेख भो। उस्ले बोलाए झै लाग्यो इसाराले -- म टक्क उभिएँ। ---

ठीटीले मेरो बाटो कुर्नु नौलो नौलै त हो तर नितान्त चै हैन। नराम्रो भडकेका बेला पर्खेरै भए पनि सरापी छाडथे। तर त्यो केटीको अनुहारमा मैले रिस देखीन। उ अलि चिंतित देखिन्थी बरु। उस्को घर त त्यो बाङ्गेको घर भएको बाटोमा थिएन फेरी किन त्याँ लरखरीई राकि हो म गुन्दै बेला बेला म उस्लाई नै हेर्दै थिएं उस्ले आँखा नचाएर छेउको चिबाहाल तिर संकेत गरी र गै त्यता। आफुले समेत गर्न नसक्या काम ठीटीले गरी बा! उज्यालैमा इसाराले चिबाहाल तिर बोलाई। कुन बेलाको रीस फेर्न कुन चै लाठेलाई त्याँ चिबाहालमा ठिक ठाक पारेर मेरा पार्टपुर्जाको मर्मत गर्न खोजीकी त हैन? चस्का पनि लाग्यो मनमा तर उ उता गै सकेकी थिई म पनि लागें।

चिबाहालको आडमा उ कैले यता कैले उता गर्दै थिई। उस्को र मेरो देखा देख भए पनि बोल्चाल त कहिलै भएकै थिएन। ट्वाकको घरमा पनि उसलाई बेला बेला देखेकै हो। मलाई देख्नासाथ उस्ले भनी "मेरो एउटा काम गर्दीने?" अब तरुनीको त जतिबटा पनि गर्दीने नी -- काम साम जे सुकै होस। तै पनि सोधें "के काम?"

"चेतना त एकदम डराई रा छे के -- केई गर्नु न होर्नु बिचरीलाई" उस्ले अलिकति अकमकाएर भनी।

अघि तलको प्रसंग उठाएकी हो भन्ने मैले बुझेको थिएँ। "के को केई गर्नु न होर्नु नी -- त्याँ मस्की मस्की कुरा गरीरा हैन त्यो केटा सँग?" मैले सोधें।

"त्यो केटा त मेरो साथी हो -- चेतनालाई मैले लिएर गाको त्याँ --" उस्ले यता र उती हेर्दै बिस्तारै भनी।

त्यो म सँग भाकी केटी उम्केकीमा भन्दा पनि चेतना बचेकीमा मलाई कता कता राम्रै लाग्या थ्यो।

"चेतना चै साथिमात्रै गा?" मैले सोधें।

"हो - सत्ते" उस्ले सत्तेमा अलि बढी जोड दीई।

"मैले के गर्नु पर्यो त?" मैले फेरी सोधें।

"चेतनाको दाईलाई भन्दिनु न तपाईंको साथि त हो नी -- अब दाईले मार्छ भनेर बिचरी अघिनै रोई सकि" उस्ले मेरो आँखामा सिधै हेरेर एक किसिमको अनुनयको भावमा भनी।

म यसो गम्दै थिएँ उस्ले फेरी थपि "चेतनाले पनि तपाईँलाई भाको कुरा सुनाईदे उस्ले दाईलाई भन्दीन्छ  -- उस्ले भन्यो भने दाईले मान्छ भन्थी -- हेल्प गर्दिनु न प्लीज" 

कुरा त नराम्रो हैन। मैले चेतनाको उद्धार गर्न पाए त्यो गुन उस्ले संझिने थिई। तर मैले सुरु सुरु ट्वाक कहाँ गएर चेतना साथी मात्रै गएकी रे भन्दैमा उस्ले मान्ने थिएन। मलाई थाह थ्यो।

"म किन चाहियो? तिमी आफै गएर भनन -- भाको कुरा ट्वाकलाई" मैले प्रस्टै भन्दें।

उस्ले तत्कालै "नाईं नाईं मलाई डर लाग्छ के " भनी। ठ्याक्कै तेई बेलाँ  "के गर्न डर लाग्छ? लाज सरम केई छैन अचेलका छँडुल्नीहरुलाई -- चाहिने काम गर्न त के को डर?" त्यो चिबाहालको गल्ली बाट निस्किदै मचाकाजीकी दिदीले हाम्लाई घुर्दै फलाकिन। केई गर्नु न होर्नु त त्याँ पो भो त। चिबाहालको एकान्त -- एउटी केटी र म -- संग संगै -- निक्कै के के न कुरा गर्या जसो देखीने भैहाल्यो--अब अरु एक दुई जना त्याँ भेला भए भने त बयान दिदैमा सास्ती हुने त्यै पनि मेरो चरीत्रले गर्दा पत्याउँछ्न भन्ने के ठेगान?

उ त झिमिक्क गर्दा त्यो चिबालबाट बाहीर बाटोमा पुगी सकिछ। मचाकाजीकि दिदि पनि फतफताउँदै हिनीन म एक्लै त्यहाँ केही पल उभीईरहें अनि बाटामा निस्केर आफ्नै घर तिर लागें। तर जति जति घर नजिक पुगें उति उति पाईला गरुगो भए। अनि फर्किएँ।

अरु कुरा भए त म मतलब गर्दैन थिएँ चेतनालाई फाईदा हुनु भनेको मलाई नी हुनु थ्यो त्यसैले भनेर हेर्छु ट्वाकलाई भन्ने लाग्यो। र उस्को घर तिर मोडिएँ।

ट्वाकको घर नजिकैको गल्ली पुगेको थिएँ त्यो अघिकी केटी भेटीई। साथी त पक्का रैछे उ चेतनाकी जस्तो लाग्यो। उस्ले मलाई देख्ना साथ मन्द हाँसी र भनी "म यहीँ उभिन्छु"। मैले उसलाई केही नभनी ट्वाकको घर तिर छिरें।

चोकाँ पुगेर उस्लाई बोलाएँ। माथि चेतनाको चैं कोठाबाट हेर्यो। "तल आईज त एक चोटी" मैले भनें। "किन?" उस्ले सोध्यो।

"एउटा जरुरी कुरा छ आईज त" भनें। उ झ्यालबाट हरायो। चेतना आई झ्यालमा। देखा देख  भयो। उस्को आँखामा उदासिनता मैले प्रस्टै देखें।

ट्वाक तल आयो। उ पनि क्षुब्ध देखीन्थ्यो। "के?" उस्ले झर्केको झै गरी भन्यो।

मैले केही भने झन रिसाउला कि जस्तो लाग्यो तै पनि भनें "त्यो अघि मालीगाउँमा चेतना सँग थिईन केटी त्यो रातो घरकी? त्यो अघि भेटीई त्या बाङ्गेकाँ बाट आउँदा"।

उस्ले घुरेर भन्यो "अनि के भो त?"

"हैन त्यो कुरा गरीरा केटा उस्को चै साथि रे -- चेतनालाई चै साथी लगेकी भन्थी" मैले सुनाएँ।

उस्ले चुपचाप सुन्यो। केही भनेन।

"चेतनाले त जान्न जान्न भन्दै थि रे उसैले कर गरेर लिएर गाकी" भन्थी। मैले थपि पनि दिएँ।

ट्वाक उस्को चोकबाट गल्लि तिर लाग्यो म पछी लागेँ। उता बारी तिर जाने ट्वाकको सुर मैले बुझें। "चुरोट छ?" उस्ले सोध्यो। मैले टाउको हल्लाएर छ भनें। त्यै गल्लीमा त्यो अघिकी केटी अझै उभीएकी भेटीई। ट्वाक टक्क अड्यो म पनि। केटी अघि आई। उ नजिकै आउना साथ उस्लाई देखाएर मैले ट्वाकलाई भनें "उस्को साथि गा हो रे"। केटीले तत्काल "हो" मा टाउको हल्लाई।

"के को साथी नी त्यो केटा?" ट्वाकले केटी प्रति हेर्दै निक्कै रुखो स्वरमा सोध्यो। केटीले भुईं तिर हेरी ज्यानलाई यता उता घुमाई एक छिन केही भनीन अनि "चेतनालाई केही नभन्नु न है?" भनी।

ट्वाक र मैले उसैलाई हेरी रहेम उस्ले हामीलाई हेरी एक चोटी अनि गल्लीबाट गैइ। उ सडकमा नमोडीए सम्म ट्वाकले उसैलाई हेरी रह्यो।

अनि हामी उस्को बारी हुँदै चुरोट तान्न अलि पर गएम। ट्वाकले एक शब्द बोलेको थिएन। त्यो पीपलको रुख पछाडी पुगे पछी उस्ले चुरोटको लागि हात बढाउँदै भन्यो " बाङ्गेलाई भेटीस भने त्यो अघिको केटालाई हान्दे भन"। अनि चुरोटको सर्को सँगै थप्यो "केही परे म छु।"  म त छक्क परें। अघि सम्म सुपारीलाई त्यो केटाको बारेमा बुझ्न सम्म भन्ने ट्वाक अहिले हान्दे भन्छ। मैले हाँस्दै उ सँग चुरोट लिँदै सोधेँ "हैन तँलाई त त्यो केटी मन पर्यो की क्याहो?" उस्ले उडदै गर्या धुवाँ तिर हेरेर भन्यो "अब मन पराए पनि नपराए पनि के?" ---

Read Full Discussion Thread for this article