बिरेन्द्र शाहको हत्या जति निन्दा गरे पनि पुग्दैन । यी हत्याराहरु भारतबाट खुल्लेआम चुनौति दिदै छन, के नेपालको खुल्ला सिमाना यस्तै अपराधिहरुलाइ जोगाउनको लागि हो? के नेपालमा फाँसि नदिने ब्यबस्था यस्ता हत्याराहरुको रक्षा कवच बन्नलाइ नै हो ? यी हत्याराहरुलाइ फाँसि दिने ब्यवस्था नभएसम्म हामीकहाँ स-सानो निहुँमा ज्यान हरण गर्ने कार्य कदापि घट्दैन ।
यो एउटा जघन्य अपराध द्वारा माओबादीका दैत्य अनुहार छर्लंङ्गिएको भन्ने नसोचौं, यो त्यहि प्रवृत्ति थियो, जसले हिजो रमेश ढुङ्गेलको जीवन हरण गर्यो, आलोकलाइ बलि चढायो, काजोललाइ जिउदै जलायो, मुक्ति सरको आँखामा झीर रोप्यो, डेकेन्द्र थापाको हड्डी चकनाचुर पार्यो, काठ प्वालपार्ने आइकरले मानिसको घुँडा कोतर्यो, स्कुल र ग्रामीण भेगबाट जबर्जस्ती लगिएका अवोध किशोरहरुलाइ लडाइको अग्रीममोर्चामा मानव ढाल बनाउदै लाशको थुप्रो लगायो, युद्धमैदानमा घाइते भइ जीवनको भिक्षा माग्दै गरेका आफ्नै सहयोद्धाहरुलाइ उद्धार गर्नुको सट्टा जिवित पुर्ने, मान्छे चिनिने डरले टाउको छिनालेर लैजाने, सम्झौं त ती घटनाहरु कति क्रूर र दानवि कार्य थिए। उफ्फ राजनीतिको खोल ओढेर गरिएका यी अपराध अव त अति भो, तर पनि यिनिहरुद्वारा भविष्यमा अझै गरिने अपराधको सिलसिला रोकिने छ भन्ने आशा एकरत्ति छैन । किन कि यिनिहरुको यो प्रवृत्ति सुधारिने प्रवृत्ति नै होइन ।