Posted by: world_map September 9, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
आज म काठ्माडौं उपत्यकाको एक दन्त्यकथा लेख्दैछु, सानो हुँदा केशर लाल द्वारा लिखित ‘Lore and Legends of Nepal’ नामक पुस्तकबाट अंग्रेजी कथाहरू आमाले उल्था गरी सुनाउनुहुन्थ्यो, पछि अलि ठूलो भएपछि आफैंले उक्त पुरानो पुस्तक फेला पारी पढेको थिएँ। अहिले धेरै कुरा भुलिसकें तर पनि सम्झन सकेजति र केही आफैंले थपेर प्रस्तुत गर्ने जमर्को गरेको छु।

चार यात्री

कुनैबेला काठ्माडौं उपत्यकामा चार जना मित्रहरू थिए, विभिन्न पेशाका:- सिकर्मी, चित्रकार, दमाइ र दहीको व्यापारी। उनीहरूलाइ बस्ने ठाउँको खाँचो थियो, त्यसैले शहरबजार चाहर्दै थिए। उनीहरूसँग आ-आफ्नो पेशागत सामग्रीहरू साथै थियो, जस्तो सिकर्मीसँग किला र घन, चित्रकारसँग रंग र कूची, दमाइसँग बाजा अनि दहीको ब्यापारीसँग दही। बाटोमा हिंड्दा हिंड्दै उनीहरूले एउटा लामो डोरी र ठूलो नाङ्लो किने। केही समय हिँडेपछि चारैजना यात्रीहरू शहरको कुनामा आइपुगे जहाँ एक सुन्दर घर थियो र घरको अगाडी एउटा ईनार।

उनीहरूले आपसमा सल्लाह गरी त्यही घरमा बस्ने निधो गरे तर उक्त घरबाट कोही घुरेको आवाज बाहिरैसम्म आइरहेको थियो। तैपनि उनीहरू बिस्तारै भर्याङ् उक्लन थाले, घरको तेस्रो तलामा पुग्न लाग्दा घुरेको आवाज ठूलो र भयानक भैसकेको थियो। तेस्रो तलामा पुगेपछि चारैजना मित्रको होसहवास उड्यो, मुटुमा ढ्याङ्ग्रो ठोक्न थाल्यो। त्यहाँ त चारजना अजंगका डरलाग्दा राक्षसहरू पो सुतिरहेका थिए। लामा लामा दाह्रा, जिङ्गिङ्ग कपाल, टाउकोमा सिङ् भएका र भयानक आवाज निकालेर घुरिरहेका राक्षसहरू देखेर चारैजना मित्रको हरेक अंग काँप्न थाल्यो। तर उनीहरूले त्यहाँबाट नभागी केही जुक्ति गर्ने विचार गरे।

त्यसपछि चारजना मित्र मध्ये चित्रकारले आफ्नो रंग र कूचीको प्रयोग गरी सुतिरहेका राक्षसहरूको अनुहारमा जथाभावी रंगहरू पोतिदिए। त्यसपछि उनले भित्तामा अर्को अजंगको राक्षसको चित्र कोरे, त्यस चित्रको विभिन्न भागमा सिकर्मीले किला ठोकिदिए। किला ठोकेको आवाज सुनेर राक्षसहरू ब्युझिन लागे। यो देखी चारैजना कोठाको नदेखिने एक कुनामा लुक्न गए। चारै जना राक्षसहरू ब्युझिएपछि एक अर्कालाइ देखेर मरीमरी हाँस्न थाले। तर एकैछिनपछि उनीहरूलाइ यो अरू कसैको दुष्ट्याईं हो भन्ने लाग्यो र भयानक आवाजमा कराउन थाले, “हाम्रो अनुहारमा जथाभावी रंग पोतेर कुरूप बनाउने धृष्टता गर्ने को हो? हिम्मत छ भने अगाडी आइज!!!”
चारजना लुकिरहेका मित्रहरू मध्ये सिकर्मीले ठूलो स्वरमा भन्यो, “हा हा हा! म तिमीहरू जस्तै राक्षस हुँ, म तिमीहरू भन्दा ठूलो र बलियो छु! ज्यान जोगाउने मन छ भने यहाँबाट भागिहाल्!!! हा हा हा हा!!!”

यो कुरा सुनेर राक्षसहरू अत्यन्त क्रोधित भई जंगिए, “हाम्रो घरमा आएर हामीलाइ नै निक्ली भन्ने? तेरो यत्रो हिम्मत? ल आइज तँलाइ अहिले नै मारिदिन्छौं!!!”

यो सुनी सिकर्मी झन् ठूलो स्वरमा अट्टहास गर्ने थाले,” हा हा हा! लौ भित्तातिर हेर्, म यहीं छु!”

भित्तातर्फ हेर्दा आफूहरू भन्दा भयंकर र अजंगको राक्षस देखी एकछिन त उनीहरू डराए, तर चारजना मिलेर भिड्ने विचार गरी नजीकै पुगेर न्वारनदेखिको बल निकालेर राक्षसको चित्रमा हिर्काउन थाले चारैजनाले। भित्तामा ठोकिएको किलाले राक्षसहरूको हात रगताम्य भयो। यो देखेर उनीहरू “ यो राक्षस त हामी भन्दा पनि बलियो रहेछ” भन्दै हतार हतार भर्याङ् ओर्लन थाले। बाहिर पुगेपछि उनीहरूले अझै पनि माथिको ठूलो राक्षसको बल जाँच्ने बिचार गरे।

एउटा राक्षस तलबाट चिच्यायो, “तँलाइ हामी भन्दा ठूलो र बलियो छु जस्तो लाग्छ भने आफ्नो एउटा कपाल देखा, कत्रो छ हेरौं हामी पनि!!!”

दमाइले अघि शहरमा किनेको डोरी झ्यालबाट खसालिदियो, राक्षसहरू छक्क परे। एउटा रौं नै यत्रो मोटो छ भने बाँकि कपाल कस्तो होला भनी सोची मनमनै डराए।

फेरी अर्को राक्षस करायो, “ तेरो अनुहार कत्रो छ देखाउन सक्छस्?” चित्रकारले नाङ्लो झ्यालबाट फ्याँकिदियो। त्यति ठूलो नाङ्लो देखेर उनीहरूको डरको मात्रा बढ्न थालिसकेको थियो।

तेस्रो राक्षसले अब हिम्मत गरेर सोध्यो “तैले एक चोटी खोक्दा कति खकार निकाल्न सक्छस्?”

दहीको ब्यापारीले आफुसँग ल्याएका चार भाँडा दही झ्यालबाट हुत्याइदियो।

यो देखेर चार जना राक्षसहरूको डरले सीमा नाघ्न लाग्यो। तर त्यहाँबाट भाग्नु भन्दा पहिले उनीहरू माथि रहेको राक्षसलाइ एकपल्ट हेरेर यकिन गर्ने चाहन्थे। उनीहरूमा भर्याङ् उक्लेर माथि जाने हिम्मत भने थिएन। त्यसैले एकजना राक्षस घर अगाडिको ईनारमा चढ्यो, दोस्रो राक्षस पहिलोको जीउमा चढ्यो, तेस्रो दोस्रोको जीउमा र चौथो तेस्रोको जीउमा चढ्यो। यसरी सबभन्दा माथिको चौथो राक्षस तीन तला माथिको झ्यालको उचाइमा पुग्यो। ऊ चिच्यायो, “ए बज्जिया! लौ तेरो अनुहार फेरी एक पल्ट हेरौं! अनि सक्छस् भने एउटा गीत गाएर सुना!”

यो सुनी दमाइले आफ्नो लामो बाजा एक्कासी झ्यालबाट निकाली जोडले बजाइदियो, ”प्याँयाँयाँयाँयाँ!!!”
अचानक त्यति जोडदार आवाज सुनेर सबै राक्षस तर्सिए, अनि सन्तुलन बिग्रेर चारैजना राक्षस ईनारमा खस्न पुगे।

यो देखी चार जना मित्रहरू हतार हतार तल ओर्लिए र ईनारमा खसेका राक्षसहरूलाइ ढुंगाले हानेर मारिदिए। तत्पश्चात ती चारजना मित्रहरू उक्त घरमा आनन्दका साथ रहन थाले।
Last edited: 09-Sep-07 11:24 PM
Read Full Discussion Thread for this article