Posted by: everything August 16, 2007
मैले भाँडा माझेर पढेको हुँ :महाविर
Login in to Rate this Post:     0       ?        
"वायरलेस इन्टरनेट मात्र पुग्दैमा विकास हुन्न" -महावीर पुन म्यागसेसे पुरस्कारबाट मलाई सम्मानित गरिएको छ। व्यक्तिगत रुपमा भन्ने हो भने म आफूलाई यही पुरस्कार कै कारण खास फरक पर्ने थिएन। तर अब सबै नेपाली खुसी भएको हेर्दाखेरी खुसी नै छु भन्नुपर्छ। अहिले जुन वायरलेस इन्टरनेटको चर्चा परिचर्चा भइरहेको छ, वास्तवमा त्यो त अहिले त्यहाँ (म्याग्दीको नांगी गाउँ) लागू भइरहेको योजनाको एउटा भाग मात्र हो। मेरो मुख्य प्राथमिकता त्यो क्षेत्रमा शिक्षाको विकास हो। शिक्षा भन्नाले अ‍ौपचारिक र अनौपचारिक दुवै अनि प्राविधिक पनि। अनि अर्को कुरा आय आर्जन। त्यस क्षेत्रमा कस्तो किसिमको ठाउँ सुहाउँदो आय आर्जन गर्न सकिन्छ भन्ने मेरो मुख्य उद्देश्य हो। त्यसका साथसाथै त्यस क्षेत्रमा कलेज र सकिन्छ भने युनिभर्सिटी पनि स्थापना गर्ने। यो जुन वायरलेस नेटवर्किङ भन्ने सूचनाको प्रविधि छ, यी सबै कार्यक्रमको एउटा कम्पोनेन्ट मात्रै हो। अ‍ौपचारिक रुपमा नै भन्ने हो भने पनि यो वायरलेस नेटवर्किङ हिमाञ्चल उच्च माविले सञ्चालन गरेका विभिन्न कार्यक्रम मध्येको एउटा कार्यक्रम मात्रै हो। म्याग्दीका मानिसहरु पारम्परिक रुपमा लाहुर जाने गर्दथे। लाहुर जाने कुरा त्यहाँको समाजमा प्रतिष्ठाको विषय हुन्थ्यो। लाहुरे बन्यो आर्थिक हिसाबले जीवनको सुनिश्चितता भएको महसूस गर्ने गर्थे उनीहरु। त्यसैले पनि लाहुरे बन्नु भनेको त्यहाँको आकर्षणको विषय हुन्थ्यो। यस्तो परम्परा त्यस क्षेत्रमा धेरै पुस्तासम्म चल्यो। अहिले लाहुरे हुनका लागि भारतीय सरकारले र बेलायती सरकारले कम मात्रामा भर्ती संख्या लिने गरेको हुनाले लाहुरेको विकल्पका रुपमा अहिले अरब जाने, मलेसिया जाने, कोरिया जाने कुरा भइरहेका छन्। त्यस क्षेत्रमा मात्रै हैन, नेपालको जुनसुकै पहाडी इलाकामा पनि अधिकांश युवापुस्ताको त्यस्तै प्रवृत्ति देखिन्छ। त्यतिबेला मात्रै हैन, लाहुर जाने, विदेश जाने स्थिति अहिलेसम्म पनि त्यही छ। त्यसमा तात्त्विक भिन्नता आउने कुरा छैन। किनभने खासगरी गाउँमा आय आर्जन, रोजगार सिर्जना गर्नुपर्ने हुन्छ त्यसो हुन नदिन। मेरो मुख्य प्राथमिकता नै गाउँमा कसरी रोजगार सिर्जना गर्ने भन्ने रहेको छ। त्यसका लागि मैले विभिन्न परीक्षण गरेँ। मौरी पालन पनि कोशिश गरेँ। तर त्यो अलि जाडो ठाउँ भएकोले हिउँ पर्ने, तुषारो पर्ने भएकोले मौरीले जति घण्टा काम गर्नुपर्ने हो, त्यति गर्न सकेन। त्यसैले मह उत्पादनमा त्यति सफल भइनँ। तर अरु कार्यक्रमहरु जस्तै चौरीपालन, चिज बनाउने कार्यक्रम, माछा पालन (चीसो पानीमा माछा पाल्ने!) अनि पर्यटकहरुका लागि क्याम्पिङ ग्राउण्ड, हाते कागज बनाउने कार्यक्रम सानो स्तरमा चलिरहेको छ। यसबाट अलिअलि रोजगार त सिर्जना भइरहेको छ, अलिअलि आय पनि भइरहेको छ तर वृहत् स्तरमा सुरु गर्न नसकेको हुनाले त्यतिको भरमा मान्छे बाँच्न सक्ने स्थिति छैन। त्यसैले विदेश जाने जुन ट्रेण्ड हो, त्यो यथावत छ। त्यसको मुख्य कारण त्यही हो। अभिभावकहरु कसैको पनि आफ्नो छोराछोरी बिग्रियोस् भन्ने चाहना हुँदैन। तर अभिभावकहरुले मात्र बल गरेर हुँदैन, विद्यार्थीहरु आफै पनि जागरुक हुनुपर्छ। त्यसका लागि पढाइको वातावरण सिर्जना गर्नुपर्छ। त्यसका लागि हामीहरुले स्कूलमा पुस्तकालय स्थापना गरेर, कम्प्युटर ल्याब स्थापना गरेर, उनीहरुलाई आवश्यक परेको बेला एक्स्ट्रा कोचिङ क्लास लिने आदि गरेर वातावरण सिर्जना गरिरहेका छौँ। हरेक विद्यार्थीलाई जादूको छडीले छोएर जस्तो एकदम सुनको बनाउन त सकिँदैन। तैपनि पढ्ने विद्यार्थीहरुले राम्रो मौका पाइरहेका छन्। अबको योजना स्कूलको प्रोजेक्टलाई कसरी अगाडि बढाउने, आय आर्जन कसरी गराउने, अनि मुख्य कुरा प्राविधिक प्रशिक्षण दिलाउने हो। नेपालबाट विदेश जानेहरु अधिकांश कुल्ली काम गर्न जाने गर्छन्। यहाँ केही न केही रुपमा गाउँमा प्राविधिक प्रशिक्षण दिन सकिए दक्ष कामदारहरु जाने थिए। त्यसै भनेर मैले केही ठाउँमा यस्तो सुरु पनि गरेको छु। तर अ‍ौपचारिक रुपमा भने गर्न सकेको छैन। हामीले जति ध्यान अ‍ौपचारिक शिक्षालाई दिने गर्छौँ, त्यति प्राविधिक शिक्षालाई पनि दिनुपर्छ। ताकि विदेश गएर सीपमूलक काम गर्न सकून्, अलि बढी पैसा कमाउन सकून्। मैले धेरै ठाउँमा भनिसकेको छु। मैले पढ्ने भनेको त्यस्तो जमाना हो, जतिबेला स्कूलको महत्त्व त्यति थिएन। छ्यासछ्यास्ती स्कूलहरु पनि थिएनन्। त्यो जमानामा हाम्रा बाबाले चाहिँ के भन्नुहुन्थ्यो भने स्कूल पढ्नु पर्छ, स्कूल पढ्यो भने ठूलो मान्छे भइन्छ। उहाँले स्कूल पढाउन जोड गर्नुहुन्थ्यो। म अझैसम्म सम्झन्छु-त्यतिबेलाका मेरा साथीहरु प्रायजसो लाहुरे छन्। शायद त्यही भएर होला अरुको बाबाले चाहिँ उनीहरुलाई जोड गरेनन् होला स्कूल जानलाई, मेरो बाबाले चाहिँ मलाई स्कूल जानलाई जोड गर्नुभयो। मलाई अध्ययन गराउन जोड दिने बाबा नै हुनुहुन्छ। मैले सात कक्षासम्म गाउँ कै स्कूलमा अध्ययन गरेको हुँ। त्यतिबेलाको स्कूललाई स्कूल पनि के भन्ने र। अ‍ौपचारिक शिक्षा जस्तो पनि थिएन। पेन्सन पाएका लाहुरेहरुले यसो केटाकेटीहरुलाई जम्मा गरेर दुई चार अक्षर पढाउँथे। त्यस्तै स्कूलबाट मेरो शिक्षा प्रारम्भ भएको हो। म पढ्दा पनि त्यहाँ सात कक्षासम्म मात्रै थियो र म २२- २३ वर्षपछि फर्कँदा पनि सातै कक्षासम्म मात्रै थियो। त्यसैलाई अपग्रेड बनाएर आठ क्लाससम्म बनाइयो। आठबाट नौ, दस र हाइस्कूल भयो। अहिले चाहिँ १२ क्लाससम्मको बनाइएको छ। अनि भविष्यको योजना चाहिँ त्यसलाई कलेज बनाउने हो। प्रस्तुतिः उमेश (साथी कृष्ण ढुंगाना र मसित भएको कुराकानीमा आधारित) साथी उमेशको ब्लग मेरोसंसारबाट साभार source: http://cyberbeni.com/local.php?subaction=showfull&id=1186558886&archive=&start_from=&ucat=4& http://www.cyberbeni.com/index.php .
Read Full Discussion Thread for this article