Posted by: gahugoro May 28, 2007
sujata koirala in chandan taskari
Login in to Rate this Post:     0       ?        
दबाबमा ँतस्कर’ छुटे
कान्तिपुर संवाददाता

काठमाडौं, जेठ १३ - रक्तचन्दन तस्करी नियन्त्रणका लागि सिन्धुपाल्चोकमा खटाइएको संयुक्त कार्यदलले पक्राउ परेका तीन व्यक्तिलाई स्थानीय प्रशासनको दबाबमा हाजिर जमानीमा छाडेको छ ।

वनमन्त्री मातृकाप्रसाद यादवले सिन्धुपाल्चोक प्रशासनले सहयोग नगरेको प्रतिवेदन आएको उल्लेख गर्दै भने- 'शान्ति सुरक्षाका नाममा तस्करीमा संलग्न तीन व्यक्तिलाई छाडियो ।' कार्यदल संयोजक सहायक वन अधिकृत इन्द्रबहादुर पर्छाईंले जिल्ला प्रशासन र प्रहरीले ती व्यक्तिलाई हाजिर जमानीमा छाड्न रेन्जर सुरेन्द्रकुमार थापालाई दबाब दिएपछि उनीहरू मुक्त भएको बेहोरा सहितको प्रतिवेदन वनमन्त्रीलाई दिएका छन् ।

तस्करको गिरोहले पक्राउ परेका व्यक्तिलाई चालीस मिनेटभित्र मुक्त नगरे वन कार्यालयको भौतिक सम्पत्ति र कर्मचारीलाई नोक्सानी पुर्‍याउने तथा सडक अवरुद्घ गर्ने चेतावनी दिएको

जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद ओली र प्रहरी प्रमुख सहकुल थापाले ती व्यक्तिलाई छाड्न दबाब दिएको प्रतिवेदनमा उल्लेख छ ।

'यसबाट तस्करको मनोबल बढेको र कर्मचारीको जीउज्यान जोखिममा परेको छ,' प्रतिवेदनमा छ- 'कार्यदलको काममा पनि प्रत्यक्ष बाधा पुगेको छ ।'

प्रजिअ ओलीले भने आफ्नातर्फबाट रक्तचन्दनको तस्करी नियन्त्रणमा अवरोध पुर्‍याउने कुनै पनि कामकारबाही नगरेको दाबी गरे । कार्यदलले गत ९ गते सवारी साधनको नियमित जाँच गर्दा ना२ख ४६९३ गाडीमा चालकको सिट पछाडिबाट तीस किलो रक्तचन्दनसहित तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामा तातोपानी गाविस-४ का दीपेन्द्रकुमार श्रेष्ठ, दाबा शेर्पा र पांग्रेटार गाविस-६ बस्ने गाडी चालक तिलकबहादुर कार्की छन् ।

'प्रजिअ र प्रहरी प्रमुखको दबाबमा यी व्यक्तिलाई छाडिएको छ,' यादवले भने- 'उनीहरूलाई छुटाउन सात दलले समेत दबाब दिएको सुनिएको छ ।'

उनले तस्करी नियन्त्रणमा असहयोग गर्ने जोकोहीलाई पनि राजधानी झिकाएर कारबाही गर्ने बताए । पर्छाइर्ंले कार्यदलमा राजस्व विभागका कर्मचारीको प्रतिनिधित्व समेत हुन नसकेको बताएका छन् ।

गत २ गतेको मन्त्रीस्तरीय निर्णयबाट वन, प्रहरी र राजस्व प्रतिनिधिसहितको कार्यदल गठन गरिएको थियो । बाह्रबिसे इलाका प्रहरी कार्यालयमा अस्थायी चौकी खडा गरी बसेको कार्यदललाई अरनिको राजमार्ग हुँदै तातोपानीतर्फ जाने सबै सवारी साधनको डिक्की खोली चेकजाँच गर्ने अधिकार दिइएको थियो ।

Posted on: 2007-05-27 20:46:08
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=110837
Read Full Discussion Thread for this article