Posted by: gwanche May 21, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
अस्ती मिस दिदीले कथा सुन्न नपाएको गुनासो गर्दै हुनुहुन्थ्यो। गएको सप्ताहन्त एउटा डाँडामा गईयाथ्यो केबलकार चढेर, मनकामना गा जस्तै। दुई रात त्यतै रिसोर्टमा बसियो अनी एउटा टुक्रो लेख्ने दुस्सहस पनी गरियो। अझै काटछाँट गर्न बाकी नै छ तै पनी टास्दिम् है, पुन्टे दाइको बड्डेको उपलक्षमा ! ------------------------------------------------ 'अर्जुन सर, अगाडि त बाटो बन्द रैछ, के गरुँ पचलितिर बाट घुमाएर जानुपर्ला जस्तो छ' 'पर्दैन केशब, पचलीबाट घुमाएर ल्याउनु भन्दा त म हिंडेरै छिटो पुग्छु, दस मिनेट जती त हो नि, फेरी उदयलाइ पनि त सोर्हखुट्टे छोड्नुछ । मलाई यही छोडिदेउ, म गइहाल्छु ।' रातिको पौने तिन बजेतिर अफिसबाट घर फर्किंदै थिंए, घर पुग्नु भन्दा केहि पहिला बाटो बन्द रहेछ । नाइट ड्युटी भएको दिन म मोटर बाइक नलिइ अफिस जान्छु, फर्किंदा ढिलो हुने भएकोले, अफिस कै गाडीले लिन आउँछ अनि पुर्‍याउन नि आउँछ। केहीदिन पहिला पनि यहींनिर बाटो खनेको जस्तो लाग्छ, खानेपानीको पाइप मर्मत गर्न, यसपाली चाँही टेलिकमले बन्द गरेको रहेछ, अप्टिकल फाइबर बिछ्याउन रे । हाम्रो देशको चाला यस्तै छ, सरकारी निकायहरुबिच एक आपसमा सामनजस्यता नै छैन, खानेपानी र टेलिकमले सामन्जस्यता मिलाएर सँगै काम गरेको भए धन, समय र श्रम सबै कुराको बचत हुन्थ्यो क्यारे । हुन त बचत नै गर्नु छैन होला, आर्थीक बर्ष सिद्धिन लागेको छ, भएको बजेट सिद्ध्याउनु परेको होला । जे भए पनि बेहोर्नु पर्ने हामीहरुले नै हो, अब हफ्तौसम्म बाटो बन्द हुने होला, खनेको पुरीसके पछि केही हफ्ता धुलई धुलो सहेर बस्नुपर्ने होला, त्यसपछि बाटो पिच गर्न अर्को केही हफ्ता लाग्ने होला र त्यतीबेलासम्म अरु नै कुनै निकायले बाटो खान्ने पालो आउने होला । 'साँचिकै हिंडेंरै जान्छस त अर्जुन, मलाई त केही हतार छैन, पचलीबाट घुमाएर लगे पनि हुन्छ, भोली ड्युटी छैन, दिनभरी सुत्ने त हो नि !' उदयले सोध्यो। 'तेत्रो किन घुम्नु भनेर नि, फेरि माथि लछिमनको पसल रातभरि खुला हुन्छ, मलाई चुरोट पनि किन्नुछ। दिनभरि त म पनि सुत्ने हो, भोली पनि नाइट ड्युटी छ मेरो त। तेरो मस्ती रैछ, भोली अफ डे, दिनभरि खुब सुत्या सुतेइ होलास नि, हाम्लाई थाहा छैन र तेरो के प्लान हुन्छ छुट्टीको दिनमा, लौ तेरै दिन छ केटा, एल एल सि सि एम जि एम जि !' मैले उदयलाई जिस्क्याउँदै भने । 'धेरै डाढ नगर , तेरो पनि दिन आइहाल्छ नि, तेतिबेला हेरौँला नि तेरो चाला। ल तेरो ओर्लिने ठाउँ आयो, पर्सी भेटौँला, राम्ररी जानु फेरी कुकुरको बथानले लखेट्ला नि!' उदयले प्रतिउत्तर दियो। 'कुकुर सुकुरले फलो गर्‍या गरेइ हो, एक लात दियो भने क्या क्या गर्दै भागीहाल्छन नि। ल तँ भोली मोज गर्नु, पर्सी भेटौँला। अनि केशब, उदयलाई घर मैं पुर्‍याएर आउनु नि कतै बाटो मैं ओर्लेला। मलाई लिन चाँही भोली युजुयल टाईम मैं आउ है।' ओर्लिंदा ओर्लिदै मैले भने। उदय र केशब दुबै जनासँग बिदा भएर म बिस्तारै खनेको बाटो हुँदै अगाडि बढें। हरि सर छुट्टीमा जानु भएको हुनाले कामको असाध्यै चटारो छ, सबै काम मैले नै भ्याउनुपर्छ अफिसमा। आज फेरी त्यो इन्डियनको कस्तो दाउ लागेको, बज्याले १२-१३ लाख जित्यो क्यारे। एक लाखभन्दा बढीको चालमा म्यानेजरको सिग्नेचर हुनुपर्ने नियम हुनाले हरेक दस मिनेटमा उसले खेलिराखेको टेबलमा गई रहनुपर्ने। हरि सर नहुँदा निमित्त म्यानेजर बनेको, गार्हो हुनेरैछ । हुन त जुवा तास खेल्ने बानी मलाई मन पर्दैन तर बिडम्बना, जुवा खेलाएर नै आफ्नो क्यारियर बनाउनु परीरहेको छ। बि बि एस को रिजल्ट कुरेर बस्दा टाइम पास हुन्छ भनेर भनसुन गरेर क्यासिनोमा जागिर खाइयो। केही दिनपछि माओवादी समर्थित ट्रेड युनियनको पहलमा कर्मचारी हड्ताल भयो। हड्तालको धेरै मध्यै एउटा माग करारमा भएका सबै कर्मचारीहरुलाई स्थाइ बनाउनु पर्ने भन्ने पनि रैछ, थाहै नपाई काक्तालिमा पर्मानेन्ट भइयो। यु यस जान्छु भनेर सबै ठीक ठाक पारीसकेको थिए, आइ ट्वान्टी पनि आइसकेको थियो तर केही बर्ष यतै बस्ने निर्णय गरियो। पे पनि राम्रै छ, फेरी फ्यसिलिटी पनि दिएकै छ। अब यतै एम बि ए ज्वाइन गर्नुपर्ला। अँध्यारोमा खाल्डा खुल्डी नाँघ्दै बिस्तारै अगाडि बढ्दै थिए पछाडि कोही आइरहे जस्तो लाग्यो। साँच्चिकै केही पछाडि एउटा मान्छे आइरहेको रहेछ। को होला यती राती, अचम्म लाग्यो, कोही म जस्तै नाइट ड्युटिबाट फर्किदै होला, बाटो बन्द हुनाले उ पनि तलै ओर्ल्यो होला भन्ने सोचें। रोकिएर कुरा गरौं कि जस्तो पनि लागेको थियो तर फेरि चिन्नु न जान्नु मान्छेसँग यस्तो राती के बोली भो र जस्तो लाग्यो। बरु माथि लछिमनको पसलमा पुगेपछि बोल्नु पर्ला भन्ने सोचेर अगाडि बढें। बा आमा गाउँ मै हुनुहुन्छ, फेरी म बाहेक उहाँहरुको को नै छ र, सबै रेखदेख मैले नै गर्नु पर्ने त हो नि भन्ने सोचेर पनि बिदेश जाने मेरो इच्छा मन भित्रै दबाएर राखेको छु, यतै राम्रो जागिर पाईसकेको हुनाले किन बिदेश जानु भनेर आफ्नो मन बुझाउँछु। बुवाकै साथीको घरमा पेइङ् गेस्ट बनेर बसेको छु, उनैले क्यासिनोमा जागिर पनि लगाइदिएका हुन्। बुवा र शर्मा सर गाउँमा सँगै हुर्केका रे। बुवा गाउँमै शिक्षण पेसामा लाग्नु भयो, शर्मा सर लोकसेवा दिएर निजामतीतिर । शर्मा सरले बिभिन्न मन्त्रालयहरुमा काम गरेर भर्खरै सामान्य प्रशासनको सहसचिबबाट राजिनामा दिनुभएको। नियम अनुसार शर्मा सर सचिबमा बढुवा हुनुपर्नेमा तीनजना सिनियर सहसचिबहरुलाई बाइपास गरेर सबैभन्दा जुनियरलाई बढुवा गरिएको बिरोधस्वरुप राजिनामा दिनु भएको रे। अहिले सचिब बनाइएका ब्यक्ती मन्त्रिजीको नजिकका मान्छे हुन् रे। शर्मा सर सहसचिब भए पनि टोलमा सबैले उनलाई सचिबज्यु नै भन्छन। बाहिरबाट कडा भए पनि भित्र असाध्यै नरम छन् । उनको मातहतमा रहेर काम गरेका कर्मचारीहरु उनको असाध्यै रेस्पेक्ट गर्छन, केही गर्नसक्ने मान्छे राजनीतिक रुपमा निस्पक्ष रहेका हुनाले ओझेलमा पारीए। मनमा कुरा खेलाउँदा खेलाउँदै लछिमनको पसलनिर आइपुगिएछ तर अचम्म, सँधै खुला हुने पसल आज त बन्द रहेछ। चुरोट नकिनी नहुने भाथ्यो, क्या झ्याउ भो। ढोका ढक्ढक्याँउ कि जस्तो लाग्याथ्यो तर बत्ती पनि सबै निभाएको हुनाले सुतिसक्यो होला जस्तो लाग्यो अनि डिस्टर्ब गर्नु उचित ठानिन। पछाडि आइरहेको मान्छे पनि कता गायब भएछ देखिएन। आफ्नै कुरा खेलाउँदै हिंडेको थाहै भएन, त्यतै बाटोतिरै हुनुपर्छ त्यसको घर। त्यतिबेला शर्मा सर शिक्षा मन्त्रालयमा उपसचिब हुनुहुन्थ्यो रे, युनेस्को नेपालको कोअर्डिनेटर। एकदिन एकजना मान्छे सबै कर्मचारी यस्तै हुन्, जाबो सानो काम पनि नगर्दिने भन्दै सबैलाई सराप्दै बाहिर निस्कँदै रहेछ। 'हैन भाई के भयो' भनेर सोधेछन् शर्मा सरले। त्यो मान्छेले शर्मा सरको टाउकोदेखि खुट्टासम्म राम्ररी हेरेर जवाफ दिएछ, ' के हुनु दाइ आफ्नो मान्छे नभइ केही काम हुँदैन रहेछ यहाँ। तपाईंलाई भनेर पो के फाईदा तपाईंले गर्न सक्ने काम होइन।' 'होइन के भयो भन्नुस न, मिल्ने भए म गरिदिन्छु तपाईंको काम' शर्मा सरले फेरी सोधेछन। 'तपाइले गर्नसक्ने होइन क्या, सरकारी कर्मचारीले मात्रै गर्ने सक्ने काम हो ' त्यो मान्छेले झर्केर जवाफ दिएछ। बल्ल शर्मा सरले थाहा पाएछन, उनको ड्रेसअप देखेर त्यो मान्छे झुक्किएको रहेछ। त्यतिबेला सरकारी कर्मचारीले दाउरा सुरुवाल लगाउनुपर्ने नियम भए पनि शर्मा सर बिदेशी प्रोजेक्टको सम्मनयकर्ता भएका हुनाले उनी प्राय: सुट-टाइ लगाउँथे, त्यसैले त्यो मान्छेले यो पक्कै पनि बाहिरको मान्छे होला भन्ने सोचेको रहेछ। 'लौ मसँग आउनुस के काम छ तपाईंको' भन्दै शर्मा सरले त्यो मान्छेलाई आफुसँगै आफ्नो अफिसमा लगेछन। त्यो मान्छे आफ्न सर्टिफिकेटहरु प्रमाणित गराउन आएको रहेछ, लोकसेवाको फारम बुझाउने अन्तिम दिन रहेछ तर उसँग ओरिजनल कपी नभएको हुनाले कसैले पनि प्रमाणित नगरेका रहेछन। शर्मा सरले ओरिजनल कपी बिनै उसका सर्टिफिकेट प्रमाणित गरिदिनुभएछ। केही महिना पछि त्यही मान्छे फेरी शर्मा सरको अफिसमा आएछ। शर्मा सरलाई खुट्टा मै छोएर ढोग्दै आफु लोकसेवाको परिक्षामा पास भएको र नुवाकोटमा पोस्टिङ् भएको कुरा बताएछ । त्यसपछि जहिले पनि काठमान्डौ आएको बेलामा शर्मा सरलाइ भेट्ने गर्छ रे। अहिले त उपसचिब भइसक्यो रे, केही महिना पहिला मात्रै काठमाडौं मै सरुवा भएको रहेछ, त्यो पनि शर्मा सर कै मन्त्रालयमा। दुई हफ्ता पहिले शनिबार, शर्मा सरलाई भेट्न उनको घरमा आउँदा मोटरसाइकल एक्सिडेन्ट भएछ उसको। यतैतिर कुनै मोडमा जमेको पानीमा मोटर साइकल चिप्लेको रे। अहिलेसम्म क्रीटिकल नै छ रे। कुनैदिन भेट्न जाऔला भन्नु भएको थियो शर्मा सरले, मिल्यो भने भोली जानुपर्ला, दिउँसोतिर। फेरी अघिकै मान्छे पछाडि पछाडि आइरहेको रहेछ, अघीको जती नै दुरिमा। कताबाट आएछ फेरी, अघी कता गएको होला ? छिटो छिटो पाईला अगाडि बढाए, कता कता डर जस्तो पनि लाग्न थाल्यो, को हो को हो, किन फलो गरेको होला आदी इत्यदि प्रश्नहरु खेल्न थाले मनमा। अब त्यो मान्छे झन झन नजिक हुँदै गइरहेको थियो। घर पुग्न पुग्न लाग्दा अझ स्पीड बढाएँ तर त्यो मान्छे झन झन छिटो हिड्दै थियो। अब उसको र मेरो बिचमा केही मिटरको मात्रा फरक थियो। धन्न घर आइपुग्यो र छिटो छिटो गेट खोलेर भित्र पसें। गेट राती बन्द गर्ने हुनाले एउटा साँचो मसँग पनि हुन्छ। भित्रबाट गेटको ताल्चा बन्द गर्दैथिए, गेटमा ढक् ढक् आवाज आयो। गेटको माथिल्लो भागमा बाहिरको मान्छे हेर्न मिल्ने गरेर बनाएको सानो झ्यालबाट बाहिर हेरे। अघीकै फलो गर्ने मान्छे हुनुपर्छ, बाहिर रहेछ। बाटोमा उ पछि पछि भएको हुनाले पहिलोपल्ट उसको अनुहार देखें- गोरो, ठुला अँखा, निधारको बायाँ पट्टी काटेको खत, केही दिनदेखि सेभ नगेरेको हुनाले गालामा झुस्स दारी जुङा ! 'गेट खोल्नुस न शर्मा सरलाई भेट्नु छ, एकदमै जरुरी काम छ' बाहिरबाट बोल्यो त्यो मान्छे। को हो, कस्तो मान्छे हो, यस्तो राती के काम होला, अनेकन् प्रश्नहरु खेल्न् थाले मनमा। फेरी आजकल रात-साँझ नचिनेका मान्छेहरु आएर एकछिन हामीसँग हिंड्नुस जरुरी काम छ भन्दै आफुसँग लिएर गएर गायब पारीएका खबरहरु पनि दिनदिनै सुनिन्छन। 'प्लिज खोल्नुस न गेट, आज एकचोटि शर्मा सरलाई भेटेपछि म कहिल्यै आउँदिन' फेरी गेट खोल्ने आग्रह गर्‍यो त्यो मान्छेले। 'यस्तो राती के काम पर्‍यो र त्यस्तो, अहिले त सबैजना सुतेका होलान, भोली आउनुस न' मैले भने। 'मसँग धेरै टाइम छैन क्या, एकदमै हतार छ, बुझ्नुस न, धेरै लामो यात्रामा निस्किनुछ, त्यही भएर जानुभन्दा पहिले शर्मा सरलाई भेटौँ भनेर आएको म, गेट खोल्नुस् न !' फेरी त्यही आग्रह गर्‍यो उसले। 'यती राती भेट्न मिल्दैन्, यदि जरुरि नै छ भने पहिला उनको मोबाइलमा फोन गर्नुस अनि उनैलाई ढोका खोल्दिनुस भन्नुस, म सक्दिन यती राति।' मैले भने। 'तपाइले गेट खोल्नु भएन भने म आउन सक्दिन भन्ने ठान्नुभएको, म पर्खाल नाघेर पनि आउन सक्छु।' त्यो मान्छेले घुर्की लायो। 'जताबाट छिर्ने भे पनि छिर्नुस, गेट चाहिँ म खोल्न सक्दिन तर यती ख्याल गर्नुहोला, याँ कम्पाउन्डभित्र राती दुईवटा डोबरम्यान खुलई हुन्छन, नचिनेको मान्छेलाई स्वागत गर्न आउँदैन उनिहरुलाइ' यती भन्दै म आफ्नो रुमतिर लागे। राती कतिखेर निदाएछु यादै भएन, बिहान शर्मा सरले ढोका ढक्ढक्याँउदा पो बिउँझेछु। 'अर्जुन बाबु हिजो कतिबेला आउनुभयो राति' शर्मा सरले सोध्नुभयो। 'घर पुग्दा तीन सवा तीन भइसक्याथ्यो' मैले उत्तर दिएँ। हिजो रातिको कुरा भनुँ कि जस्तो लागेको थियो तर यदि त्यो चिनेको मान्छे भए त पक्कै पनि उसैले फोन गरीहाल्ला नि जस्तो लागेर केही पनि भनिन। 'अँ.. अर्जुन बाबु, मैले अस्ती भनेको थिएं नि मेरो एकजना स्टाफको बारेमा, आज एकचोटि भेट्न जानु थियो उसलाई हस्पिटलमा, मैले गाडी चलाऊन नमिल्ने भएकोछ, तपाईंले लागिदिनुहुन्छ कि?' शर्मा सरले सोधे। अस्ती मर्निङवाकमा चिप्लेर हात फ्र्याकचर भएकोछ शर्मा सरको त्यसैले गाडी चलाऊन नसक्ने कुरा गरेका। ' हुन्छ नि भइहाल्छ, तर मलाई गाडी चलाऊन आउँदैन, मेरै मोटरसाइकलमा जाउँ न है ' मैले भने। 'हुन्छ अर्जुन बाबु तर अली बिस्तारै हाक्नुस है, मलाई डर लाग्छ, मोटरसाइकलमा। लौ तपाईं पनि हात मुख धोएर माथि आउनुस, सँगै नाशता गरेर निस्कौंला। ' शर्मा सरले भने। बि एन्ड बि हस्पितलमा राखेको रहेछ, आइ सि यु मा ! शर्मा सर भित्र जानु भयो, भेटेर आएपछि डाक्टरसँग कुरा गर्न थाल्नुभयो। 'इट्स अ मिर्‍याकल ! हामीले होप छोडिसकेका थियौं बट अम्याजिङ्ली हि इज आउट अफ डेन्जर नाउ। हिजो राती साँढे दुई पौने तीनतिर एकदमै हालत खराब भएको थियो। केही छिनको लागि त हर्टबिट पनि रोकिएको थियो, क्लिनिकली डेथ भईसकेको थियो तर केही छिनपछि अचानक मुटु चल्न थाल्यो। अहिले बिहानदेखि त अली अली होस पनि आइसकेको छ। मेरो यती बर्षको मेडिकल क्यारियरमा धेरै मिर्‍याकल भएको देखेको छु तर यस्तो भएको पहिलोचोटि देखियो। अझै केही टेस्टहरु गर्नु पर्छ तर हि इज टोटल्ली आउट अफ डेन्जर नाउ !' डाक्टरले अचम्म भएको कुरा बताए। शर्मा सर फेरी भित्र गए। आइ सि यु मा एकचोटि एकजनालाई मात्रै जान दिइने हुनाले म बाहिरै बसें। ढोकाको सिसाबाट भित्र हेरेको त हेरेको हेर्यै भए, शर्मा सरसँग बिस्तारै कुरा गर्दै रहेछ, उसको अनुहार देखियो, ठ्याक्कै हिजो राती शर्मा सरलाई भेट्छु भनेर आएको मान्छे जस्तै -- गोरो, ठुला अँखा, निधारको बायाँ पट्टी काटेको खत, केही दिनदेखि सेभ नगेरेको हुनाले गालामा झुस्स दारी जुङा !
Read Full Discussion Thread for this article