Posted by: dumer_bhansar May 16, 2007
Corrupt Ram Chandra Paudel! Corrupt MKN
Login in to Rate this Post:     0       ?        
Here is Khagendra Sangraula's article re: meeting between "wanted" Prasai and out so called leaders. http://www.kantipuronline.com/kolnepalinews.php?&nid=109711 Kantipur माधवकुमार नेपालका नाउँमा खगेन्द्र संग्राैला आदरणीय माधवजी, तपाईँ बलिहुड सिनेमाको खलनायक हुनुहुन्न । तथापि तपाईँको नाम सुन्नासाथ सचेत र समवेदनशील नेपालीहरू मुटु मिचिमिची हाँस्छन् । तपाईँ सादा माधवकुमार नेपाल हुनुभएको भए म पनि एक राउन्ड हाँस्दो हुँ । तर दुर्भाग्यवश, तपाईँ फराकिलो सामाजिक आधार भएको नेकपा -एमाले) का महासचिव हुनुहुन्छ । एमाले समकालीन नेपाली राजनीतिका तीन निणर्ायक खेलाडीमध्ये एक हो । राजनीतिमा एमालेले लिने सही वा गलत दृष्टिकोण र अडानले नेपालीहरूको नियतिमा अनिवार्य रूपले सुल्टो वा उल्टो असर त पर्छ नै । त्यसैले तपाईँका कथन र कर्मले ममा स्वस्फूर्त रूपले जगाउने हाँसोलाई दबाउन म अभिशप्त छु । राजनीतिमा गिरिजाबाबु र कमरेड प्रचण्डपछिका तपाईँ तृतीय खेलाडीका नाउँमा पत्र नलेख्ने मेरो मनसुवा थियो । कारण असजिलो छ । तपाईँको चिन्तन र चरित्रमाथि गरिने यथार्थपरक टिप्पणीले विशाल एमाले पङ्क्तिको समवेदनामाथि पार्ने सम्भावित आघातप्रति म सजग छु । नरबिष्टालाई चलाउँदा त्यसबाट अरुचिकर गन्ध निःसृत हुन्छ । मलाई थाहा छ । तर तपाईँले अभियुक्त राष्ट्रिय ठग सीताराम प्रसाईँका छोराको सुस्वादु बिहाभोज खान पाउकष्ट गर्नुभयो र मलाई यो पत्र लेख्न विवश बनाउनुभयो । पुरानो नेपाल आफ्नो गर्भबाट शोषण, विभेद र भ्रष्टाचारमुक्त नयाँ नेपाल जन्माउने प्रसव पीडाले आक्रान्त छ । यो इतिहासका कलङ्क र खाटाहरूलाई नवीन विचार र मूल्यप्रणालीले शुद्धिकरण गर्ने समय हो । र यो खोटा पात्रहरूलाई विस्थापित गरी सद्दे पात्रहरूलाई सत्ता र समाजको रङ्गमञ्चमा स्थापित गर्ने चुनौती बोकेको समय पनि हो । तर तपाईँ निर्धन नेपालीहरूले खाई-नखाई सञ्चय गरेको २८ करोड रुपियाँ खाने, राज्य संयन्त्रको दुरुपयोग गरी पक्राउलाई छल्ने र अपराधवृत्तिको अमरत्वको सङ्केत गर्दै छाती खोलेर हिँड्ने पात्रलाई धनुषटङ्कार नमस्कार गर्न पुग्नुभयो । कसैले सीताराम प्रवृत्तिलाई जोगाउने वीर पुरुष एमाले प्रमुख माधवकुमार नेपाल पनि हुन् भनी सहज प्रतिक्रिया गर्‍यो भने तपाईँ के भन्नुहुन्छ ? कसैले यही वीरत्वको विस्तारका रूपमा रायमाझी प्रतिवेदनलाई कुल्चेर जनआन्दोलनकालमा लुट, दमन र हत्या गर्ने मानवताविरोधी अपराधीहरूलाई पञ्चखत माफी दिने मतियार माधवकुमार नेपाल पनि हुन् भन्यो भने तपाईँ के भन्नुहुन्छ ? अनि कसैले भ्रष्टाचार र दण्डहीनताको दीर्घ रोगले मुलुक जर्जर भएको अवस्थामा चिनिएको भ्रष्टाचारीलाई नमस्कार गर्न हात बढाउने माधवकुमार नेपाल भ्रष्टाचारीका पालक, पोषक र रक्षक हुन् भन्यो भने तपाईँ के भन्नुहुन्छ ? माधवजी, म मधेसको भ्रमणबाट भर्खरै फर्केको हुँ । मैले जनकपुर, वीरगन्ज, लहान र विराटनगर गरी चार ठाउँमा गहन राजनीतिक संवादमा भाग लिएँ । चारै ठाउँमा आक्रोश र वितृष्णाको भावमुद्रामा आन्दोलित मधेसी बन्धुहरूले तपाईँको नाउँ लिए । माधव नेपाल मधेसका मतहरूको भर्‍याङ चढेर महासविच र भूपू उपप्रधानमन्त्री बनेका हुन् । आठ दल र नेपाल सरकारले मधेसीहरूलाई याचक रैतीका रूपमा उपेक्षा गरिरहँदा माधवजी के हेरेर बसेका छन् ? यो मधेसी मित्रहरूले तपाईँलाई गरेको प्रश्न हो । यसमा तपाईँको उत्तर ? आफ्नो गृहनगरी गौरमा नृशंस नरहत्या हुँदा माधवजी के हेरेर बसेका थिए ? यो पनि तिनैको प्रश्न हो । तपाईँको उत्तर ? भ्रमणबाट मधेसी यथार्थका जटिलता र बहुआयाममा अन्तरनिहित दुई अपि्रय पक्षको मलाई बोध भयो । पहिलो, मधेसी जनगणले उठाएका जायज मुद्दाहरूलाई ओझेलमा पारी आन्दोलनको छवि धमिल्याउन र मधेसी एकतामा भाँजो हाल्न मधेसमा सन्दिग्ध चरित्रका नानावली जत्थाहरू जन्माउने काम द्रुतगतिमा भइरहेको छ । साथै महेन्द्रीय सङ्कीर्ण राष्ट्रवादको राग अलापेर मधेसीहरूको देशभक्तिमाथि प्रश्न उठाउने अभियान यत्रतत्र जारी छ । यस प्रक्रियामा दरबारका पोष्यपुत्रहरूमात्र होइन, आठ दलभित्रका सङ्घीयताविरोधी तत्त्वहरूसमेत संलग्न रहेको तथ्य स्पष्ट रूपले गोचर हुन्छ । दोस्रो, यस्ता छद्मभेषी तत्त्वहरू मधेसमा माओवादीलाई टेकेर उभिने ठाउँ नै नदिन र उसलाई बन्दुक उठाउन बलात् वनतिर लखेट्न भगिरथ प्रयास गरिरहेका छन् । यस्ता दुष्प्रयासहरूमा काङ्ग्रेसी सङ्लग्नता सप्रमाण स्पष्ट छ । यस प्रसङ्गमा चन्द्रोटामा खुमबहादुर खड्का र विजय गच्छेदारहरू गएर मधेसी लोकतान्त्रिक मोर्चा गठन गरी वितण्डाको वीजारोपण गरेको ताजा घटना यहाँ स्मरणीय छ । माधवजी, दिग्भ्रम र विग्रहको यस्तो कुचेष्टामा एमालेको गोप्य हात कति होला ? राज्यका समस्त निकायमा समान अधिकारको न्यायोचित दाबी गर्ने मधेसी दोस्तहरू सोध्छन्, मधेसी आन्दोलन सङ्कटको भुमरीमा परेको यस घडीमा मधेसी भर्‍याङ आरोही माधवकुमार नेपाल कहाँ छन् ? तपाईँको उत्तर ? मधेसी यथार्थको धरातलबाट हेर्दा आसन्न अनिष्टको अत्यन्तै अपि्रय आभास हुन्छ । यस मुलुकमा शान्ति-सुरक्षा हेर्ने गृह मन्त्रालय छ, गृहमन्त्री छ र दैनिक अमनचैनको समग्र पर्यवेक्षण गर्ने प्रधानमन्त्री पनि छ भन्ने अनुभूति मधेसमा कहीँ कतै लेसमात्र पनि हुँदैन । सबैतिर राज्यको कुल रिक्ततामात्र महसुस हुन्छ । लहानमा सशस्त्र प्रहरीबलको ब्यारेकको नाकैमुन्तिर हिंसाचारी जत्थाले एकजना इन्जिनियरको हत्या गर्दा म बन्दुक पड्केको सुनिने दूरीमा थिएँ । त्यति नजिकैको प्रहरीबल कसको इसारामा कहाँ भूमिगत भएको थियो, मलाई थाहा छैन । मधेसमा राज्य र राजनीतिक दलहरूको अकर्मण्यता र अनुपस्थितिबाट भयावह अराजकताको स्थिति उत्पन्न भइरहेको छ । कुनै दिन राष्ट्रिय अखण्डता खतरामा परेको र शान्ति-सुरक्षाको स्थिति चौपट भएको बहानामा सेना सडकमा निस्कन सक्ने सम्भावना कुनै स्वैरकल्पना होइन । आखिर दाउ त्यसैको त होला । सके यस अनिष्टको मञ्चन गिरिजाबाबुको लोकतान्त्रिक अनुहारलाई अघि लगाएरै गरिएला । सम्मानजक पहिचान र सामाजिक न्यायको ध्वजा बोक्ने मधेसी बन्धुहरू सोध्छन्, मधेसमा अनिष्टको चक्रवात उठ्न लागेको यस घडीमा मधेसवासी माधवकुमार नेपाल मधेस नझरेर किन सुपरिचित तस्करगृहमा भोज ज्युनार गर्नमा मग्न भएका हुन् ? नेपाली इतिहासको गति गिरिजाबाबुको वृद्ध र अशक्त सिरानीमुनि कैद भएको छ । र स्वभावतः उहाँको उमेरदार र सशक्त विकल्पको प्रसङ्ग उठेको छ । तर विकल्पहीन विकल्पको असहज अवस्थामा रहेका गिरिजाबाबुमा दुर्दान्त अहंकारको भूत सवार भएको म देख्छु । माधवजी, तपाईँले प्रतिपक्षको धर्म बिर्सेर अनुचित सुविधाहरू भोग गर्न सधैँ सत्तापक्षसँग कुम नजोड्नुभएको भए, सत्तालिप्साको कारण आदर्श र मूल्यलाई तिलाञ्जली दिएर महापञ्च चन्दलाई शिरमा नबोक्नुभएको भए, सत्ताआसक्तिका कारण राष्ट्रघाती महाकाली सन्धिमा ल्याप्चे नलगाउनुभएको भए, प्रभुका पाउमा दाम नचढाउनुभएको भए, प्रधानमन्त्री बन्न दक्षिणढोकामा विन्तीपत्र नहाल्नुभएको भए, कुर्सीको निकृष्ट तृष्णा तृप्त गर्न राजा ज्ञानेन्द्रको त्रुटि सच्याइदिने निहुँमा उर्लँदो जनआकाङ्क्षा विरुद्ध खुनी दरबारको ताबेदारी नगर्नुभएको भए तपाईँ प्रधानमन्त्रीको सुयोग्य विकल्प हुनुहुन्थ्यो । तर अतिशय सत्तामोहका कारण तपाईँ स्वयम्ले आफू प्रधानमन्त्री बन्ने सम्भावना सदाका लागि निषेध गर्नुभयो । हास्य-चेतना भएका रसिकहरू रौसे मुद्रामा ठट्टा गर्छन्, यी माधवकुमार नेपालले चौराखी लाख जुनी पाएछन् नै भने पनि प्रधानमन्त्री बन्न नपाई यिनको यावत् जीवनलीला इतिश्री हुनेछ । माधवजी, आफ्नो आदर्श, इज्जत, दायित्व र लोकलाजलाई समेत चटक्कै बिर्सेर जब तपाईँ कुख्यात ठगगृहमा भोज खान जानुभयो, त्यो देखेर मेरो आशावादी चित्तमा आशाको एउटा मसिनो तरङ्ग उठेको थियो । अब लगत्तै एमालेका शीर्ष पुरुषहरूको जरुरी बैठक बस्ला । कुर्सी र भोजभक्त माधवजीलाई कडा केरकार गरिएला । अनि सके निज हजुरलाई महासचिव पदबाट निकाला गरिएला, नसके कडा चेतावनी दिइएला । तर भोजबाट ग्रहण गरिएको तत्त्व तपाईँको उदरबाट विदा भइसक्दा पनि कतै केही चाइँचुइँ सुनिएको छैन । बरु उल्टै भ्रष्ट भोज प्रकरणलाई ढाकछोप गर्ने कुटिल उद्योग सुरु भएको छ । सवुत एमालेको 'दृष्टि' साप्ताहिकमा छापिएको तस्वीर हो । तस्वीरमा सीताराम प्रसाईँ र कुमार बस्नेत मखलेल मुद्रामा माधवकुमार नेपाललाई अपलक हेरिरहेका छन् । तर माधवजीको छायाछवि भने दृश्यबाट कट गरिएको छ । उनको सट्टा उनको ठाउँका गिरिजाबाबुको तस्वीर अङ्कति छ । र माथि शीर्षकमा 'बैंक ठगलाई प्रधानमन्त्रीको संरक्षण' लेखिएको छ । पत्रकारितामा पाखण्ड र दलालीको यो पराकाष्ठा हो । ठगलाई प्रधानमन्त्रीले संरक्षण र उन्मुक्ति दिनुभएको कुरामा कुनै सन्देह छैन । अनि ठगलाई जदौ गर्न निजको पटाङ्गनिीमा खुलेआम पाल्नुहुने भोज अनुरागी माधवकुमार नेपालजीले नि ? नाकै अगाडि आफ्ना दलप्रमुख सहिदहरूका सपना, नागरिकहरूका आकाङ्क्षा र इतिहासको गतिलाई घोर उपेक्षा गर्दै ठगवृत्तिलाई गौरवान्वित गर्न उद्यत भएको देखेर मौन साधना गर्ने एमालेगणलाई के भन्ने ? मृतकहरूको जम्बोरी ? दलीय बफादारीका नाउँमा दलीय दासताका पुजारी ? अथवा दल नाइकेहरूद्वारा आफ्नो स्वत्व र चैतन्य हरण गरिएका अशक्त, निरीह र निरुपाय जीवहरू ? माधवजी, व्यक्तिगत रूपमा अतृप्त तृष्णाबाट पीडित तपाईँप्रति मेरो अगाध सहानुभूति र करुणाभाव छ । प्रधानमन्त्री बन्ने उत्कट इच्छा र कुण्ठित आकाङ्क्षाबाट उत्पन्न तपाईँको सघन पीडा जब सम्झन्छु, मेरो हृदय सन्तापले जल्छ । तर तपाईँको यो पीडा र मेरो यो ज्वलनको कुनै अर्थ छैन । अर्थ त महासचिवको हैसियतले तपाईँले भन्नुहुने कुरा र गर्नुहुने कामको पो छ । एमालेमा सब थोक छ । सङ्गठनको मेची-महाकालीव्यापी आधार छ । सूचनाको त्यति नै फराकिलो सञ्जाल छ । कार्यकर्ताहरूको विशाल फौज छ । प्राडा लगायत बौद्धिकहरूको ठूलो जमात छ । दरबार भनिन लायकको कार्यालय भवन छ । उस्तै-उस्ता र उत्रै-उत्रा नेताहरूको ठूलो झुन्ड छ । तर दुःखको कुरो, हुनुपर्ने गाँठ्ठी कुरोचाहिँ छैन । त्यो हो— विचारधारा र आदर्श । प्रवृत्ति, शैली, संस्कार र सम्बन्धका दृष्टिले एमाले विशालकाय एनजीओ हो । माक्र्सवाद-लेनिनवादको आवरण त यसको छलकारी शोभामात्र हो । माधवजी, विचारधारा र आदर्शहीनताबाट एमालेको मुक्ति पदबाट तपाईँको मुक्तिसँग अनिवार्य रूपले गाँसिएको छ । आफ्नो शिरमाथि फगत असफलता र अपजसको सञ्चय गर्न तपाईँ किन पद ओगटेर बसिरहनुहुन्छ ? दल र समाजको प्रगतिमा सहायक बन्न नसके पनि कमसेकम बाधक नै त नबनौँ यार । स्वेच्छाले पद त्याग गरे दलभित्रको पीडितगण र लोकले तपाईँका थुप्रै खतबातहरू बिर्सिदिनेछ । र भन्नेछ, माधवकुमार नेपाल एमालेका लघुकाय गणेशमान हुन् । दललाई आदर्श र विचारधाराशून्य बनाएर जतिसुकै निहुरिए पनि कहिल्यै नपाइने प्रधानमन्त्री पदका लागि कति मरिहत्ते गर्नुहुन्छ ? अभिवादन कण ।
Read Full Discussion Thread for this article