Posted by: sprakashp April 24, 2007
Login in to Rate this Post:
0
?
मित्रहरु,
नमस्कार !
वेफुर्सदका कारणले धेरै दिन साझामा आउन पाइन । आमाप्रति श्रद्धा र भक्ति चढाउने हाम्रो महान् पर्व मातातीर्थ भरखरै सम्पन्न भएको छ । सम्पूर्ण आमाहरुप्रति समर्पित त्यहीवेला लेखेको यो कवितालाई तपाईँहरुले उन्नुभएको यो मालामा एउटा थुँगोको रुपमा मैले पनि उनेको छु । धन्यवाद !
आमा
शिव प्रकाश
आमा ! मैले तिम्रो ममताको
व्यापकतालाई ठम्याउँन सकिनँ
सायद त्यो आकाश छुने
उचाईभन्दा पनि धेरै अग्लो होला,
अनि सागरको सतहभन्दा पनि
सायद अझ धेरै गहिरो होला !
आमा ! मैले तिम्रो हृदयको
विशालतालाई कहिल्यै आँक्न सकिनँ
त्यहाँभित्र सधैं म एउटा
सिङ्गो कञ्चन हिमाल हाँसेको देख्छु,
अनि हामी सन्ततिका लागि सधैं त्यहाँ
पूर्णिमाको जून झलमल्ल झुल्केको देख्छु ।
आमा ! मैले तिम्रो भावनाको
सीमान्ततालाई कहिल्यै भेटाउन सकिनँ
जहाँ सधैं अन्तहीन ममताको
मग्मग् वासना मात्र मग्मगाएको हुन्छ,
अनि त्यहाँ हाम्रा लागि बिहानीको
शितल किरण सधैं-सधैं छाएको हुन्छ ।
आमा ! मैले आमाको मातृत्वको
महानतालाई बुझ्न सकेको रहेनछु
आफ्ना सन्तानको प्राण रक्षाका लागि
याचना माग्ने तिमी तिनै गान्धारी रहेछौं,
आफूले खाएको ओकलेर भए पनि
बचेराको पेट भर्ने तिमी तिनै चरी रहेछौ
हो, आमा ! तिमी तिनै गान्धारी रहेछौ
हो, आमा ! तिमी तिनै चरी रहेछौ ।
अप्रिल, १५
हाल : बोष्टन, अमेरिका
साभार - फ्री नेपाल डटकम