Posted by: nepaalisathi April 3, 2007
हिड्दा-हिड्दै
Login in to Rate this Post:     0       ?        
माओवादी मन्त्रीहरूले भने- निर्माण शुरू भो शुभेच्छा विन्दू/दीपक दाहाल, (काठमाडौं)। संयोग नै मान्नुपर्छ, जनयुद्ध अवधिभर अर्बौंको भौतिक संरचना ध्वस्त गरेको माओवादीले अन्तरिम सरकारमा निर्माण मन्त्रालयको पनि जिम्मेवारी पाएको छ। सरकार गठनको भोलिपल्ट सोमबार आ-आफ्ना मन्त्रालयमा काम शुरू गर्दै माओवादी मन्त्रीहरूले भने- अब निर्माणको प्रक्रिया शुरू भयो। आफ्ना कार्यकक्षमा पुगेका सञ्चारकर्मीहरूसँग उनीहरूले 'नयाँ शैली, नयाँ सोच र प्रक्रियाबाट अन्तरिमकालमै नयाँ नेपालको जग बसाल्ने' प्रतिबद्धता दोहोर्‍याए। भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी पाएकी हिसिला यमीले शहरदेखि गाउँ तहसम्मका सबै भौतिक संरचनाको निर्माण आफ्नो मन्त्रालय अन्तर्गत हुन नसके पनि शहरी क्षेत्रमा खानेपानी र ग्रामीण क्षेत्रमा सडक पूर्वाधार विकासमा ध्यान केन्द्रित हुने बताइन्। 'विशेष गरी पुनः निर्माणको काम शान्ति तथा पुनः स्थापना मन्त्रालयले गर्ने' उनको भनाइ थियो। माओवादीका तर्फबाट सरकारमा नेतृत्व गर्ने सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले नयाँ नेपाल निर्माणको प्रतिबद्धता दोहोर्‍याउँदै यो सहमतिको सरकार भएकाले आफ्ना सबै नीति लागू गर्न नसक्ने बताए। तर 'एक स्टेप' भए पनि बदल्न प्रयासरत रहने प्रतिबद्धता उनले जनाए। त्यस्तै माओवादीका तर्फबाट वन मन्त्रालयको जिम्मेवारी पाएका मातृका यादव, स्थानीय विकास मन्त्री देव गुरुङ, समाज कल्याण मन्त्री खड्गबहादुर विश्वकर्माले सरकारमा गएपछि आ-आफ्नो मन्त्रालयमा सुधार गर्ने प्रतिबद्धता दोहोर्‍याए। माओवादी कार्यकर्ताको चहलपहल र मन्त्रीको नीतिबारे अन्योल नै रहेका कर्मचारी माझ भने एक प्रकारको त्रास छाएको सहजै अनुमान लगाउन सकिन्थ्यो। सञ्चारमन्त्री महराले जनताको इच्छा र राष्ट्रको स्वार्थ प्रतिकूल हुने गरी स्वतन्त्रताका नाममा प्रेसलाई अति स्वतन्त्रता नदिने बताए। नेपाल पत्रकार महासंघद्वारा हिजै आयोजित एक कार्यक्रममा महराले सञ्चारमा विदेशी लगानी रोक्न नसकिने जानकारी गराए। केही समयअघि बुटवलमा आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्डले सञ्चार मन्त्रालय आफ्नो पार्टीले लिएर सञ्चारमा विदेशी लगानी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए। स्थानीय विकास मन्त्री देव गुरुङले मन्त्रालयस्तरमा भएका भ्रष्टाचार, आलटाललाई सुधार गर्ने उल्लेख गर्दै आमूल रूपान्तरण अहिल्यै सम्भव नभएको बताए। 'पुरानो शैली र पुरानै संरचना छ, हामी नयाँ सोचका साथ आएका छौं, सबैमा रूपान्तरणको प्रयास गर्र्छौं' -गुरुङले बताए। वनमन्त्री यादवले 'हरियो वन नेपालको धन' भन्ने उखानलाई सत्य साबित गर्न प्रमुख प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। 'काठ तस्करी, वन फडानी गर्ने काम रोख्न कडा कदम चाल्छु। माओवादी कार्यकर्ता नै त्यसमा संलग्न भएको पाए त दोहोरो कारबाही हुन्छ' -मन्त्री यादवले भने। 'भ्रष्टाचारको केन्द्र मन्त्रालय हो, सोको विरुद्धमा नमुना मन्त्रालय बनाउने गरी सहयोग गर्नुस्', आफ्नै कार्यकक्षमा कर्मचारीहरूलाई निर्देशन दिँदै महिला, बालबालिका तथा समाज कल्याणमन्त्री विश्वकर्माले भने- 'मन्त्रालय र मन्त्री विवादबाट माथि उठ्नुपर्छ।' माओवादीका पाँचै जना मन्त्रीले सामेबार आफ्नो पार्टीमा निजी सम्पत्तिको अधिकार नभएकाले भ्रष्टाचारमा नफस्ने र भ्रष्टाचार फस्टाउने अवसर पनि नदिने बताए। विद्रोहबाट सत्तामा पुगेका माओवादी मन्त्रीहरूले सोमबार सञ्चारकर्मीमाझ प्रतिबद्धता जनाइरहँदा कर्मचारीको शैली र कार्यकर्ताको भीडले पुरानै झल्को दिइरहेको थियो। कतिपय मन्त्रालयमा घडा नै खडा गरेर अबिर र फूलमालासहित स्वागतका लागि कर्मचारीहरू लामबद्ध भएका दृश्य रोचक देखिएका थिए।
Read Full Discussion Thread for this article